काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा फ्रान्स र जमाइका नकआउट चरण मा पुगेका छन् ।
पनामा र ब्राजिलको यात्रा भने समाप्त भएको छ । सिड्नी फुटबल स्टेडियममा बुधबार भएको खेलमा फ्रान्सले पनामालाई ६–३ गोलअन्तरले पराजित गरेको हो ।
फ्रान्सको लागि काडिडियाटोउ डिएनीले ह्याट्रिक गोल गरिन् । साथै माइल लाकरर, लिया लि गारेस र भिकी बेचोले पनि फ्रान्सको लागि गोल गरे । पनामाको लागि भने मार्टा कोक्स, योमिरा पिन्जोन र लिनेथ सिडेनोले गोल फर्काए ।
खेलको दोस्रो मिनेटमा नै कोक्सले गोल गर्दै पनामालाई अग्रता दिलाइन्। २१ औँ मिनेटमा लाकररले फ्रान्सको लागि गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याइन् । २८औं मिनेटमा डिएनीले फ्रान्सको लागि दोस्रो गोल गरिन् ।
३७औं मिनेटमा डिएनीले फ्रान्सको लागि तेस्रो गोल गरिन् । यो उनको व्यक्तिगत दोस्रो गोल थियो। पहिलो हाफको इन्ज्यूरी समयमा गारेसले फ्रान्सको लागि चौथो गोल गरिन्। ५२औं मिनेटमा फ्रान्सले पाएको पेनाल्टीमा डिएनीले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन्। यससँगै खेल ५–१ मा पुग्यो।
खेलको ६४औं मिनेटमा पिन्जोनले पनामाको लागि दोस्रो गोल गरिन्। ८७ औं मिनेटमा सिडेनोले पनामाको लागि तेस्रो गोल गरिन्। इन्ज्यूरी समयमा बेचोले फ्रान्सको लागि छैटौँ गोल गरिन्।
यससँगै फ्रान्स समूह एफको विजेता हुँदै नकआउट चरणमा पुगेको छ भने लगातार तेस्रो पराजय भोगेको पनामा खेलबाट बाहिरिएको छ।
यस्तै, मेल्बर्न रेक्टयाङ्गुलर स्टेडियममा समूह एफको जमाइका र ब्राजिलबीचको अर्को खेल भने गोलरहित बराबरीमा सकियो। जमाइका र ब्राजिलले अंक बाडेका छन्। जमाइका उपविजेता बन्दै नकआउट चरणमा पुग्दा ब्राजिलको यत्रा भने सकिएको छ।
Facebook Comment
Comment