प्रचण्डको स्पष्टीकरण- पुस्तक विमोचनमा प्रधानमन्त्री बनेर होइन, ज्ञानुको बुवा बनेर बोलेँ (पूर्णपाठ)

नेपालभ्युज

प्रचण्डको स्पष्टीकरण- पुस्तक विमोचनमा प्रधानमन्त्री बनेर होइन, ज्ञानुको बुवा बनेर बोलेँ (पूर्णपाठ)

२०६९ सालतिर मेरी छोरी ज्ञानु क्यान्सरबाट ग्रसित बनेपछि  उसको भाइ मेरो छोरा प्रकाशले दिल्ली लिएर गयो । त्यसपछि त्यहाँ के-कसरी रहने भन्दाखेरि सरदार प्रीतम सिंहले ‘दिल्लीमा मेरो घर छ, त्यहीँ राखेर गर्दा हुन्छ, स्याहार-सुसार गर्न पनि सजिलो हुन्छ’ भनेर भन्नुभयो । त्यसपछि त्यही गरियो । पछि म गएँ र प्रीतम सिंहसँग भेट भयो । त्यसबेला उहाँले ‘नेपालमा प्रधानमन्त्री त तपाईं नै हुनुपर्छ’ भनेर प्रसङ्ग उठाउनुभयो । उहाँले भनेर म हुनेवाला पनि थिइनँ । तर, उहाँले ‘यो परिवर्तन ल्याउने पनि तपाईं हो, तपाईं नै प्रधानमन्त्री हुँदा राम्रो हुन्छ’ भनेर भन्नुभयो । मेरो कुनै अुनरोध पनि थिएन । तर, उहाँले सदासयता व्यक्त गरेर त्यसो भन्नुभयो । त्यसबेला राजनीतिक होइन, पारिवारिक वातावरणमा त्यो कुरा भएको थियो । मैले धन्यवाद भनेँ । यो कुरा भयो ११ वर्षअघिको ।

अब म पुस्तक विमोचनतिर आउँछु । विमोचनको क्रममा उहाँले यातायात क्षेत्रमा उहाँले गरेको/पुर्‍याएको योगदानको कुरा उठ्यो । यहाँ सबै मान्यज्यूहरूलाई थाहा छ, उहाँले यातायात क्षेत्रमा योगदान गर्नुभएको हो । त्यसबेला मैले प्रीतम सिंहले यातायात क्षेत्रमा मात्रै होइन, राजनीतिमा रुचि राख्नुहुन्छ भनेर बोलेको थिएँ । त्यसबेला म २०६९ तिर फर्किएँ । भावुक बनेँ । मैले त्यसबेला दिल्लीमा प्रीतम सिंह बसेर त्यसो भनिरहेको सम्झिएँ, उनी बसेको कुर्सी सम्झिएँ । मेरी छोरी ज्ञानु सुतेकी बेड पनि सम्झिएँ । म अलिकति भावनामा बग्छु, बगेँ । यही भयो त प्रचण्ड, के गर्नुहुन्छ ? मैले त्यो कुरा नभन्दा पनि हुन्थ्यो । तर, तर मैले भावनात्मकरूपमा भनिहालेँ । तर, मैले नभन्दा पनि हुन्थ्यो ।

म त्यो दिन प्रधानमन्त्री भएर बोलिनँ । ज्ञानुको बुवा भनेर बोलेँ । प्रीतम सिंहको सहयोगप्रति बोलेँ । तर, के यत्तिले नै हिजो लडेको सकियो ? त्यत्रो सङ्घर्ष सकियो ? हिजो नाकाबन्दी हुँदा लिएको कदमहरू, गरेको काम र लडेको लडाइँ सकियो ? त्यही एउटा भावनात्मक अभिव्यक्तिले यी कुराहरूलाई सकायो ? तपाईंहरूलाई थाहा छ । मेरा बेला-बेलाका बोलीहरू अदालतसम्म पनि पुगे । तर, हृदय छानेर इमान्दारीपूर्वक भन्दाखेरि प्रचण्डले कुन प्रसङ्गमा कुन हिसाबले भन्यो होला, त्यो पनि त हेर्नुपर्छ होला ।

सदनमा प्रचण्डको प्रष्टीकरण- म सेन्टिमेन्टल भएँ हुँला, तर केही बिगारेको छैन

प्रीतम सिंह कुनै शक्तिकेन्द्र होइन, उनले प्रधानमन्त्री बनाउने वा हटाउने मान्छे होइन । उनले आफैँले पनि हैसियत के छ र भनेका छन् । उनीसँग कुनै ‘कृतज्ञ बाबु’को सम्बन्ध हो मेरो । उनीसँग कुनैखाले राजनीतिक सम्बन्ध होइन, छैन । निजीजस्तै सार्वजनिक कार्यक्रममा पनि म मनले बोल्छु । हुन त मनले भन्दा पनि विवेकले बोल्नुपर्ने हो एउटा प्रधानमन्त्रीजस्तो मान्छे । तर, मेरो सोत्तोभित्र नै त्यही छ, म मन र दिमाग दुवैले बोल्छु । दिमाग अगाडि हुँदा विज्ञान हावी हुन्छ, मनले बोल्दा भावनाहरू अगाडि आउँछन् । मसँग सैद्धान्तिक ज्ञान नभएको पनि होइन । तर, बोल्दै जाँदा त्यही आउँछ त, के गर्नू ?

तर, यो बदल्नुपर्छ भन्ने मलाई लागेकै छ । तर, यो बदल्ने भन्ने कुरा फलामको चिउरा हुँदोरहेछ अहिले आएर । किनकी ६९/७० भइयो । मलाई थाहा छ, यो भावकुताले काम दिँदैन । दिँदैन दिँदैन । तर, बोल्दाबोल्दै म अन्तर्मनको आवाजतिर फर्किहाल्दोरहेछु । यो भावुकताका लागि आत्मसमीक्षा गर्छु, भविष्यमा यहाँ चलेको बहसले सतर्क गर्छ भन्ने लागेकै छ । यस अर्थमा म प्रतिपक्षलाई पनि धन्यवाद भन्न चाहन्छु ।

पुस्तक विमोचनका क्रममा मैले व्यक्त गरेको भाषाबाट पर्न गएको असहजताप्रति म दु:ख व्यक्त गर्न चाहन्छु । मेरो मनसाय कसैप्रति अनादर गर्ने वा कसैप्रति आरोप-प्रत्यरोप गर्ने छैन । नहुँदानहुँदै पनि यसअघिका कतिपय टिप्पणी/वक्तव्यहरूमा देखिएका त्यस्ता भावहरूप्रति म दु:ख व्यक्त गर्दछु ।  

प्रधानमन्त्री प्रचण्डको स्पष्टीकरण भाषणको सम्पादित अंश ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved