अन्तरवार्ता

पूर्वाधार विकास र समृद्धि सहकार्यमा प्राथमिकता छ भन्ने चीनको सन्देश पाएका छौँ- परराष्ट्रमन्त्री साउद

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद भन्छन्, ‘सबै दृष्टिकोणबाट चीनले नेपालको भ्रमणलाई उच्च प्राथमिकतामा दिएको देखिन्छ।’

नेपालभ्युज

पूर्वाधार विकास र समृद्धि सहकार्यमा प्राथमिकता छ भन्ने चीनको सन्देश पाएका छौँ- परराष्ट्रमन्त्री साउद

बेइजिङ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समकक्षी ली छ्याङको निमन्त्रणामा एक साता लामो चीन भ्रमण सकेर शनिबार स्वदेश फर्कदैछन्। प्रधानमन्त्री भएको करिब नौ महिनापछि र दक्षिणी छिमेक भ्रमण गरेको साढे तीन महिनापछि प्रचण्ड उत्तरी छिमेकको औपचारिक भ्रमणमा निस्किएका हुन्।

यो प्रधानमन्त्री तहमा नेपालबाट पाँच वर्षपछि उत्तरी छिमेकी मुलुकको भ्रमण हो । आपसी सहकार्य र विश्वासको वातावरण निर्माण गर्दै द्विपक्षीय हित प्रवर्द्धन र पारस्परिक सम्बन्ध सुदृढीकरण गर्ने महत्त्वपूर्ण अवसर मानिएको याे भ्रमणको कति लक्ष्य पुरा भयो भन्ने बहस सुरु भएको छ।

अहिले प्रधानमन्त्री चीन भ्रमण सकेर फर्कने तयारीमा छन् र उनको यो भ्रमण चर्चाको शिखरमा छ । यसै सन्दर्भमा  भ्रमण दलका सदस्य समेत रहेका  परराष्ट्रमन्त्री एनपी साउदसँग भ्रमणकै क्रममा चीनमा नेपाल भ्युजले गरेको कुराकानी।

प्रधानमन्त्रीको चीन भ्रमण समग्रमा सफल कि असफल ?

प्रधानमन्त्रीज्यूको चीन भ्रमण समग्रमा ऐतिहासिक भयो। प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नुभयो। समकक्षी लीसँग औपचारिक द्विपक्षीय एजेन्डासहित वार्ता भयो।

हामीले नेपाल चीन बीचको समस्याबारे गम्भीर रूपमा छलफल गरेका छौँ। एसियन गेम्सको सिलसिलामा प्रधानमन्त्रीज्यूले महामहिम राष्टपतिज्यूसँग छलफल गर्नुभएको छ।

पछि बेइजिङमा पनि द्विपक्षीय वार्ता भएको छ। यी सबै वार्ता र छलफलबाट नेपाल चीनको सम्बन्ध अगाडी बढाउने सन्दर्भमा महत्त्वपूर्ण काम भएको छ। औपचारिक भेटवार्तामा दुई मुलुकबीच भौतिक पूर्वाधार, ऊर्जा, उद्योग, कृषिजस्ता विषयमा सम्झौता-समझदारी भएका छन्।

कोभिड र भूकम्पपछि बन्द रहेका नाका खोल्ने विषयमा चीन सहमत भएको छ। केही नाका नियमित गरिएको छ। केही नाका अपग्रेट गरिएको छ।  सीमा क्षेत्रका जनतालाई यो एउटा महत्त्वपूर्ण काम भएको छ।

कृषि क्षेत्रमा पनि महत्त्वपूर्ण उपलब्धि भएका छन्। कृषि उत्पादन चीनमा निर्यात बढाएर हाम्रो व्यापार घाटा नियन्त्रण गर्न सक्छौँ। उन्नत जातका आधुनिक याकदेखि च्याडग्रासम्मको ब्रिड भित्राउने योजना छ।

हाँसदेखि बफेलो मिटसम्म निर्यात गर्ने कुरा छ। यो प्रक्रिया पनि अघि बढाएका छौँ। यसले कृषिका विकासको सन्दर्भमा नेपालका लागि महत्त्वपूर्ण हुनेछ भन्ने विश्वास लिएका छौँ।

हामीकहाँ सीमित उत्पादन हुन्छ। तर, निर्यातयोग्य उत्पादन कम छ। उत्पादित बस्तुमा चीन सरकारले कतिपय ठाउँमा कर छुट दिनुपर्छ। यो माग पहिल्यैदेखि थियो। यो विषयमा पनि छलफल भएको छ। यो हिसाबले भ्रमण सफल भएको छ।

चिनियाँ राष्ट्रपति  र प्रधानमन्त्री प्रचण्डबीच  करिब एक घन्टा  लामो छलफल भयो। त्यो अवधिमा मुख्य कुरा के भयो ?

चिनियाँ प्रधानमन्त्रीको निम्तोमा नेपालबाट प्रधानमन्त्री जानुभएको हो। राष्ट्रपतिले पनि उच्च महत्त्व दिएर भेटवार्ता गर्नुभएको छ।

द्विपक्षीय वार्तामा पनि धेरै महत्त्वपूर्ण छलफल भएको छ। नेपालले आफ्नो परिस्थितीलाई स्पष्टसँग राखेको छ। चीनका महामहिम राष्ट्रपतिज्यूले गम्भीर रूपमा लिनुभएको छ।

परम्परागत सम्बन्धका बारेमा पनि बोल्नुभएको छ। व्यक्तिगत रूपमा उहाँको सम्माननीय प्रधानमन्त्रीसँग मित्रता रहेको कुरा पनि अभिव्यक्तिमा बुझ्न सकिन्छ। यी सबै दृष्टिकोणले भेटघाट सकारात्मक थियो।

यसको अर्थ एक घण्टासम्म छलफल गर्नु भनेको चीनले नेपाललाई उच्च प्राथमिकतामा राखेको हो भनेर विश्लेषण गर्न मिल्छ कि मिल्दैन ?

राष्ट्रपतिको छलफल र अभिव्यक्तिमा पनि महत्त्व दिएको देखिन्छ। भ्रमण दललाई स्वागत र सम्मान र गार्ड अफ अनरबाट सम्मान दिएको छ। सबै दृष्टिकोणबाट चीनले भ्रमणलाई उच्च प्राथमिकता दिएको देखिन्छ।

चीन हाम्रा लागि शान्ति, सम्मान आधारभूत सर्त हुन् भने पूर्वाधार विकास र समृद्धि सहकार्यका प्राथमिकता हुन् भन्ने सन्देश पाएका छौँ।

उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदा दुईदेशबीच सम्बन्ध उचाइमा पुग्छ भन्ने विश्वास गरिन्छ। नेपाललाई आर्थिक रूपमा प्रत्यक्ष लाभ पुग्ने काम भएको छ कि छैन ?

चीनसँगको सम्बन्ध मैत्रीपूर्ण छँदै छ। अरू सौहार्दपूर्ण बनाउनुपर्ने कुरै छैन। त्यो भन्दा चुनौतीको कुरा भनेको उदाउँदो अर्थतन्त्रको रूपमा रहेको चीनबाट नेपालले आर्थिक रूपमा के पाउन सक्छ भन्ने कुरा महत्त्वपूर्ण छ।

कृषि, प्रविधि र लगानीको क्षेत्रमा चीन नेपाललाई सहयोग गर्न चाहन्छ। नेपाल मित्र भएकाले त्यो सहयोगलाई आर्थिक रूपमा शेयर गर्न चाहन्छौँ भन्ने कुरा उताको छ।

प्रधानमन्त्रीले चीन भ्रमणको सन्दर्भमा कैलाश क्षेत्र र मानसरोवरको पनि भ्रमण गर्नुभयो। यसमा चाहिँ पर्यटक भित्राएर लाभ लिनसक्ने कस्तो अवस्था देख्नुभएको छ ?

कैलाश मानसरोवर भनेको हिन्दु धर्मावलम्बीको लागि सांस्कृतिक पर्यटकीय महत्वको कुरा हो। अर्बौको सङ्ख्यामा रहेका हिन्दूधर्मालम्बी कैलाशको दर्शन गर्न चाहन्छन्। त्यहाँ जान नेपालले रुटको लागि वातावरण बनाउन सक्दछ। अहिले पनि कैलाशसम्म आउनको लागि हिल्साको बाटो छोटो छ।

बझाङ, दार्चुलालगायतको नाका पनि उपयोगी हुन सक्दछ। यो भ्रमणबाट हामीले मानसरोवर र कैलाशको दर्शन गरेको मात्र होइन, नेपालले नयाँ सम्भावना कसरी खोल्न सक्दछ भन्ने विषयमा पनि स्थलगत अध्ययन भएको छ।

यसबाट आउँदो दिनमा पर्यटकलाई नेपालले मानसरोवरसम्म लैजान पूर्वाधार बनाउने विषयमा अध्ययन गरेका छौँ।

परराष्ट्रमन्त्री साउद मानसरोवर यात्रामा

मानसरोवर यात्रामा परराष्ट्रमन्त्री साउद

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved