काठमाडौं। अस्ट्रेलिया र न्युजिल्यान्डमा महिला विश्वकप फुटबलको नवौँ संस्करण चलिरहेको छ। आठ टीमको डेब्युले पुराना टीममाथि थपिएको चुनौती र दर्शकको कीर्तिमानी उपस्थितिका कारण महिला विश्वकपले धेरैको ध्यान तानेको छ ।
यसले प्रत्यक्ष–अप्रत्यक्षरूपमा नेपाली फुटबल र नेपालीलाई पनि विश्वकपसँग नजिक्याएको छ। ३२ वर्षअघि चीनबाट प्रारम्भ भएको महिला फुटबलको सबभन्दा प्रतिष्ठित प्रतियोगिताले नेपालमा ठूलै चहलपहल ल्याएको छ। त्यसको एउटै कारण हो– अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिक्री गरेको विश्वकप खेलका टिकट।
विश्वकपको फाइनलका १० सहित कुल २ सय ३० टिकट एन्फाले फिफा (अन्तर्राष्ट्रिय फुटबल महासंघ) बाट झिकाएको थियो । जसमा अस्ट्रेलियामा हुने खेलका १ सय २५ र न्युजिल्यान्डमा हुने खेलका १ सय ५ टिकट थिए।
त्यो टिकट खरिद गर्न एन्फाभित्रै लुछाचुडी भयो । एन्फाले खेल हेरेपछि स्वदेश फर्किनैपर्ने सर्तसहितको कागज गराएर दुई सय ३० वटा टिकट बिक्री गर्यो।
तर, टिकट किनेका केही खरिदकर्ताले भिसा नै पाएनन्। यतिसम्मकी एन्फा पदाधिकारीलाई पनि अस्ट्रेलिया र न्यूजिल्याण्डले पत्याएन।
भिसा लिएर न्यूजिल्याण्ड पुगेका केहीलाई त नेपाल निष्कासित (डिपोर्ट) गरियो। विश्वकप हेर्न अस्ट्रेलिया र न्युजिल्यान्ड हिँडेका केही नेपाली ट्रान्जिट मुलुकमै रोकिए।
अस्ट्रेलिया जान लागेका केही संगापुरमै रोकिएपछि स्वदेश फर्किनुपर्याे।
खादा लगाएर घरबाट धुमधामले बिदाइ भएर गएका केहीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइयो। त्यसैले खेलभन्दा बढी नेपाली दर्शकको न्यूजिल्याण्ड र अस्ट्रेलिया यात्राको कारण नेपालमा महिला विश्वकपले बढी चर्चा पाइरहेको छ।
टिकेट किनेकाले भिसा पाएनन्, भिसा पाएका पनि उड्न पाएनन्
एन्फाले विश्वकपका खेल रङ्गशालामा प्रत्यक्ष हेर्न जान भन्दै टिकट बेचे पनि सबै खेल हेर्न पुगेका छैनन। टिकट लिएकाहरूमध्ये धेरैले अस्ट्रेलिया जाने भिसा पाएनन्। न्युजिल्यान्डको टिकट लिएका भने भिसा पाएर पनि विमानस्थलबाटै फर्काइए।
टिकट काटेकामध्ये झन्डै आधाजसो जान नपाएको एन्फा स्रोतले बताएको छ। खेल सकिएपछि स्वदेश फर्किने सर्तसहितको कागजमा हस्ताक्षर गर्दै नागरिकताको फोटोकपी र तोकिएको मूल्य तिराएर फुटबलसम्बद्ध व्यक्तिहरूलाई टिकट बिक्री गरिएको थियो।
दश-बीस हजार रुपैयाँ तिरेर विश्वकपको टिकेट किनेकाहरू कतिपयले भिसा पाएनन्। टिकट किनेका सर्वसाधारण मात्र होइन अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य नै न्यूजिल्याण्ड र अस्ट्रेलिया जान पाएनन्, भिसा पाए पनि। उनीहरूले हवाई टिकट र होटेल बुकको पैसा गुमाउनुपर्यो।
अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य पुरुषोत्तम थापा न्युजिल्यान्डतर्फ उड्ने तयारी गर्दैगर्दा विमानस्थलबाटै फर्किनुपर्याे। बुधबार पत्नीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी चाइना साउथर्न एयरलाइन्सबाट ग्वाङ्झाउ ट्रान्जिट हुँदै अकल्यान्ड (न्युजिल्यान्ड) पुग्ने तयारीमा थिए।
हवाई टिकट लिएका थापालाई एयरलाइन्सका कर्मचारीले न्युजिल्यान्डका इमिग्रेसन बोर्डर अपरेसन (आईबीओ) बाट भिसा क्यान्सिल भएको जानकारी आएको भन्दै जान दिइएन।
धादिङ जिल्ला फुटबल संघका उपाध्यक्ष सुरेश तामाङ र सदस्य हरि खतिवडाको पनि हवाई टिकट र होटेल बुकिङ खर्च मात्र भयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइयो। सिंगापुर एयरलाइन्सबाट न्यूजिल्याण्ड उड्न लागेका उनीहरूलाई जान दिइएन।
एकजनाले झन्डै पाँच लाख रुपैयाँ खर्च गरिसकेको अवस्थामा फर्काइदा मर्का परेका छन्। एन्फालाई समन्वय गरेको भए सहज हुनेमा त्यसको नगरेको आरोप छ।
एन्फाले फिफाबाट आएको टिकट सहीछाप गराएर बेचेपछि उसले समन्वय नगर्दा आफूहरू अन्यायमा परेको विश्वकप हेर्न जान नपाएकाहरूको गुनासो छ।
धादिङ जिल्ला फुटबल संघका उपाध्यक्ष सुरेश तामाङ भन्छन्, ‘‘हामीले यत्रो खर्च गरेर पनि खेल हेर्न जान पाएनौँ। एन्फाले राम्रो सहजीकरण नगरेको जस्तो लाग्यो।’’
एन्फाबाट टिकट किनेका केहीलाई विमानस्थलबाट फर्काइएको जानकारी आएको एन्फाले जनाएको छ। विश्वकप हेर्न हिँडेका नेपालीलाई सिंगापुर ट्रान्जिटबाट पनि फर्काएको थाहा भएको एन्फाका प्रवक्ता सुरेश शाह बताउँछन्।
उनले भने, ‘‘केही मानिसहरू खेल हेर्न जाँदा विमानस्थल र ट्रान्जिटबाटै फर्काइए भन्ने सुनेको छौँ। एन्फाको केन्द्रीय कमिटीको जिम्मामा खेल हेरेपछि फर्किने शर्तमा बेचिएका थियो। यही कारण हो भन्ने खालको रिपोर्ट छैन। के भएको हो खोज्ने प्रयास भइरहेको छ । हाम्रो तर्फबाट गर्नुपर्ने सबै काम भएको थियो।’’ एन्फाले टिकेट बेचेका र नबेचेका ३ सयभन्दा बढीलाई भिसाका लागि सिफारिस गरेको थियो।
Facebook Comment
Comment