फिफा महिला विश्वकप

इङ्ल्यान्ड र डेनमार्क नकआउट चरणमा, चीन र हाइटीको यात्रा समाप्त

नेपालभ्युज

इङ्ल्यान्ड र डेनमार्क नकआउट चरणमा, चीन र हाइटीको यात्रा समाप्त
तस्वीरः फिफा वुमन्स वर्ल्ड कप/फेसबुक

काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा इङ्ल्यान्ड र डेनमार्कले नकआउट चरणमा स्थान पक्का गरेका छन्।

हिन्दमार्श स्टेडियममा मंगलबार भएको खेलमा इङ्ल्यान्डले चीनलाई ६–१ को फराकिलो गोलअन्तरमा पराजित गरेको हो। यससँगै इङ्ल्यान्ड समूह डीको विजेताको रुपमा नकआउट चरणमा पुगेको छ। चीन भने तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

इङ्ल्यान्डको लागि एलेसिया रुसो, लरेन हेम्प, लरेन जेम्स, क्लो केली र राहेल डेलीले गोल गरे। चीनको लागि श्वाङ वाङले गोल फर्काइन्।

खेलको चौथो मिनेटमा रुसोले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाइन्। २६ औँ मिनेटमा हेम्पले इङ्ल्यान्डको लागि दोस्रो गोल गरिन्। ४१ औँ मिनेटमा जेम्सले तेस्रो गोल गरिन्।

५७ औँ मिनेटमा चीनले पाएको पेनाल्टीमा वाङले चीनको लागि १ गोल फर्काइन्। ६५ औँ मिनेटमा जेम्सले इङ्ल्यान्डको लागि चौथो गोल गरिन्। यो उनको व्यक्तिगत दोस्रो गोल थियो। ७७ औँ मिनेटमा क्लोले इङ्ल्यान्डको लागि पाँचौँ गोल गरिन्। ८४ औँ मिनेटमा डेलीलले इङ्ल्यान्डको छैँटौँ गोल गरिन्।

यस्तै, समूह डीको अर्को खेलमा डेनमार्कले हाइटीलाई २-० गोलअन्तरले पराजित गर्‍यो। डेनमार्कको लागि पेर्निल हार्डर र सान्ने निल्सेनले गोल गरिन्।

यससँगै डेनमार्क समूह डीको उपविजेता हुँदै नकआउट चरणमा पुगेको छ। लगातार ३ खेलमा पराजित भएको हाइटी भने प्रतियोगिताबाट बाहिरिएको छ।

खेलको २१ औँ मिनेटमा हार्डरले पेनाल्टीमा डेनमार्कको लागि गोल गरिन्। इन्ज्यूरी समयमा निल्सेनले डेनमार्कको लागि दोस्रो गोल गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved