काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् ।
शुक्रबार सिंहदरबारमा लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले लगानी सम्मेलनको घोषणा गरेका हुन् ।
अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरुको लगानीसमेत नेपालमा भित्र्याउन शिखर सम्मेलन आयोजना गर्न लागिएको बताए ।
उनले नेपालमा पर्यटन, कृषि, जलविद्युत् र सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सम्मेलन सार्थक हुने विश्वास व्यक्त गरे । भारतले १० हजार मेगावाट विद्युत् १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खालको सम्झौतालाई अब छिट्टै अघि बढाउने पनि उनको भनाइ छ ।
अर्थमन्त्री महतले नेपालमा वाह्य लगानी भित्र्याउने काममा लगानी बोर्डले अझ प्रभावकारी ढंगले पहल गर्नुपर्ने बताए ।
Facebook Comment
Comment