जनशक्ति नहुँदा एक्सरे सेवा बन्द, बिरामी मर्कामा

नेपालभ्युज

जनशक्ति नहुँदा एक्सरे सेवा बन्द, बिरामी मर्कामा

बैतडी। बैतडीको तल्लोस्वराड क्षेत्रको ‘रेफरल सेन्टर’ को रूपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा बन्द गरिएको छ । जनशक्ति अभाव रहेकोले एक्सरे सेवा बन्द गर्नुपरेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत सञ्जिन केसीले जानकारी दिएका छन् ।

एक्सरे सेवा बन्द गरिएको बारे मेलौली नगरपालिकालाई जानकारी गराइसकिएको उनले बताए । यसअघि, एक्सरे मेसिन पारामेडिक्सले सञ्चालन गरेको भए पनि पारामेडिक्सलाई योसम्बन्धी पूर्ण ज्ञान नहुँदा एक्सरे सेवा बन्द गर्नुपरेको हो । उनले भने, ‘पहिले प्यारामेडिक्सले जसोतसो एक्सरे सेवा दिइरहेका थियौं। तर, एक्सरे मेसिनसम्बन्धी उहाँहरूलाई पूर्ण ज्ञान छैन। योसम्बन्धी ज्ञान नहुँदा यसले झन् स्वास्थ्यलाई हानी पुर्‍याउँछ । यसैले दक्ष जनशक्ति पदपूर्ति नहुँदासम्म सोमबारदेखि सेवा बन्द गर्न बाध्य भएका हौँ ।’

स्वास्थ्यको दृष्टिकोणले दक्षजनशक्ति बिना एक्सरे सेवा असुरक्षित रहेको र स्वास्थ्यलाई हानी गर्ने उनले बताए । उनले भने, ‘एक्सरे मेसिनसम्बन्धी ज्ञान नभई सेवा दिँदा बिरामीलाई झन खतरा हुनजान्छ, एक्सरे मेसिन सञ्चालनका लागि रेडियो ग्राफर चाहिन्छ,रेडियो ग्राफरको पदपूर्ति नहुँदासम्म सेवा बन्द रहन्छ ।’

स्वास्थ्य केन्द्रमा जनशक्ति नहुँदा एक्सरे सेवा बन्द भएकोबारे स्वास्थ्य संस्था हेर्ने जिम्मा पाएको मेलौली नगरपालिका जानकारी गराइएको भए पनि कुनै सुनुवाइ नभएको आरोप लागेको छ । जनशक्ति पदपूर्तिका लागि नगरपालिकालाई पटक-पटक आग्रह गर्दा पनि स्वास्थ्य जस्तो संवेदनशील ठाउँलाई कुनै चासो नदिएको डा. केसीको भनाइ छ।

मेलौली नगरपालिकाका स्वास्थ्य शाखा संयोजक नारायण चन्दले भने नयाँ आर्थिक वर्षको बजेटमा जनशक्ति थप्ने तयारी भएको बताए । उनले भने, ‘एक्सरे सेवा बन्द रहेकोबारे जानकारी प्राप्त भएको छ । तत्काल केही गर्न सकिने अवस्था देखिँदैन, नयाँ आवमा जनशक्ति थपेर स्वास्थ्य सेवालाई सहज बनाउँछौंँ ।’

एक्सरे मेसिन बन्द हुँदा चोटपटक लागेका बिरामीलाई अन्यत्र जान बाध्य भएका छन् । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बिमा कार्यक्रमको समेत सूचीकृत स्वास्थ्य संस्था भएकाले बिमा गरेका नागरिकलाई समेत समस्या हुने गरेको छ । स्वास्थ्य केन्द्रमा दैनिक ५-६ एक्सरे गर्नका लागि आउने गरेका भए पनि बिरामी सदरमुकाम, पाटन, डडेल्धुरा जान बाध्य भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved