साउन महिनाको पहिलो साेमवार आज, शिवमन्दिरमा दर्शनार्थीको भिड

नेपालभ्युज

साउन महिनाको पहिलो साेमवार आज, शिवमन्दिरमा दर्शनार्थीको भिड

काठमाडौं । आज साउन महिनाको पहिलो सोमवार पशुपतिनाथ लगायत देशभरका शिवमन्दिरमा दर्शनार्थीको भिड लागेको छ ।

बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए । जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् त्यहीँ ढोकाबाट निस्कने गरी व्यवस्था मिलाइएको उनले बताए ।

सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास अर्थात् मलमास परेको छ । अधिकमास परेको बेला व्रत गर्ने कि नगर्ने भन्ने धेरैमा अन्योल छ । तर साउने सोमवारको व्रत नित्य हुने भएकाले अधिकमासले फरक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले साउनका सबै सोमवार व्रत बस्न उपयुक्त हुने बताउनु भएको छ । यस्तै, आज सोमवार औँसी पनि हो । सोमवार औँसी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ ।

साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved