जनकपुरधाम। नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेशको आज बुधबारदेखि जनकपुरधाममा हुन लागेको प्रथम प्रदेश अधिवेशनको सबै तयारी पूरा भएको छ।
आज मध्याह्न अधिवेशनको उद्घाटन हुने र बिहीबार बन्दसत्र हुने एमाले मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिए।
‘आज मध्याह्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा मधेस प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्नु हुनेछ र मधेस प्रदेशको पार्टी कार्यालय ‘मिथिला भवन’ को पनि शिलान्यास गर्नुहनेछ,’ भट्टराईले नेपाल भ्युजसँग भने।
मधेश प्रदेशका इन्चार्ज एवम् केन्द्रीय सचिव योगेश भट्टराईले ८ जिल्लाका ३६ वटै पालिका, विभिन्न जनवर्गिय सङ्गठन सहितका निकायबाट गरेर १ हजार २७ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने पनि जानकारी दिए।
अधिवेशनको उद्घाटनसत्रमा ७ हजार एमाले नेता कार्यकर्ताको सहभागिता रहने र अधिवेशनको समुचित व्यवस्थापनका लागि १ सय ५ जना स्वमसेवक परिचालन गरिने जानकारी दिए । अधिवेशनको सुरक्षा, आवास, भोजन, सांस्कृतिक कार्यक्रम तथा स्वयं सेवक परिचालन सहितको सम्पूर्ण कार्य पुरा भएको उनले बताए ।
प्रदेश अधिवेशन तयारी समितिका संयोजक समेत रहेका प्रदेश अध्यक्ष राम अवतार यादवले जनकपुरधाम ४ तिरहुतियागाछी स्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रको हलमा हुने उद्घाटनसत्रको लागि सबै तयारी पूरा भएको छ ।
प्रदेश अधिवेशनमा लाग्ने खर्च आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको र त्यसको लागि प्रत्येक प्रतिनिधिबाट २ हजार प्रवेश शुल्क र एमालेका प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यहरूबाट १०/१० हजार सहयोग लिइने बताए । उनले प्रतिनिधिहरूको लागि जनकपुरधामको २२ वटा होटल बुकिङ गरिएको बताए।
को को छन् अध्यक्षका आकांक्षी ?
एमाले मधेस प्रदेश अध्यक्षका लागि राजकिशोर यादव, लक्ष्मी नारायण यादव, चन्देश्वर मण्डल र बिचारी यादव आकांक्षी देखिएका छन् ।
राजकिशोर यादव धनुषा जिल्ला कमिटीमा दुई पटक अध्यक्ष भएर काम गरिसकेका छन् । वर्तमान जिल्ला अध्यक्ष उनी मधेस प्रदेश कमिटीसमेत पदेन सदस्य हुन् । यादव अब जिल्लाभन्दा माथि जाने प्रयासमा लागेका हुन् ।
त्यस्तै लक्ष्मी नारायण यादव एक कार्यकाल धनुषा जिल्ला सचिव र एक कार्यकाल जिल्ला उपाध्यक्ष भएर काम गरेका छन् । उनी यो अधिवेशनमा प्रदेश अध्यक्ष पदका आकांक्षी बनेका हुन् ।
पार्टीका केन्द्रीय सचिव समेत रहेको रघुवीर महासेठले भने आफ्नो तर्फबाट कसलाई उम्मेदवार बनाउने भन्ने तय गरिसकेका छैनन् । उनले बिचारी यादवलाई उम्मेदवार बनाउने सम्भावना छ ।
यस्तै प्रतिनिधिसभा सदस्य एवं पोलिटब्यूरो सदस्य लिलानाथ श्रेष्ठले पनि यो दौडमा आफ्नो उम्मेदवारलाई सहभागी गराउन चाहेका छन् । उनले चन्देश्वर मण्डललाई अघि सार्ने योजना बनाएको उनका निकटस्थहरु बताउँछन् । मण्डल सिरहाका वर्तमान अध्यक्ष हुन् ।
त्यस्तै बाराका पुरूषोत्तम पौडेल, सप्तरीका सुमनराज प्याकुरेलले पनि चाहना राखेका थिए। तर, उनीहरू प्रतिनिधि नै बनेर आएनन्।
अर्का नेता प्रदेश अध्यक्षको आकांक्षीको रूपमा अहिलेका उपाध्यक्ष रेवती पन्त रहेपनि झलनाथ खनाल प्रतिष्ठानका पूर्वअध्यक्ष रहेका उनीविरूद्ध सर्प पालनका नाममा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएपछि उनी प्रतिस्पर्धाबाट बाहिरिएका छन्।
यस दौडमा सफल हुने सम्भावना बोकेका राजकिशोर यादव र लक्ष्मीनारायण यादव यसै साता अघिपछि गरेर पार्टी अध्यक्ष ओलीसँग भेटेर सहयोग मागेका छन्।
नेकपा विभाजित हुँदा मधेसको ८ जिल्लामध्ये ७ जिल्लाका अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालतिर गए पनि राजकिशोर यादव र लक्ष्मीनारायण यादव भने ओली कै पक्षमा रहिरहेका थिए । यसरी हेर्दा पनि मधेस प्रदेशको सम्भावित अध्यक्ष उनीहरुमध्येबाट नै कुनै एक जना हुने चर्चा पार्टीभित्र छ ।
आकांक्षी जो देखिएपनि मधेस प्रदेशमा फरक किसिमले नेतृत्व छान्ने प्रयासमा रहेको पार्टीका एक नेताले बताए ।
अधिकांश नेता र कार्यकर्ताचाहिँ संगठन र नेतृत्व हाँक्ने कार्यकर्तालाई अध्यक्ष दिइनुपर्छ भन्ने विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग लबिङमा लागेको उनले बताए ।
सर्वसम्मत नेतृत्व चयन भए वर्तमान अध्यक्ष रामअवतार यादव नै दोहोरिने प्रबल सम्भावना रहेको बताइएको छ। तर प्रदेश अध्यक्ष रामअवतार यादव सिराहाको सुखीपुर नगरपालिकाको प्रमुख भएकाले उनी दोहोरिन नपाउने तर्क अघि सारिने सम्भावना छ।
एमालेले यसअघि नै सांसद, जनप्रतिनिधिलाई उम्मेदवार बन्न नपाउने सर्कुलर मातहत कमिटीमा पठाइसकेकोले राम अवतारको सम्भावना कम भएको एक थरिको भनाइ छ भने सर्वसम्मतबाट जे पनि हुन सक्ने एमाले भित्रका अर्को पक्षको भनाई रहेको छ।
Facebook Comment
Comment