सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले सञ्चालन गरेको दुधकोशी सामुदायिक अस्पतालमै जटिल प्रकारको प्रसूति गराइएको छ ।
गाउँपालिका ६ मुक्लीकी २८ वर्षीया लक्ष्मी विश्वकर्मालाई जटिल प्रकारको प्रसूति गराइएको अस्पताल प्रशासनकी अधिकृत स्मीता विष्टले जानकारी दिइन् ।
अधिकृत विष्टकाअनुसार लक्ष्मी १० दिनअगावै प्रसूता/सुत्केरी हुनुपर्ने थियो । तर, बिहीबारसम्म कुनै लक्षण नै नदेखिएपछि उनी अस्पताल भर्ना भएकी थिइन् । त्यसपछि इन्जेक्सनको सहायतामार्फत लक्षण उत्पत्ति गराइ सफल शल्यक्रिया गराइएको अधिकृत विष्टले बताइन् ।
“उहाँलाई डाक्टरले दिनुभएको मिति १० दिनअगाडिको थियो । तर, व्यथा/लक्षण देखिएको थिएन । त्यसपछि उहाँको इन्जेक्सनको सहायतामा सफल शल्यक्रिया गरिएको हो,” उनले नेपालभ्यूजसँग भनिन् । उनकाअनुसार लक्ष्मीलाई लक्षण उत्पत्ति गर्ने ४ वटा इन्जेक्सन दिइएको थियो । “त्यसपछि पनि अर्को इन्जेक्सन थप्नुपर्ने अवस्था आएको भएचाहिँ अझ गाह्रो हुन सक्थ्यो,” उनले भनिन् ।

सुरूमा लक्ष्मीलाई जिल्ला अस्पताल फाप्लु जान सुझाव दिइएको भएपनि नमानेपछि डा. अजय चौधरीको नेतृत्वमा यहीँ सफल शल्यक्रिया गरिएको हो ।
उसो त सामान्य खालका प्रसूति अस्पतालले गराउँदै नै आएको हो । तर, जटिल प्रकारको शल्यक्रिया भने यो पहिलो भएको अधिकृत विष्टले बताइन् ।
यसअघि यसखाले जटिल प्रकारको प्रसूति गराउन जिल्ला अस्पताल फाप्लु वा सङ्घीय राजधानी काठमाडौं नै पुग्नुपर्ने बाध्यता थियो ।
Facebook Comment
Comment