पतिलाई खुँडा हानेर मार्ने रिगल छुटेपछि भारती भन्छिन्, ‘सबैभन्दा ठूलो दोषी राष्ट्रपति हुन्’(भिडिओ)
दोषी गाडीका लावालस्करसहित रिहा हुँदा पीडित परिवार त्रासमा
रिहाइपछि उनलाई ‘विजय जुलुस’ र सवारी लावालस्करसहित नेपालगञ्ज लगियो। हत्यारालाई तोकिएको सजाय पूरा नगरी राजनीतिक शक्तिका आडमा उन्मुक्ति दिएपछि परिवारलाई थप पीडा भएको छ ।
नेपालभ्युज
काठमाडौं। चेतन मानन्धरको हत्यामा १२ वर्ष सजाय काट्न बाँकी रहँदै दोषी उम्किएपछि परिवारले असुरक्षा महशुस गरेका छन्। नेपालगञ्जका गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई सरकारले संविधान दिवसको दिन आममाफी दिएर छुटाएपछि पीडित परिवार आतंकित छन्।
अबिर र माला लगाएर गाडीका लावालस्करसहित रिहा हुँदा पीडित परिवारको चैन उडेको छ। स्थानीयका अनुसार तरुण दल बाँके–३ का तत्कालीन सभापतिसमेत रहेका गुन्डा नाइके रिगल बसहरूबाट अवैध हप्ता असुली गर्थे। भारतबाट नेपाल आउने बसहरूबाट धम्क्याउँदै पैसा उठाउँथे।
उनको सो काममा बाधक बने स्थानीय चेतन मानन्धर। २८ वर्षीय चेतनले बस व्यवसायीलाई गुन्डागर्दीविरुद्ध सङ्गठित हुन सिकाए। कतिपटक प्रहरीमा उजुरी गरेर रिगलका ग्याङका केटाहरू हप्ता उठाउँदा उठाउँदै रंगेहात पक्राउ गराए।
आफ्नो असुलीमा व्यवधान खडा भएको भन्दै चेतनलाई हत्या गर्ने योजना बनाए। २८ असार २०७२ मा अपराह्न ३ बजे रिगलले आफ्ना केटाहरूको सहायतामा चेतनलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटलमा लगे। त्यहाँ लगेपछि रिगलले चेतनलाई खुँडा प्रहार गरी हत्या गरे। हत्यालगतै उनी फरार भए।
उनका केही साथीहरू पक्राउ परे। घटनास्थल नजिकै रहेको सिद्धार्थ कटेजको गेटबाट भागेका नवराज खत्री, विशाल बस्नेतसहितलाई मानपुरबाट, प्रीतम थापा र माधव परियारलाई घटनास्थल नजिकै घरमा लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो।
हत्यामा संलग्न रिगल, मनीष चौलागाईं, विवाद पाठक, हरि वली, यामबहादुर बुढा, सोहन सिंह ढकाल र दीपेन्द्र मल्ल फरार थिए । रिगल पक्राउ नपरेपछि परिवार र आफन्तले न्यायको माग गर्दै निरन्तर आन्दोलन गरिरह्रयो। तर, सत्ता र शक्तिको आडमा रिगल पक्राउ परेनन्।
राष्ट्रपतिबाट आममाफी पाएपछि हत्याका मुख्य योजनाकार मानिएका रिगल भनिने योगराज ढकालको अबिर जात्रा।
परिवार र आफन्तको निरन्तरको आन्दोलनपछि रिगल पक्राउ परे। हत्या अभियोगमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा रिगललाई हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्यो। त्यो बेलामा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
रिगलललाई जन्मकैद फैसला भएपछि मानन्धर परिवारले न्यायको अनुभूति गरेको थियो । साबिक मुलुकी ऐन २०२० अनुसार उनी २० वर्ष कैद बस्नुपर्ने हो। गत असोज २ सम्म उनी कैद बसेको अवधि ८ वर्ष पुग्दै थियो। तर, कांग्रेससहितको गठबन्धन सरकारले उनलाई रिहा गरेको छ।
रिहाइपछि उनलाई ‘विजय जुलुस’ र सवारी लावालस्करसहित नेपालगञ्ज लगियो। हत्यारालाई तोकिएको सजाय पूरा नगरी राजनीतिक शक्तिका आडमा उन्मुक्ति दिएपछि परिवारलाई थप पीडा भएको छ ।
नेपालगञ्ज–७ मदन–आश्रित टोलमा बस्दै आएका उनका परिवार चिन्तामा छ। अपराधीलाई आमा माफी दिइएको भन्दै जनस्तरबाटै विरोध भइरहेको छ।
सर्वस्वसहित जन्मकैद पाएका आफ्नो पतिको हत्यारालाई छुटाउने पनि हत्यारा नै भएको चेतनकी पत्नी भारतीको आक्रोश छ। उनले सजाय माफी दिएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेललाई भनेकी छिन्, ‘‘हत्यारालाई आममाफी दिने तपाईं पनि हत्यारा नै हो।’’
गुन्डा नाइके रिगल भनिने योगराज ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती
एउटा हत्यारालाई माफी दिने हिम्मत कसरी भयो ?’ भन्दै चेतनकी पत्नी भारतीले राष्ट्रपतिको विरोध गर्दै आपत्ति जनाएकी छिन्।
‘‘राष्ट्रपतिलाई परेको भए थाहा हुन्थ्यो सिन्दूरको मूल्य, कसैले आफ्नो जीवन गुमाएको छ, कसैले आफ्नो छोरा गुमाएको छ, कसैले बुबा गुमाएको छ। आजसम्म पनि हामी त्यो घटनाबाट निस्कन सकेको छैनौँ’’ उनले भनेकी छिन्, ‘‘मलाई सरकार र देशको कानुनमाथि विश्वास थियो। एउटा हत्यारालाई मन्त्री जसरी सम्मानका साथ कारागारबाट निकालियो। यही हो नेपालको कानुन ? हत्यारालाई साथ सपोर्ट गर्ने पनि हत्यारा नै हो।’’
उनले आफूले पाएको न्याय खोसिएको गुनासो गरेकी छिन्, ‘‘ज्यानमारालाई आममाफी कसरी भयो? त्यो हत्याराले पूरै परिवारको जिन्दगी तहसनहस भएको छ। जब त्यो भित्र थियो, मैले न्याय पाएँ भन्नेमा ढुक्क थिएँ। तर, हाम्ले पाएको न्याय खोसियो। यसैले रिगलभन्दा सबैभन्दा ठूलो हत्यारा राष्ट्रपति हो। यो पापको कुनै सजाय छैन।’’
उनी भन्छन्, ‘‘जन्मकैद पाएको अपराधी जेलबाट छुट्छ, उसलाई अबिर–माला लगाएर स्वागत गरिन्छ भने हामीले कस्तो सुरक्षाको आस गर्ने, हामीलाई पनि रिसिइबीमा भोलि केही नगर्ला भन्ने छ र? हामी अहिले झन् असुरक्षित महसुस गरिरहेका छौँ।’’
चेतनको हत्या हुँदा उनका छोरा दुई वर्षका थिए, अहिले ११ वर्षका भए । आफूहरूको ठूलो पहुँच नभएका कारण हत्यामा संलग्न रिगललाई पक्राउ पनि मुस्किलले गराएको उनी सम्झन्छन्।
रिगल छुटेपछि चेतनका बुबा किशोर पनि चैनमा छैनन्। छोराको हत्यापछि उनैले रिगलविरुद्ध किटानी जाहेरी दिएका थिए। किटानी जाहेरी दिएपछि नै चेतनका बुबा किशोरलाई धम्की आइरहेका थिए। अहिले रिगल छुटेपछि आफूहरू त्रासमा रहेको उनी सुनाउँछन्।
हत्यामा संलग्नमध्येका यामबहादुर बुढा मगरले पनि रिगलको नेतृत्वमा आफूहरूले विभिन्न गाडी समिति, निर्माण व्यवसायी, भारतीय समितिबाट मासिक असुली गर्ने गरेको र त्यसमा चेतनले अवरोध पुर्याएपछि हत्या गरेको स्वीकार गरेका थिए । रिगलले नै होटेल इन्द्रेणीमा कोठा खोज्न लगाई चेतनको निगरानीमा खटाएको उनको बयानमा उल्लेख छ।
Facebook Comment
Comment