काठमाडौं । नेदरल्यान्ड्सले आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्टइन्डिजविरुद्ध ऐतिहासिक जित निकालेको छ ।
पटकपटक विश्वकप विजेता बनेको वेस्टइन्डिजलाई नेदरल्यान्ड्सले सुपर ओभरमा पराजित गरेको हो । नेदरल्यान्ड्सको जितमा अलराउन्डर लोगन भान विक नायक बने ।
वेस्टइन्डिजलाई पहिलो पटक हराउँदै इतिहास रच्नेक्रममा सुपर ओभरमा वेस्टइन्डिजलाई जितको लागि ३१ रन जोड्नुपर्ने थियो । भान बिक लोगनलाई पहिलो बलमै जोनसन चार्ल्सले छक्का प्रहार गरे पनि दोस्रो र तेस्रो बलमा केवल एक/एक रन दिए ।
चौथो बलमा चार्ल्स क्याच आउट भएसँगै वेस्टइन्डिजको जितको सम्भावना सकिएको थियो । पाँचौं बलमा शेफर्ड पनि क्याच आउट भए ।
सुपर ओभरमा नेदरल्यान्ड्सका लागि भान विकले ३० रन जोडेका थिए । यसका लागि उनले जेसन होल्डरलाई ६ बलमा तीन छक्का र तीन चौका हिर्काए ।
३७५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेट गुमाउँदै ३७४ रन बनाएपछि खेल सुपरओभरमा प्रवेश गरेको थियो । इतिहास रच्नेक्रममा नेदरल्यान्ड्सले ओडीआईमा अहिलेसम्मकै सर्वाधिक रन जोडेको हो ।
Facebook Comment
Comment