दीपक दीपाले खोले सिनेमा हल, फिल्म निर्मातालाई ५० प्रतिशत सेयर दिने घोषणा

चन्द्र ढकाल र अभिनेता हरिवंशले गरे उद्घाटन 

नेपालभ्युज

दीपक दीपाले खोले सिनेमा हल, फिल्म निर्मातालाई ५० प्रतिशत सेयर दिने घोषणा

काठमाडौं। कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको मल्टिप्लेक्स सिनेमा हल आजबाट सञ्चालनमा आएको छ। नयाँ वानेश्वरस्थित एनबी सेन्टरमा रहेको हल आइएनआइ सिनेमाजको फ्रेन्चाइजीको रूपमा उनीहरूले हल सञ्चालन गरेका हुन्।

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अभिनेता हरिवंश आचार्यले उक्त मल्टिप्लेक्सको उद्घाटन गरे।

हल उद्घाटनका अवसरमा बोल्दै दीपक दीपाले नेपाली फिल्मलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले नेपाली फिल्म निर्मातालाई ५० प्रतिशत सेयर दिने घोषणा पनि गरेका छन्।

दीपकले भने, ‘‘सेयर बाँडफाँडमा निर्माताहरूको असन्तोष छ। हलवाला र निर्माताको हातमा आम्दानीको बराबर हिस्सा होस् भन्ने हाम्रो मान्यता हो। हामी यो हलमा आजकै मितिबाट नेपाली चलचित्रको हकमा ५०÷५० प्रतिशत सेयर बाँडफाँड हुनेछ।’’

गिरीले अन्य सिनेमाहरूले पनि यो सूत्रलाई पछ्याउने आशा व्यक्त गरे। राम्रो गर्दागर्दै नेपाली चलचित्रले स्थान नपाउने अवस्था नआओस् भन्नेमा आफूहरू सचेत रहने पनि उनले बताएका छन्।

‘‘फिल्म हेर्न दर्शक नै आएनन् भने त माया प्रेमले मात्र हुँदैन, तर राम्रो चल्दाचल्दै नेपाली फिल्मले शो नपाउने अवस्था चाहीँ नआओस् भन्नेमा हाम्रो प्रयास रहनेछ,’’ उनले भने।

हल उद्घाटन गर्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले कलाकारले मेहनत गरे सिनेमा हलको मालिक पनि बन्न सकिन्छ भन्ने सन्देश दीपक–दीपाले दिएको बताए। उनले भने, ‘‘मैले पनि जिरोबाट व्यवसाय थालेको हिसाबले दीपक–दीपाको सन्देश साँच्चिकै अनुकरणीय छ । हरेक कलाकारका लागि एकदमै ठूलो म्यासेज हो।’’

कोरोना महामारीपछि आर्थिक गतिविधि सुस्ताएको बेला यो फिल्म हल सञ्चालनले गतिविधि बढ्ने विश्वास ढकालले व्यक्त गरे। ‘‘अहिले वास्तवमा मान्छेलाई पब्लिक कन्फ्युजन भएको स्थिति छ। आउने दिनमा उत्साहजनक गतिविधि बढ्छ भन्ने सन्देश यो हलले दिएको छ। यो लोकेसन आफैँमा धेरै नै सेन्टरमा छ । यसले व्यवसाय बढ्ने कुरामा विश्वास छ,’’ उनले भने।

स्क्रिनप्ले फिल्म्सको स्वामित्व रहेको हलमा कलाकारहरू दीपक र दीपाको पनि लगानी रहेको हो। गिरी स्क्रिनप्ले फिल्म्सका अध्यक्ष समेत हुन्। उनकै फिल्म ‘छक्कापञ्जा ४’ प्रदर्शनसँगै यो हल औपचारिक रूपमा सञ्चालनमा आएको हो। दुई पर्दा रहेको हलमा कुल ३८७ सिट क्षमता छ।

आईएनआई सिनेमाजका निर्देशक सुरेन्द्र थापाले अत्याधुनिक प्रविधि र सुरक्षालाई ख्याल राखेर हल निर्माण गरिएको बताए। निकट भविष्यमा अन्यत्र पनि हल विस्तारको तयारी रहेको थापाले बताए।

‘एनबी सेन्टर’ हलको सञ्चालक समिति सदस्यहरूमा दीपकराजसहित दीपाश्री निरौला, निर्मल शर्मा, सुरेन्द्र थापा, गृहेन्द्र मुनाकर्मी, भीमसेन कँडेल, विजय घिमिरे, सिर्जना बस्नेत, प्रभात रिमाल र सर्वजीत सिग्देल छन्।

शुक्रबारदेखि नै यो हलमा एक भगवत् र एक गीता, नांगो गाउँ, जवान र नन् २ प्रदर्शनमा आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved