एजेन्सी। शरीरसँगै अनुहारको पनि मसाज गर्न एकदमै जरुरी हुन्छ । मात्र ५ मिनेट अनुहारको मसाज गर्नाले तपाईंको अनुहारको बोसो कम हुनुका साथै अनुहारमा निखार पनि बढ्दै जान्छ ।
अनुहारको मालिस गर्नका लागि सबैभन्दा पहिला तपाईं अनुहारको मेकअप तथा फोहोरलाई निकाल्नुपर्ने हुन्छ । त्यसपछि छालाको प्रकृति अनुसार क्लींन्जर लगाएर अनुहारलाई राम्रोसँग डिप क्लिन गर्ने ।
त्यसपछि अनुहारमा केहीबेर बाफ लिनुहोस् । तातो पानीमा पुदिना वा तुलसीको पातहरू वा एसेन्सियल तेल राखेर बाफ लिन सकिन्छ । बाफ लिँदा पोर्सहरू खुल्छन् र अनुहारमा लगाउने क्रिम राम्रोसँग अवशोषित हुन सहयोग हुन्छ ।
अब तपाईंको छालाको प्रकृति अनुसार मोइस्चराइजर वा सिरम हातमा लिएर अनुहारमा लगाउनुहोस् । ध्यान दिनुहोस् अनुहारको मालिस गर्नका लागि धेरै सामग्री नलिनुहोला ।
अनुहारमा मसाज गर्नका लागि तपाईं मह, एलोभेरा, गुलाब जल, काँक्राको रस, जैतुनको तेल, नरिवलको तेलको प्रयोग गर्न सक्नुहुन्छ । मालिस गर्नका लागि औंलाहरूको सहयोगले हल्कासँग दबाउँदै आँखीभौंको माथि, गाला, चिन, घाँटीसँगै पूरै अनुहारमा मसाज गर्नुहोस् । मसाज सधैं तलबाट माथिको दिशामा गर्नुपर्दछ । साथमा घडी घुमेजसरी सुल्टो र उल्टो दुवै तरिकाले पनि गर्नुपर्दछ ।
अनुहार मसाज गर्दा धेरै भन्दा धेरै फाइदाहरू प्राप्त गर्न सकिन्छ । अनुहारको मसाजले तनावबाट छुट्कारा पाउन सकिन्छ । त्यस्तै, अनुहारमा प्राकृतिक चमक बढ्दै जान्छ । साथमा उमेरसँगै देखिने समस्याहरू पनि देखिँदैनन् । अनुहारमा मसाज गर्नाले अनुहारको रक्तसञ्चार राम्रो हुन्छ जसले गर्दा अनुहारमा चमक आउँछ ।
Facebook Comment
Comment