एजेन्सी । एसिया कप क्रिकेटको सुपर फोरमा घरेलु टोली श्रीलंकाले बंगलादेशलाइ हराएको छ ।
कोलम्बोमा भएको खेलमा श्रीलंकाले बंगलादेशलाई २१ रनले हराएको हो । श्रीलंकाले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याएको बंगलादेश ११ बल बाँकी छँदै २ सय ३६ रनमा अल आउट भयो ।
उसका लागि तोहिद ह्रिदोइले सर्वाधिक ८२ रन बनाए । बलिङतर्फ श्रीलंकाका महीस थिकसीना, दासुन शनाका र महीशा पथिरानाले तीन तीन विकेट लिए ।
यसअघि पाकिस्तानसँग हारेको बंगलादेशको फाइनल पुग्ने सम्भावना कम भएको छ । श्रीलंकाले भने पहिलो खेल जितेर आफूलाई बलियो साबित गरेको छ ।
त्यसअघि कोलम्बोमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनायो ।
उसका लागि सदीरा समरविक्रमाले सर्वाधिक ९३ रन बनाए र कुलश मेन्डिसले ५० रन बनाए । बलिङतर्फ बंगलादेशका तस्कीन अहमद र हसन महम्मदले तीन तीन विकेट लिए ।
सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । एसिया कपमा सहभागी नेपाल र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका थिए ।
Facebook Comment
Comment