काठमाडौं। संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ आज सोमबार गर्दैछ ।
उजुरीको समयसीमा समाप्त भएपछि आइतबार बसेको समिति बैठकले सुनुवाइको निर्णय गरेको हो ।
सुनुवाइअघि सोमबार नै एक जना उजुरीकर्तासँग समितिले छलफल गर्ने छ । उनिविरुद्ध इमेलबाट दुई र सचिवालयमा दर्ता भएको एउटा उजुरी परेको थियो ।
विषयवस्तुका आधारमा एक जनासँग समितिले छलफल गर्न लागेको हो । कार्यसम्पादन र मुद्दाको विषयमा रहेको उजुरीमा समितिले उजुरीकर्तासँग छलफल गर्ने निर्णय गरेको छ ।
सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले सोमबार प्रस्तावित प्रधान न्यायाधीशको सुनुवाइ हुने बताए । उनले भने, “उजुरीकर्तासँग र प्रस्तावित प्रधान न्यायाधीश दुवैसँग सोमबार छलफलको कार्यसूची रहेको छ ।”
समितिले साउन २३ गते सुनुवाइ प्रव्रिmया आह्वान गर्दैै प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो । उजुरीको प्रक्रिया सकिएपछि समितिले सुनुवाइको मिति तोकेको हो ।
सोमबार नै समितिले निर्णय प्रक्रियासमेत सम्पन्न गर्ने छ । सङ्घीय संसद्को संयुक्त बैठक तथा समिति सञ्चालनसम्बन्धी नियमावली अनुसार सुनुवाइ प्रक्रिया प्रारम्भ भएको ४५ दिनभित्र समितिले निर्णय गरिसक्नुपर्ने छ ।
Facebook Comment
Comment