सिन्धुली । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको बताएका छन् ।
मंगलबार सिन्धुली उद्योग वाणिज्य संघको ३३औं साधारणसभालाई सम्बोधन गर्दै उनले सरकार विकास र समृद्धिको बाटोमा नलागे जनताहरू वर्तमान राजनीतिक व्यवस्थाविरुद्ध उभिने खतरा बढेको बताउँदै यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्न लागेको बताए।
मन्त्री श्रेष्ठले गणतन्त्रको स्थापनाको उपलब्धिलाई आधार बनाएर तीव्र आर्थिक तथा सामाजिक रूपान्तरणमा लाग्नुपर्नेमा जोड दिए ।
बागमती प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले सहकार्यका लागि निजी क्षेत्रलाई अपीलसमेत गरे ।
सिन्धुली जिल्लाको समग्र विकासका लागि कृषि क्षेत्रमा विशेष लगानी गर्न जरुरी रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले आधुनिक र व्यवसायिक कृषि उत्पादन सुरु गर्ने बताए । उनले मरिण, कमला र चदहा नदी नियन्त्रण गरी खेतीयोग्य उर्वर जमिन उकासेर सिंचाइको व्यवस्था गरेर आधुनिक र व्यवसायिक कृषि उत्पादनमा जोड दिनेसमेत बताए ।
Facebook Comment
Comment