सत्तरी गोही शहरमा छिरेपछि सुरक्षाका लागि खोजी जारी

नेपालभ्युज

सत्तरी गोही शहरमा छिरेपछि सुरक्षाका लागि खोजी जारी

बेइजिङ । चीनको एक सहरले हालैका दिनहरूमा आएको बाढीका कारण ठूलो सङ्ख्यामा भागेका गोहीको खोजी सुरु गरेको अधिकारीहरूले मंगलबार  बताएका छन् ।

गत हप्ता दक्षिणी चीनमा आएको आँधीका कारण ठूलो वर्षा भएपछि हङकङ र अन्य क्षेत्रमा डुबान भएको थियो । गुआङडोङ प्रान्तको माओमिङ शहर वरपर बाढी र डुवान हुँदा एउटा व्यवसायिक गोही फार्म सञ्चालन गरिएको तालबाट ७० भन्दा बढी गोही भागेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

स्थानीय आपतकालीन व्यवस्थापन कार्यालयमा फोनको जवाफ दिने एक व्यक्तिले मंगलबार एएफपीलाई बताएअनुसार अधिकारीहरूले सरीसृपको उद्धारका लागि काम गरिरहेका छन् ।

ती व्यक्तिले अझै कति जनावर खुला अवस्थामा छन् वा अहिलेसम्म कुनै पनि फेला परेका छन् कि छैनन् भन्नेबारे केही बताएनन् ।

राज्य समर्थित बेइजिङ न्यूजले प्रकाशित गरेको एक भिडियोमा रातो पोसाक लगाएका उद्धारकर्मीहरूले उद्धार डुङ्गामा बाढीले भरिएका खेतहरू खोजिरहेको देखाइएको छ ।

थप तस्बिरमा दुई मिटर लामो खस्रो जनावर सडकमा लडिरहेको र उनीहरूका मुख रातो टेपले बाँधिएको देखिन्छ ।

“गोही अझै पनि पानीमा छन् र धेरै सरकारी विभागहरूले तिनीहरूलाई समात्ने काम गरिरहेका छन्,” चाइना नेशनल रेडियो (सीएनआर) ले स्थानीय कृषि ब्यूरोलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । “गोहीको निश्चित सङ्ख्या गणनासहित घटनाको अनुसन्धान भइरहेको छ,” सीएनआरले भनेको छ ।

गोहीलाई चीनमा छालाका साथै मासुका लागि पनि हुर्काइन्छ, जुन कहिलेकाहीं परम्परागत औषधिमा पनि प्रयोग गरिन्छ । सीएनआरका अनुसार उक्त क्षेत्रमा ‘गोही थीम पार्क’ र ‘देशकै सबैभन्दा ठूलो गोही प्रजनन शिविर’ पनि रहेको छ ।

वेइबो सोसल मिडिया प्लेटफर्ममा प्रयोगकर्ताहरूले गाही तालबाट बाहिरिएको र तिनीहरूलाई नियन्त्रण गर्न तत्काल सरकारी अधिकारीको थप ध्यान केन्द्रित हुनुपर्ने उल्लेख गरेका छन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved