एमालेको मधेस प्रदेश अधिवेशनको तयारी तीव्र, नेतृत्वमा  पाँच जनाको दाबी

एमालेको मधेस प्रदेश अधिवेशनको तयारी तीव्र, नेतृत्वमा  पाँच जनाको दाबी

जनकपुरधाम । नेकपा एमालेको मधेस प्रदेश अधिवेशनको तयारी तीव्र पारिनुका साथै नेताहरू नेतृत्वका लागि तयारी गरिरहेका छन् ।

यहि असोज २४ र २५ गते जनकपुरधाममा हुने पहिलो अधिवेशनबाट मधेस प्रदेशको नेतृत्व लिनको लागि  पाँच जना नेताहरू आकांक्षी देखिएका छन् ।

आठ  जिल्ला रहेको मधेस प्रदेशमा अधिवेशनका लागि प्रतिनिधि छनोट समेत सम्पन्न भई सकेको छ । मधेसका १ सय ३६ पालिका, २३ जनसंगठन, ८ प्रदेश विभागबाट १ हजार २७ प्रतिनिधि छनौट गरिएको छ । पालिकाबाट ३ देखि २३ जनासम्म, जनसंगठनबाट ७९ र विभागबाट १६ जना छनौट गरिएको एमालेका  मधेस प्रदेश प्रचार विभागका संयोजक सोमप्रसाद शर्माले जानकारी दिए ।

प्रदेशको नेतृत्वका लागि रेवती पन्त, राजकिशोर यादव, विचारी यादव, पुरुषोत्तम पौडेल र सुमन प्याकुरेलले लबिङ्ग गरिरहेका छन् ।

यद्यपी एमाले सचिव एवं प्रदेश ईन्चार्ज योगेश भट्टराईले मधेसको नेतृत्व लिनका लागि ४/५ जना नेता अकांक्षी देखिएपनि सर्वसम्मत नेतृत्व चयन गराउने प्रयासमा गरिरहेका छन् ।

कोशी प्रदेशको ईन्चार्ज भए पनि मधेसमा पार्टीभित्र दख्खल राख्ने एमाले सचिव रघुवीर महासेठ पनि सहमतिमै नेतृत्व छनौट हुनुपर्ने पक्षमा रहेका छन् । यी दुई नेता सर्वसम्मत गराउने प्रयासमा लागिरहे पनि नेताहरू दुई धारमा बाँडिएको अवस्था देखिएको छ।

राष्ट्रिय सभा सदस्य समेत रहेका सुमन प्याकुरेलले प्रदेशको नेतृत्व पोलिटब्युरोबाट कुनै नेताले पाउनुपर्ने पक्षमा आफू रहेको बताउँछन्। सोही अनुरुप आफूले दाबेदारी पेश गरिरहेको प्याकुरेलले बताए । सप्तरी जिल्ला निवासी प्याकुरेल एमालेमा प्रभावशाली र  अध्यक्ष केपी ओली निकट मानिन्छन् ।

नेता महासेठ निकट मानिने पुरुषोत्तम पौडेल पनि अध्यक्षका आकांक्षी रहेका छन्। हाल उनी प्रदेशको उपाध्यक्ष रहेका छन् । पोलिटब्युरोबाटै पौडेलको नाम समेत चर्चामा रहेपनि उनी पछि हटेको प्रचार विभाग संयोजक शर्माले बताए ।

यता नयाँलाई नेतृत्व विकास गर्नुपर्छ भन्ने पक्षमा राजकिशोर यादव र रेवती पन्त छन् ।

यादवले धनुषा जिल्ला कमिटीमा दुई पटकसम्म अध्यक्ष भएर काम गरिसकेका छन् । यादव अब जिल्लाभन्दा माथि जाने प्रयासमा लागेका छन् । मधेस प्रदेशका वर्तमान अध्यक्ष रामऔतार साहले जनप्रतिनिधि भए कै कारण अध्यक्ष पदमा लड्न पाएनन् । उनी २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा सिराहाको सुखीपुर नगरपालिकाका प्रमुख बनेका छन् ।

चर्चामा रहेकामध्ये राजकिशोर यादव र विचारी यादवकै पक्षमा सर्वसम्मत गराउने प्रयासमा नेताहरू लागेका छन् । दुवै नेता एमाले सचिव महासेठ पक्षधर मानिन्छन् । यता महासेठसँग बिच्किएकाहरू मधेसको नेतृत्वका लागि प्याकुरेललाई अगाडि बढ्न दवाब दिइरहेका छन् ।

एमाले स्रोतका अनुसार राजकिशोर यादव या विचारीमध्ये कोही एक जना मात्रै महासेठ समूहबाट उम्मेदवार बन्नेछन् । यद्यपि अहिलेसम्म केन्द्रीय नेताहरू कुनै पनि नेताका पक्षमा खुलेका छैनन् । केही प्रदेशमा निर्वाचनबाटै नेतृत्व छानिएकाले मधेसमा पनि निर्वाचन बाटै नेतृत्व चुनिने सम्भावना रहेको छ ।

“सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार” मूल नारा रहेको अधिवेशनको जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको हलमा हुने कार्यक्रमको उद्घाटन एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने प्रदेश अध्यक्ष रामऔतार यादवले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved