सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै संघीयतालाई पूर्णता दिन नसकिएको बताएका छन् । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा संघीयता आएको आठ वर्ष पूरा भए पनि त्यसले पूर्णता पाउन नसकेको बताएका हुन् ।
संघीय शासन प्रणालीअनुरूप सयभन्दा बढी नयाँ कानून तर्जुमा र पुराना कानूनहरू संशोधन गर्न बाँकी रहेको भन्दै उनले संघीयता पूर्ण हुन नसकेको तर्क गरेका हुन् ।
‘संघीय शिक्षा ऐन, संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन र मौलिक हक कार्यान्वयनका लागि आवश्यक कानूनहरू बनेर कार्यान्वयनमा आएपछि मात्र जनताले संघीयताको मर्म अनुभूत गर्न सक्दछन्’ प्रधानमन्त्री प्रचण्डले भने ‘मेरो प्राथमिकता यी ऐनहरु छिट्टै तर्जुमा गर्नेतर्फ गएको छ ।’
कर्णाली प्रदेशको स्थापनामा कर्णालीबासीको ठूलो संघर्ष, त्याग र बलिदान आएको र कर्णाली प्रदेश निर्माणका क्रममा ८ वर्षअघि २ हप्ता लामो आन्दोलनमा चार जनाको शहादतपश्चात् २०७२ भदौ गते आजकै दिन कर्णाली प्रदेश स्थापना भएको बताए ।
‘म आन्दोलनका क्रममा शहादत्त प्राप्त गर्ने सुर्खेतका टीकाराम गौतम, यामबहादुर बिसी, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुंवरप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँहरूको सपना पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने ।
उनले कर्णालीका जनताको समस्या नजिकबाट बुझेको दाबी गर्दै कणालीकै हितमा काम गर्ने आश्वासन पनि दिएका छन् ।
उनले भने, ‘कर्णालीको विकासका लागि तीनै तहका सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वयको सम्वन्ध आवश्यक रहन्छ ।’
कर्णाली प्रदेशले निर्धारण गरेको विकास, पूर्वाधार र परिवर्तनको लक्ष्य, कर्णालीको मूल्यवान उत्पादन, कृषकहरूलाई प्रोत्साहन, कर्णालीले जे बेच्छ, मूल्यवान उपज बेच्छ जस्ता नारा र कर्णाली समृद्धि अभियान जस्ता कार्यक्रमबाट आफू उत्साहित भएको प्रचण्डले बताए ।
‘साँच्चै कर्णाली मुलुककै समृद्धिको मुहान बन्न सक्दछ। कर्णालीको जल, जमिन, पर्यटन, जडीबुटी, भेषभुषा, भाषा संस्कृतिमा रहेको अपार सम्भावनालाई मैले बुझेको छु’, उनले भने, ‘कर्णाली एउटा सभ्यता हो। यो मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ ।’
Facebook Comment
Comment