काठमाडौं । सरकारले सुन तस्करी प्रकरण छानबिनका लागि कुनै समिति नबनाउने बताएको छ ।
तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई जवाफ दिँदै सरकारले भनेको छ– सरकारले नै छानबिन गरिरहेको अवस्थामा छ । राजस्व अनुसन्धानजस्तो सरकारको शक्तिशाली विभागले अनुसन्धान अगाडि बढाइरहेको बेलामा फेरि अर्को अनुसन्धान समिति बनाउने कुराले यसलाई डाइभर्ट गरेर अनुसन्धान प्रभावकारी नहुन सक्छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले सुन तस्करीबारे सरकारले नै अनुसन्धान गर्ने प्रष्ट पारेकी हुन् ।
‘सुन प्रकरणको प्रधानमन्त्री कार्यालय अन्तर्गत राजस्व अनुसन्धान विभागले ठूलो मात्रामा तस्करीको सुन बरामद गरेको छ । त्यसमा अनुसन्धान प्रक्रिया अघि बढाएर केही व्यक्तिहरू पनि पक्राउ परिसकेका छन्’, उनले भनिन्, ‘अनुसन्धान प्रभावकारी ढंगबाट भइरहेको छ ।’
उनले सदन खुलाउने विषयमा प्रतिपक्षी दल एमालेसँग छलफल भइरहेको पनि बताइन् ।
Facebook Comment
Comment