यमुना नदीले अलिपुर बाँध भत्कायो, राजधानी नयाँ दिल्ली उच्च जोखिममा

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतवारसम्म स्कुल, कजेल र विश्वविद्यालय बन्द गरिएको जानकारी दिएका छन् ।

नेपालभ्युज

यमुना नदीले अलिपुर बाँध भत्कायो, राजधानी नयाँ दिल्ली उच्च जोखिममा

एजेन्सी। यमुना नदीको बाढीले भारतको राजधानी निकै प्रभावित बनेको छ।

अर्कोतर्फ राजधानीबाट अलि टाढा रहेको गाजियाबाद–बागपत सीमामा रहेको अलिपुर बाँध बिहीबार यमुनाको तीव्र बहावका कारण भत्किएको छ । यस तटबन्धमा ३० देखि ३५ मिटरसम्म क्षय भएको छ, जसलाई भर्ने प्रयास भइरहेको प्रशासनिक अधिकारीले बताएका छन् ।

बाँध फुट्दा हजारौं बिघा बाली डुबानमा परेपछि गाउँले र प्रशासनमा हलचल मच्चिएको छ । यो बाँध भत्किएपछि दिल्लीमा यमुनाको जलस्तर अझै बढ्ने खतरा छ । यो बाँध सन् १९७२ मा निर्माण गरिएको थियो।

बाँध भत्किएपछि नजिकैको सुभानपुर गाउँमा पानी पसेपछि हजारौं बिघा बाली डुबानमा परेको छ । यससँगै बागपत जिल्लामा पनि खतरा हुन थालेको छ । प्रशासनको टोली घटनास्थल पुगेर बाँधको मर्मत गर्ने काम गरिरहेको भएपनि मर्मतको काम भने पूरा हुन सकेको छैन ।

भारतको राजधानी नयाँ दिल्लीमा यमुना नदीको बाढीले ४५ वर्ष पुरानो रेकर्ड तोडेको छ । यमुना नदीको पानीको सतहले २ सय ८ दशमलव ६ मिटर नाघेको छ । यसअघि सन् १९७८ मा यमुनाको जलस्तर २ सय ७ दशमलव ४९ मिटर पुगेको थियो ।

अहिले दिल्लीका तल्लो क्षेत्र डुबानमा परेको र पानीको सतह बढ्ने क्रम जारी रह्यो भने आवासीय क्षेत्र पनि यसको प्रभावमा पर्न सक्ने बीबीसी हिन्दीले जनाएको छ । दिल्लीका सडक पानीले भरिएका छन् ।

बाढी र डुबानका कारण दिल्लीका विद्यालय र कलेज आइतवारसम्म बन्द गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतवारसम्म स्कुल, कजेल र विश्वविद्यालय बन्द गरिएको जानकारी दिएका छन् ।

यस्तै अत्यावश्यक सेवा दिने सरकारी कार्यालयबाहेक अन्य सबै सरकारी निकायका कर्मचारीलाई घरबाटै काम गर्न पनि मुख्यमन्त्री केजरीवालले निर्देशन दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved