भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा रहेका युवकको यही ३ गते भएको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मृतकका परिवारसँग आठौँ दिनमा आइतबार सहमति भएको छ ।
रामेछापको मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल बस्नेतको ज्वरोले थलिएको अवस्थामा समयमै उपचार नपाउँदा भदौ ३ गते बिहान मृत्यु भएपछि मृतकका आफन्त र परिवारले क्षतिपूर्तिको माग गर्दै शव उठाएका थिएनन् ।
यही भदौ ३ गते मृतकका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेपछि दिनभर तनावग्रस्त बनेको थियो भने ४ गते मृतकका आफन्तले नाराबाजी र बाल सुधार गृहका बन्दीले विद्रोह गरेर तोडफोड गरी दुई सय २१ जना फरार भएका थिए ।
आइतबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसी, सुरक्षा निकायका प्रमुखहरु, युसेप नेपालका निर्देशक केशव सुवाल र प्रतिनिधिहरु तथा मृतकका परिवारसँग भएको छलफल सहमतिमा टुङ्गिएको हो ।
आज शवपरीक्षण गरी सदगद गर्ने सहमति भएको भक्तपुरका प्रजिअ रिजालले जानकारी दिए। उनले भने, ‘मृतकका परिवार र आफन्तसँग पटकपटक छलफल गर्यौँ र आज जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा शवपरीक्षण गर्ने, शवपरीक्षणपछि मृतकको दाहसंस्कार गर्ने, छानबिन कमिटीबाट आएको रिपोर्टअनुसार अगाडि बढ्ने, मृतक परिवारका लागि राहत रकमका लागि नेपाल सरकारलाई लेखी पठाउने सहमति भएको छ ।”
मृतक परिवारले भने १० लाख क्षतिपूर्ति एवं राहत रकमको माग गर्दै आएका थिए । युसेप नेपालले मृतकको काजकिरिया गर्नका लागि आफ्ना कर्मचारीको केही दिनको तलब काटेर सहयोगस्वरुप रु दुई लाख रकम उपलब्ध गराएको छ । सहमति भएसँगै मृतक बस्नेतको सोमबार शिक्षण अस्पताल महाराजगञ्जमा शवपरीक्षण र दाहसंस्कार हुने भएको छ ।
त्यसैगरी बाल सुधार गृहमा रहेका ५७ जनालाई कारागार विभागले उपत्यका बाहिरका सुधार गृहमा स्थानान्तरण गरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको सिफारिसमा विभागले सानोठिमीस्थित सुधार गृहबाट १८ जनालाई पर्सा, १८ जनालाई मकवानपुर, सात जनालाई डोटी र १४ जनालाई रुपन्देहीको सुधार गृहमा स्थानान्तरण गरेको विभागले जानकारी दिएको छ ।
स्थानान्तरण गरिएकाहरू अधिकांश १८ वर्षमाथिका छन् । सानोठिमीको सुधार गृहमा रहेकामध्ये एक सय ५४ जना जबर्जस्ती करणीमा, ५८ जना कर्तव्य ज्यानमा संलग्न थिए ।
अदालतले तोकेको अवधि पूरा नगरेसम्म १८ वर्ष उमेर नाघे पनि सुधार गृहमै बस्न पाउने सुविधा दिएको छ । बालबालिकासम्बन्धी ऐनको दफा ४३ (४) मा ‘१८ वर्ष पुगेमा बानी ब्यहोरामा आएको सुधार, आर्जन गरेको सीप तथा शिक्षालाई ध्यानमा राखी बाँकी अवधि अन्य बालबालिकाबाट अलग राख्नुपर्ने’ उल्लेख छ ।
तर सानोठिमीमा रहेकामध्ये एक सय ३१ जना १८ वर्षमाथिका किशोरकिशोरी रहे पनि छुट्टाछुट्टै राख्ने व्यवस्था भने सरकारले गर्न सकेको छैन ।
रासस
Facebook Comment
Comment