काठमाडौं। नेपाल भ्युजको व्यावसायिक रणनीति निर्देशकमा मार्केटिङ विज्ञ अनिल थमन नियुक्त भएका छन्। नेपालभ्युज सञ्चालक संस्था डिजिटल हाउसका अध्यक्ष कृति खतिवडाले मंगलबार थमनलाई स्वागत गरिन् ।
नवनियुक्त व्यावसायिक रणनीति निर्देशक थमनलाई स्वागत गर्दै अध्यक्ष खतिवडाले नेपालभ्युजलाई मुलुकको अग्रणी सञ्चारगृह बनाउने योजनामा सबै मिलेर अघि बढ्नुपर्ने बताइन्।
निर्देशक थमनले चुनौतीबीच नयाँ योजनाका साथ काम गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘‘तीस वर्ष लामो मेरो अनुभवलाई यहाँ देखाउन प्रयास गर्नेछु। टिमको सक्रिय सहकार्यले थप उचाइ प्राप्त गर्नेछ भन्ने विश्वास छ।’’
तीन दशक लामो मार्केटिङ र व्यावसायिक रणनीतिको अनुभव रहेका उनी कुशल इभेन्ट मेनेजरसमेत हुन्। नेपालमा इभेन्ट मेनेजमेन्टको सुरुआतकर्ता समेत रहेका थमनले सन् १९८७ मा कम्पनी खोलेर काम अघि बढाएका थिए। ‘क्याप्टेन आउटडोर्स’ कम्पनीको सञ्चालक समेत हुन् थमन।
उनको कम्पनी ‘क्याप्टेन आउटडोर्स’ले केही वर्षअघि नेपालमा भएको दक्षिण एसियाली खेलकुद कार्यक्रमको ओपनिङ सेरेमनी र क्जोजिङ सेरेमनीको संयोजन गरेको थियो। साथै २०१७ मा नेपालमा भएको इन्टरपोल कन्फरेन्सको समेत थमनकै कम्पनीले म्यानेजमेन्ट गरेको थियो।
थमनले डोमेस्टिक टुरिजम फेयरमा ‘वेस्ट इभेन्ट मेनेजमेन्ट’को अवार्ड जितेका छन्। नेपाल पर्यटन बोर्डले डेढ दशकदेघि सुरु गरेको ‘आन्तरिक पर्यटन मेला’को अवधारणासमेत उनैले तयार गरेका थिए।
थमनसँग युनिसेफ, यूएनडीपी, डब्लूएचओको लागि ‘वाटर स्यानिटेसन हाइजिन’ काम गरेको समेत अनुभव छ।
Facebook Comment
Comment