काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटका लक्ष्य पूरा गर्नेगरी नै मौद्रिक नीति आउने बताएका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले बजेटको सहयोगी हुनेगरी नै राष्ट्र बैंकको मौद्रिक नीति आउने बताएका हुन् ।
उनले बजेटले तय गरेको कार्यदिशा र राखेको लक्ष्यलाई समेट्ने गरी मौद्रिक नीति ल्याउने तयारी भइरहेको जानकारी दिए । बजेटले राखेको मूल्यको दर भित्र रहने गरी मौद्रिक नीति तर्जुमा गर्ने गरेको पनि उनको भनाइ छ ।
उनले समग्र मुलुकको आर्थिक अवस्था र अन्तर्राष्ट्रिय अवस्थालाई हेरेर मौद्रिक नीति तयार भइरहेको बताए ।
‘मौद्रिक नीति आगामी वर्षमा बजेटले लक्षित गरेको आर्थिक वृद्धिको लागि मुद्रा प्रदायकहरुलाई आवश्यक पर्ने तरलता प्रदान गर्ने मुख्य उद्देश्यले तयार हुँदैछ’, उनले भने, ‘राष्ट्र बैंकको मुख्य उद्देश्य नै मूल्य वृद्धि नियन्त्रण गर्ने, बाह्य क्षेत्रलाई स्थिरता कायम गर्ने र समग्र बैंकिङ स्थायित्व कायम गर्ने हो । यसैअनुसार नीति बन्नेछ ।’
उनले यस वर्ष ७ प्रतिशतसम्म मूल्यवृद्धि हुनसक्ने अनुमान पनि गरे ।
Facebook Comment
Comment