काठमाडौं । शिक्षामा भइरहेको निजीकरण र व्यापारीकरण अन्त्य गर्ने खालको शिक्षा ऐन ल्याउन माग गर्दै सत्ताघटक दलनिकट विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बुधबार माइतीघरमा भेला भएर संयुक्त विद्यार्थी संगठनमा आवद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डाको अन्त्य हुनुपर्ने र कुलपतिदेखि क्याम्पसका पदाधिकारीसम्म खुल्ला प्रतिस्पर्धाको आधारमा नियुक्ति गर्ने प्रावधानसहितको शिक्षा ऐन लागू गर्नुपर्ने उनीहरूको माग छ ।

उनीहरुले भदौ १ गतेदेखि ४ गतेसम्म देशैभरको स्थानीय तह, प्रदेश र संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने, ६ गते शैक्षिक पत्रकारहरुसँग भेटघाट अन्तरक्रिया गर्ने र ८ गते विज्ञ र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गर्ने जस्ता कार्यक्रमहरु समेत सार्वजनिक गरेका छन्।

प्रदर्शनमा अखिल क्रान्तिकारी, नेपाल समाजवादी विद्यार्थी युनियन , अखिल पाँचौ, अनेरास्ववियु क्रान्तिकारी, विद्यार्थी जनमत संघ, अखिल नेपाल विद्यार्थी युनियन, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका विद्यार्थीहरु उपस्थित थिए ।

Facebook Comment
Comment