काठमाडौं। फिफा महिला विश्वकप फुटबलमा नाइजेरियाले अष्ट्रेलियामाथि जित हासिल गरेको छ । ब्रिस्बेन स्टेडियममा बिहीबार भएको खेलमा नाइजेरियाले अष्ट्रेलियालाई ३–२ गोलअन्तरले पराजित गरेको हो।
नाइजेरियाको लागि उचेना कानु, ओसिनाची ओहाले र एसीसाट ओसोएलाले गोल गरे। अष्ट्रेलियाको लागि भने इमिली भान एगमोन्ड र एलाना केनिडीले गोल गरे।
खेलको पहिलो हाफको इन्ज्यूरी समयमा एगमोन्डले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाइन्। सोही इन्ज्यूरी समयमा कानुले नाइजेरियाको लागि गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याइन् ।
६५ औँ मिनेटमा ओहालेले नाइजेरियाको लागि दोस्रो गोल गरिन्। ७२ औँ मिनेटमा ओसोएलाले नाइजेरियाको लागि तेस्रो गोल गरिन्। इन्ज्यूरी समयमा केनिडीले अष्ट्रेलियाको लागि दोस्रो गोल फर्काइन्।
यस जितसँगै नाइजेरिया २ खेलबाट १ मा जित र १ मा बराबरी गर्दै ४ अंकसहित समूह ‘बी’को अंक तालिकाको शीर्ष स्थामा रहेको छ। दोस्रो खेलमा पराजित भएको अष्ट्रेलिया भने ३ अंकसहित तेस्रो स्थानमा छ।
Facebook Comment
Comment