कोशीको केन्द्रमा राप्रपा, केन्द्रीय सत्तागठबन्धनमै हलचल

अहिले पनि नफेरिएको समीकरणले कतै कोशीको परिस्थिति मध्यावधि चुनावतिर धकेलिने त होइन ? भन्ने शंका बढेको छ ।

नेपालभ्युज

कोशीको केन्द्रमा राप्रपा, केन्द्रीय सत्तागठबन्धनमै हलचल

काठमाडौं। यतिबेला, कोशी प्रदेशमा सरकार गठनको विषयले राजनीतिक सरगर्मी बढाएको छ । पटक-पटक मुख्यमन्त्री नियुक्त हुने तर विश्वासको मत लिन नसक्ने स्थितिले कोशीमा राजनीतिक संकट झन् बढाएको छ ।

अहिले पनि नफेरिएको समीकरणले कतै कोशीको परिस्थिति मध्यावधि चुनावतिर धकेलिने त होइन ? भन्ने शंका बढेको छ । यद्यपि, अझैसम्म राजनीतिक दलहरू मध्यावधि चुनावसम्म पुग्न नदिने लाइनमा छन् ।

यहाँ सत्तागठबन्धनमा आबद्ध दलहरूभित्रको आन्तरिक द्वन्द्वका कारण समस्या झन् बढेको छ । यहाँ नेपाली कांग्रेस र माओवादी केन्द्र स्पष्ट दुई खेमामा विभाजित छ । र उनीहरूले मुख्यमन्त्री बनाउन चाहेका पात्रहरू नै फरक–फरक छन् ।

यहाँ अहिले सबैको चासो र घेरोमा परेको छ, राप्रपा । गठबन्धनमा नरहेको राप्रपालाई फकाउन अहिले माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले व्यापक प्रयास गरिरहेका छन् । तर, राप्रपा फक्किएको छैन ।

कोशीका प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अन्तरगत सरकार गठनका लागि आह्वान गरेको समय घर्किन लागेसँगै राप्रपालाई फकाउन सत्तागठबन्धन लागिपरेको हो ।

राप्रपालाई गठबन्धनमा तान्ने कि आफ्नो दलको पक्षमा तान्ने भन्नेमा पनि नेताहरू अन्योलग्रस्त छन् । जसले सत्तागठबन्धनभित्रै हलचल उत्पन्न भएको छ ।

सत्तागठबन्धनमा आबद्ध जनता समाजवादीबाहेक सबै दलले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । २९ सिट रहेको कांग्रेसले स्वभाविकरूपमा मुख्यमन्त्री चाहिरहेको छ । तर, कांग्रेसभित्रै किचलोका कारण कसले मुख्यमन्त्री दाबी गर्ने भन्ने अन्योल छ ।

कांग्रेसको संस्थापन पक्षबाट संसदीय दलका नेता उद्धव थापा फेरि मुख्यमन्त्री हुन चाहिरहेका छन् । तर, संस्थापनइतर नेताहरूले कुनै पनि हालतमा थापालाई नस्वीकार्ने बताइरहेका छन् । यसअघि, मुख्यमन्त्री भएर विश्वासको मत लिन नसकेका थापालाई फेरि मुख्यमन्त्री बनाउन नहुने इतरपक्षको मत छ । उक्त पक्षबाट नेता केदार कार्की मुख्यमन्त्री हुने दाउमा छन् ।

आफ्नो पक्षमा नेपाली कांग्रेसकै नौ सदस्यको हस्ताक्षर बोकेर हिँडेका कार्की एमालेसँग मिलेर भए पनि मुख्यमन्त्री हुन चाहन्छन् । कांग्रेस नेता शेखर कोइराला पनि पछिल्लो समय एमाले अध्यक्ष ओलीसँग निरन्तर संवादमा रहेको बताइएको छ ।

त्यस्तै, प्रदेशसभामा १३ सिट रहेको माओवादीले मुख्यमन्त्रीको चर्को दाबी गरिरहेको छ । र मुख्यमन्त्री विषयमा माओवादीभित्र पनि दुई धार देखिएको छ ।

यहाँ माओवादीबाट दुर्गाप्रसाद चापागाईं र इन्द्रबहादुर आङ्वोले कडारूपमा मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । वर्षमान पुननिकट चापागाईं र जनार्दन शर्मानिकट आङ्वोबीच हानाथाप हुँदा माओवादीको भागबाटै मुख्यमन्त्री फुत्कने सम्भावना पनि छ । आङ्वो कोशी माओवादी संसदीय दलका नेता हुन् ।

उनीहरू दुवैजना यसअघि कोशीमा मन्त्री बनिसकेका छन् ।

संविधानको धारा १६८ (५) अन्तर्गत बन्ने सरकारमा भने दलका नेता बाहेकले पनि बहुमत सिद्ध गरे मुख्यमन्त्री बन्न पाउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार चापागाईंले पनि मुख्यमन्त्री दाबी गरेका हुन् ।

यसरी अहिलेको गठबन्धनसँग सरकार बनाउने मत भए पनि दलहरूको आन्तरिक किचलोका कारण स्थिति अन्योलग्रस्त छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved