ओली भन्छन्- ‘कोशीविरुद्धको आन्दोलनमा प्रचण्डको प्रत्यक्ष संलग्नता छ, एमालेले दनक दिन्छ’ 

नेपालभ्युज

ओली भन्छन्- ‘कोशीविरुद्धको आन्दोलनमा प्रचण्डको प्रत्यक्ष संलग्नता छ, एमालेले दनक दिन्छ’ 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशविरुद्धको आन्दोलनमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रत्यक्ष संलग्नता रहेको दाबी गरेका छन् । बिहीबार विभिन्न दलबाट आएका नेताहरूलाई पार्टीमा स्वागत गर्ने क्रममा ओलीले यस्तो बताएका हुन् । “भड्काउन र बिथोल्न खोजिएको छ । यसमा प्रचण्डहरूको प्रत्यक्ष संलग्नता देखियो,” उनले भनेका छन् ।

ओलीले प्रचण्ड फाटोवादी रहेकोसमेत बताए । “प्रचण्ड भनेको एक छिनमा पहिचानवादी, एकछिनमा राष्ट्रियतावादी हो । एकछिनमा फाटोवादी, एकछिनमा तमासा,” उनले भने । उनले थपे, “एमालेले तयारीका साथ दनक दिनुपर्ने बेला आएको छ । एमाले चुप लागेर बस्न सक्दैन ।”

उनले प्रदेश नामकरण खारेजको नाममा ‘एमाले निषेध’ कार्यक्रम चलाइएको आरोप लगाएका छन् । “पहिचानका नाममा एउटै मानिसहरू बाइक लिएर पुग्ने गरेका छन् हरेक ठाउँमा । कार्यक्रम गर्न नपाउने, केपी ओली निषेध, एमाले निषेध के के निषेध, अहिले प्रदेश नम्बर १ मा सत्ता संरक्षित, अपराधिक घटनाहरू भइरहेका छन्,” उनले भनेका छन् ।

एमालेका प्रदेश सभा सदस्यहरूलाई भएको आक्रमणको सन्दर्भ झिक्दै उनले मोबिल छर्किएर आगो लगाउन खोजिएको आरोप लगाएका छन् । “आजमात्रै केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य राम रानालाई मोबिल छर्किएर आगो लगाउन खोजियो, भनेपछि कहाँसम्मको हत्या प्रयास भइरहेको छ पहिचानका नाममा । यसमा हाम्रो पार्टी किञ्चित, डराउँदैन, झुक्दैन, नो कम्परमाइज,” उनले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved