सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्वको रौनक

नेपाल भ्युज

सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्वको रौनक

बैतडी। आज बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बूढी पोल्ने पर्व मनाइँदैछ । हरेक वर्ष असोज १ गते यो पर्व यहाँ धुमधामसँग मनाउने प्रचलन छ ।

विजय उत्सवका रूपमा मनाइने यो पर्वमा ‘बूढी’ अर्थात राक्षसनी पुतनाको शवदहन गर्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए । परम्परागत किंवदन्तीअनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पूतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)हरूले पुतनाको शव दहन गरेको कथन छ ।

द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने राक्षसी पूतनालाई भगवान् श्रीकृष्ण दूध चुसी मारेको र भगवान श्रीकृष्ण बाँचेको खुसियालीमा असोज संक्रान्तीका दिन यो पर्व मनाउने गरिएको भट्टको भनाइ छ ।

सुदूरपश्चिममा भाद्र संक्रान्तीका दिन गाडिएको सल्लाको वा अन्य बोट विरुवाको लिङ्गोमा आज साँझपख बूढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै ‘लुतो बाँड्ने’ प्रचलन छ । ओल्के संक्रान्तिका दिन गोठालाहरूले बूढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगाहरू थप्ने गर्छन् । दैनिक थप्दा केही स्थानमा निकै ठूलो बूढी बन्ने गर्छन् ।

गाई गोठालाहरूले बाँझा जग्गा र दोबाटामा सल्ला, बाँज, खर्सुलगायत रुखहरूबाट निर्मित बूढीको पुतनालाई साँझपख जलाउने गरिन्छ । दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन छ । यसो गरेमा पशु चौपायामा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास रहेको बैतडीको दोगडाकेदार ३ श्रीकोटका गणेश वियटको भनाइ छ ।

ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अलिक उच्चो टाकुरामा सबै जना मिलेर रूखका हाङ्गा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भन्ने गरिएको छ ।

यो बूढीलाई नै आज असोज संक्रान्तिका साँझ प्रत्येक घर घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा छ । पुतनाको स्वरुपमा तयार गरी सिङ्गारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरि घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ । साँझपख काँक्रो चपाएर जलेको पूतनामा फाल्दै जोडले थुई बूढी थुई भन्ने गर्छन् ।

त्यस्तै, बूढी पोलेर घर फकिर्ने क्रममा बाटो–बाटोमा बलेको दियो पनि गाड्दै जाने प्रचलन छ । यस पर्वमा रातभर देउडा खेल्ने चलन भए पनि युवापुस्ताले ध्यान नदिँदा पछिल्लो समयमा यस्ता चलनहरू लोप हुँदै गएका छन् । – रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved