काठमाडौं। आईसीसी एकदिवसीय क्रिकेट विश्वकप क्वालिफायरमा नेपाललाई पराजित गर्दै नेदरल्यान्ड्स सुपर सिक्समा पुगेको छ। टाकासिङ्गा स्पोर्ट्स क्लबमा शनिबार सुपर सिक्सको लागि भएको निर्णायक खेलमा नेदरल्यान्ड्सले नेपाललाई ७ विकेटले पराजित गरेको हो।
यससँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना समाप्त भएको छ। नेपाल समूह चरणबाट बाहिरिएको छ। नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालको ब्याटिङ र बलिङ रणनीति असफल बन्यो।
१६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। नेदरल्यान्ड्सको लागि म्याक्स ओ’ डाउडले ९० रन जोड्दा बस दे लिदेले ४१ रनमा अविजित रहे। नेपालको लागि सन्दीप लामिछानेले २ र गुल्सन झाले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपाल ४४.३ ओभरमा १६७ रनमा अलआउट भयो। नेपालको लागि कप्तान रोहित कुमार पौडेलले ३३ र सन्दीप लामिछानेले २७ रन बनाए।
कुशल भुर्तेलले २७, भीम सार्कीले २२, गुल्सन झाले १५, दीपेन्द्र सिंह ऐरीले १४ र कुशल मल्लले १२ रन जोडे। नेदरल्यान्ड्सको लागि लोगान भान बिकले ४ विकेट लिए।
क्वालिफायरको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग ६ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो। वेस्ट इन्डिजसँग भएको तेस्रो खेलमा नेपाल १०१ रनले पराजित भयो।
Facebook Comment
Comment