काठमाडौं । तीन पाकिस्तानी खेलाडी सम्मिलित टिपटप हेल्प नेपाल र विभागीय टोली नेपाल पुलिस क्लब जारी सातौं प्रधानमन्त्री कप क्लब भलिबल लिगको पुरुषतर्फ फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीवार सम्पन्न खेलमा हेल्प नेपालले एपीएफमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै फाइनलको सम्भावना बलियो बनाएको हो ।
नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगिताको अर्को खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबमाथि ३-० को सोझो सेटमा जित निकाल्दै शीर्ष दुई स्थानमा रहेर फाइनल पुग्ने सम्भावना जीवन्त राखेको छ । एपीएफले पाँचौं सेटमा पोइन्ट जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भएको हो ।
यो सेटमा एपिएफले शुरुवातदेखि नै अग्रता लिँदै १४–११ को म्याच पोइन्टको अवसर पाए पनि जोगाउन सकेन । उक्त खेलमा हेल्प नेपालले एपिएफमाथि २७–२५, २५–१७, २१–२५, २३–२५ र १६–१४ ले हराउँदै पाँच खेल सकिँदा १३ अंकसहित शीर्ष स्थानमा ओगटेको छ ।
अर्को खेलमा पुलिसले आर्मीमाथि २५–२१, २८–२६ र २५–१४ को सोझो सेटमा हराउँदै रवाफिलो जित निकाल्यो । यो जितसँगै पाँच खेलबाट पुलिस १२ अंकसहित दोस्रो स्थानमा उक्लियो ।
यता, आर्मी पुलिससँग सोझो सेटमा हारपछि दबाबमा परेको छ । आर्मीको पाँच खेलबाट ११ अंक छ । एपिएफको पनि पाँच खेलबाट ११ अंक छ ।
शीर्ष चार स्थानमा रहेका टोली हेल्प नेपाल, पुलिस, आर्मी र एपिएफको शीर्ष दुई स्थानमा रहँदै फाइनलमा पुग्ने सम्भावना कायमै छ ।
शुक्रबार पुलिसले एपिएफ तथा आर्मीले टिपटप हेल्प नेपाल क्लवसँग प्रतिष्पर्धा गर्नेछ । यी दुई खेलमा जित निकाल्ने दुई टोली फाइनलमा पुग्नेछन् । प्रतियोगिताको महिलातर्फ खेलमा भने आर्मी र एपीएफले जित निकाले ।
आर्मीले एक पक्षिय खेलमा एभरेष्ट भलिबल क्लबलाई २५–१२, २५–१९, २५–१९ ले पराजित गर्यो । यस्तै अर्को खेलमा एपिएफले न्यु डायमण्डलाई २५–१९, २५–१८, २५–१२ ले पराजित गर्यो ।
६ टोली सम्मिलित महिलातर्फ पुलिसको चार खेलबाट १२ अंक, एपिएफको पाँच खेलबाट ११ अंक, न्यु डायमण्ड चार खेलबाट ८ अंक, आर्मीको चार खेलबाट ५ अंक, गण्डकी चार खेलबाट तीन अंक र एभरेष्ट पाँच खेलबाट अंकविहीन छ । महिलामा अंकका आधारमा पुलिस फाइनलमा प्रवेश गरेको छ ।
Facebook Comment
Comment