काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार (भोलि) बस्ने मन्त्रिपरिषद् बैठकले संघीय निजामती कर्मचारी ऐन पारित गरेर संसदमा पठाउने बताएका छन् ।
सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त जानकारी दिएका हुन् ।
उनले नेपालको संविधान जारी भएपश्चात हालसम्म नयाँ र संशोधनसमेत गरेर १९१ वटा ऐन निर्माण भएको र अहिले १५ वटा विधेयक संसदीय प्रक्रियामा रहेको पनि जानकारी दिए ।
‘नेपालको संविधान जारी भएपश्चात हालसम्म नयाँ र संशोधनसमेत गरेर १९१ वटा ऐन निर्माण भएको अवस्था छ । साथै विभिन्न मितिमा जारी भएका केही नेपाल ऐनलाई संशोधन गर्ने ऐनबाट प्रचलित कानूनहरुलाई नेपालको संविधान अनुकुल बनाउने काम समेत सम्पन्न गरिएको छ’, उनले भने, ‘भोलिको मन्त्रिपरिषद् बैठकबाट त्यसलाई पारित गरेर सदन समक्ष प्रस्तुत गर्ने सरकारको तयारी रहेको जानकारी गराउन चाहन्छु ।’
प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचिमा रहेका तथा विकास निर्माणका कार्यसँग सम्बन्धित कानूनहरु निर्माणको प्रक्रियामा रहेको बताए । त्यस्तै अघिल्लो प्रतिनिधि सभामा निस्क्रिय भएका विधेयकहरुलाई पुनः संसदमा पेस गर्नका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको पनि उनले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले प्रहरी प्रशासनसम्बन्धी कानूनलाई संघीयताअनुकुल बनाउनका लागि नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको पनि बताए ।
उनले विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता कानून निर्माण र जग्गा प्राप्तिसम्बन्धी विषयमा विधेयक तयार गर्न आवश्यक काम सुरु भइसकेको पनि जानकारी दिए ।
Facebook Comment
Comment