नेपालमा अन्डरएज बक्सिङको प्रचुर सम्भावना छ : म्याक्स बस्नेत (भिडियोसहित)

भारतमा नेपाली बक्सरप्रति भएको राम्रो छविको सदुपयोग गर्नुपर्छ। भारतसँग सहकार्य गरेर प्रायोजन ल्याउन सके पक्कै पनि नेपाली बक्सिङको तीव्र विकास गर्न सकिन्छ।

नेपालमा अन्डरएज बक्सिङको प्रचुर सम्भावना छ : म्याक्स बस्नेत (भिडियोसहित)

काठमाडौं। १४ पटक राष्ट्रिय बक्सिङ च्याम्पियन, २ पटक महाराष्ट्र च्याम्प, विश्व बक्सिङ संघको दक्षिण एसियाको प्रतिनिधिसमेत भइसकेका मनोहर ‘म्याक्स’ बस्नेत अहिले अगामी जुलाईमा बेलायतमा हुने एक फाइटको तयारीमा व्यस्त छन्।

केही महिनाअगाडि ‘बक्स फर मिल’ को थालनी गरेका म्याक्स आफ्नो दैनिक प्रशिक्षणपश्चात् साना बालबालिकालाई बक्सिङको निःशुल्क प्रशिक्षण दिने गर्दछन्।

पछिल्लो समय कसरी बक्सिङमा आफूलाई सुधार्ने, बक्सिङको नेपालमा कसरी विकास गर्ने र युवा पुस्तालाई यस खेलप्रति कसरी आकर्षित गर्ने भन्ने विषयमा नै उनको ध्यान केन्द्रित छ।यसै सन्दर्भमा आफ्नो अनुभवसँगै नेपालमा व्यावसायिक बक्सिङ र ‘अन्डर एज’ बक्सिङको अवस्था, सम्भावना र चुनौतीमा म्याक्सले प्रकाश छर्ने प्रयत्न गरेका छन्।

अन्डरऐज बक्सिङमा योगदान

अहिले पूर्णरूपमा बक्सिङ खेलाडीको भूमिकामा अघि बढिरहेको छु। तथापि, अन्डर ऐज बक्सिङमा पनि थोरबहुत योगदान गरिरहेको छु। मूलतः अन्डरऐज जस्तै करिब १० वर्षभन्दा कम उमेर भएका बालबालिकालाई नै प्रशिक्षण गराएर अघि बढिरहेको छु। सडक बालबालिका गलत बाटोमा नलागून र कुलतमा न फसुन भन्ने नै सोचाइले बक्सिङको ज्ञान दिने अघि बढिरहेको छु। उनीहरूको त्यो जोश र जाँगरलाई बक्सिङमार्फत सदुपयोग गर्न सकियोस् भन्ने नै सोचाइ लिएर अघि बढिरहेको छु। यस्ता बालबालिका आपराधिक कार्यमा सङ्लग्न हुनुभन्दा समाजमा बक्सरको रूपमा स्थापित भएर अघि बढ्नु सकून् भन्ने मेरो मनसाय रहेको छ।

अन्डर एज तालिमको सुरुवात

एक विश्व च्याम्पियनले मलाई भनेका थिए। हाम्रो जस्तो देशमा बक्सिङ फस्टाउँछ। फलस्वरूप अन्डर ऐज बक्सिङमा पनि केहि गर्ने सोचाइ आयो। बक्सिङ भनेको ‘पोर म्यान स्पोर्ट्स’ अर्थात् गरिबहरूले खेल्ने खेल हो। यसमा सङ्कलन खेलाडी खानाको लागि बाँच्नको लागि सङ्घर्ष गरी अघि बढिरहेका हुन्छन्।

काठमाडौं उपत्यकाबाहिर यस्तै समान अवस्थामा थ्रप्रै बालबालिकाहरू भएको महशुस पनि गरेको छु। जसले आफ्नो जीवनलाई बक्सिङमार्फत सुधार्न सक्छन्। भष्यिमा देशको लागि केही गर्न सक्छन्। सोही क्रममा साथी सागर थापासँग कुरा भयो। उनले ‘बक्स फर मिल’ अभियान सुरु गर्ने सुझाव दिए। सुझाव राम्रो लागे सँगै अन्डर एज बक्सिङमा केही योगदान गर्न सुरु गरे।

आफ्नै तालिमको क्रममा विभिन्न ठाउँमा अभ्यास गर्दै गर्दा, बाटोमा खेलिरहेका बालबालिका पनि झुम्मिन्थे। आफ्नो ब्यागमा झुण्ड्याएको ग्लभ्स दिएर उनीहरूलाई भिडाउँथे। उनीहरू पनि रमाउँथे। यही क्रममा ‘भोलि पनि सिक्न आम’ भन्न थाले। एकपछि अर्को बच्चाहरू थपिँदै गए। बक्स फर मिलले आफ्नो स्वरुप पाउँदै गयो। साथीभाइको साथ र सहयोगले यसले निरन्तरता पाउँदै गयो।

श्री महेन्द्र आदर्श माध्यमिक विद्यालयको बच्चाहरूलाई करिब ४ महिनाजति प्रशिक्षण दिए। त्यो सङ्ख्या बढेर ५० पनि पुग्यो। त्यहिबाट एकदमै राम्रो खेल्ने ५ जना यहाँ सातदोबाटोमा नियमित आइरहेका छन्। अहिले १४ वर्षको उमेरमा देखाएको आशालाई निरन्तरता दिन सके पक्कै पनि भविष्यमा नेपालको प्रतिनिधित्व गर्ने छन्।

निःशुल्क तालिमको चुनौती


मनमा कसैको लागि केही गरम् भन्ने भावना आएपछि पैसाले नरोक्ने रहेछ। सहयोगी हातहरू आफैँ जोडिँदै आउने रहेछन्। तर. सहयोग कतिसम्म पाइन्छ, आफूले कतिसम्म गर्न सकिन्छ भन्ने पनि पक्ष हुँदोरहेछ। निःशुल्क सिकाउनु, मलाई पनि सहज भने पक्कै छैन। यसलाई मैले खुसीको रूपमा लिएको छु। ‘आऊ, खेल र सिक’ भन्दैँ बालबालिकालाई सिकाइरहेको छु।

यही क्रममा बालबालिकाले राम्रै गर्दै गएपछि । बक्सिङमा भविष्य देख्न थालेपछि प्रशिक्षणलाई गुणस्तर वृद्धि गर्ने अवसर पनि जुट्ने सम्भावना छ। यस्तै, जसको आर्थिक अवस्था कमजोर नै छ, उसलाई त सदा तालिम निःशुल्क नै हुनेछ। तर, सक्ने वालाहरू तालिममा जोडिएर आर्थिक सहयोग गरिदिए, पक्कै पनि त्यसले सहज वातावरण निर्माण गर्नेछ।

यसले भविष्यमा भौतिक पूर्वाधारलाई बलियो बनाएर प्रशिक्षण गराउने बाटो खुल्छ भन्ने पनि विश्वास राखेको छु। तथापि, अहिलेलाई आफूसँग भएको ज्ञानलाई बढ्न सकौँ। आफू पनि विकास हुन सकौँ भनेर नै अगाडि बढिरहेको छु।

पोषणयुक्त खानेकुरा

‘न्युट्रिसन’ व्यवसायिक बक्सिङ सुरुवात गरेपश्चात् निकै आवश्यक हुन्छ। तथापि, अन्डर एज बक्सिङको अवस्थामा घरमा बनेको पोषणयुक्त खाना मात्र पनि पर्याप्त हुन्छ। दूध, दही, भिटामिनयुक्त खानाहरूलाई निरन्तर दिन भनेको छु। नेपाली खान पिनको शैली आफैँमा पनि पोषणयुक्त छ। जङ्क फुडचाँहि नखान आग्रह गर्छु।

अहिलेको अभिभावकहरू पनि निकै सचेत भइसकेका छन्। उनीहरूले पनि बालबालिकाको विकासको लागि पोषयुक्त खानेकुराहरू समावेश गरेको पनि अनुभूति गरिरहेको छु। यो अवस्थामा यति नै मात्र पनि पर्याप्त हुनेछ।

नेपाली बक्सरहरूमा भएको क्षमता

नेपाली बक्सरहरू क्षमतावान् छन्। केवल उनीहरूलाई मार्गदर्शन गर्न आवश्यक छ। खेलाडीहरूलाई ‘एक्सपोजर’ दिनलाई बक्सिङको अभिभावक संस्था नेपाल बक्सिङ संघ र नेपाली खेलकुदको अभिभावक संस्था नेपाल खेलकुद परिषद् अघि सर्नुपर्छ जस्तो लाग्छ। खेलाडीको अवस्था, चाहना र आवश्यकतालाई बुझ्नुपर्ने हुन्छ।

नेपालमा प्रजातन्को स्थापनापछि आएको खेलले पार्नुपर्ने प्रभाव पार्न नसकेको जस्तो महशुस हुन्छ। बक्सिङ विकासको लागि बनाउने पर्ने योजनाहरूको आवश्यकता छ। बक्सिङलाई अझैँ बुझाउनुपर्ने पनि अवश्यकता देखिन्छ। समय लाग्छ। एकैचोटि हुँदैन। तर, आगामी बक्सरहरूको लागि भविष्य भने उज्ज्वल छ।

व्यावसायिक बक्सिङ

एमेच्यर बक्सिङजस्तै व्यावसायिक बक्सिङ पनि देशको लागि नै खेल्ने हो। व्यावसायिक बक्सिङमा यो हो कि देशको लागि खेल्दा पनि आर्थिकरूपले आफू बलियो हुनु सकिन्छ। एमेच्यर बक्सिङ खेल्दा फाइनलमा पुगेरमा उत्कृष्ट ३ मा परेर पदक र पुरस्कार राशि जितिन्छ। व्यवसायिक बक्सिङमा हरेक खेल खेले बापतको आर्थिक सहयोग हुन्छ।

विस्तारै नेपालले पनि यसको पनि सुरुवात भएको छ। यसलाई निरन्तरता दिन सके, युवा खेलाडीहरूको लागि थप अवसरको ढोका खुल्न छ। म त्यो बेलासम्म भएपनि नभए पनि बक्सिङले पाउनुपर्ने माया र दिनुपर्ने अवसर भने पक्कै पाउनुपर्छ। बक्सिङलाई ब्रान्डको रूपमा स्थापित गराउनुपर्छ। यसको लागि नेपाल बक्सिङ संघले पनि बक्सिङलाई घर-घरमा पुर्‍याउन प्रभावकारी नितिको पनि निर्माण गर्नु आवश्यक हुन्छ।

भारतमा व्यावसायिक बक्सिङको अनुभव

त्यतिबेला बक्सिङमा गम्भीर भएर लागेको पनि थिइनँ। साथीभाइको सङ्गतमा रमाइलोको लागि खेल्थें। त्यो बेला रेस्लिङ पनि खेल्थे। तर, जीवनमा विभिन्न परिस्थितिहरू आए। कठिन परीक्षाको समय आयो। एमेच्यर बक्सिङमा धेरै कठिन चुनौती आएपछि निर्णय लिनुपर्ने भयो। एउटा ढोका बन्द भयो। अर्को ढोका खुल्यो भनेझैँ मेरो लागि व्यावसायिक बक्सिङको ढोका खुल्यो।

पहिलो अन्तर्राष्ट्रिय खेल सुपर बक्सिङ लिग खेले। भगवानको कृपाले निकै राम्रो अनुभव भयो त्यो। विस्तारै थप अनुभव बटुल्दै गए। त्यति बेला क्रिकेटले विश्वमा चिनेको भारतमा बक्सिङ बामे सर्दै थियो। यसले सिक्नको लागि पर्याप्त समय दियो। कसरी अघि बढ्न सकिन्छ भन्ने पनि मार्गदर्शन गर्योे। फलस्वरुप करिब १२ वर्ष भयो निरन्तर लागिरहेको छु। अहिले आफू बक्सिङका लागि नै जन्मेको महशुस भइरहेको छ।

भारतीय बक्सर विजेन्द्र सिंहसँगको मित्रता


विजेन्द्र च्याम्पियन हुनुहुन्छ। मनले पनि त्यति नै राम्रो। शालीन, भद्र हुनुहुन्छ। बक्सिङ सिक्दै गर्दा विजेन्दरसँग पनि मित्रताको अवसर प्राप्त भयो। सन् २०१० मा नै बक्सिङमा मिलेर केही गर्ने योजना पनि थियो। तर, परिस्थिति त्यस्तै बन्यो, चाहेर पनि योजनाअनुरूप अगाडि बढ्न सकिएन।

उहाँ फाइटमा व्यस्त हुनुहुन्थ्यो। म आफ्नै सङघर्षमा अल्झिरहेको थिए। पहिलो दिनदेखि नै बन्डिङ राम्रो भएको थियो। अहिले अलिक मजाले कुरा हुनु पाएको छैन। उहाँ भारतीय राजनीतिमा व्यस्त हुनुहुन्छ, म नेपालमा। यद्यपि, भविष्यमा मिलेर बक्सिङको वातावरण बनाउनको लागि भने पक्कै पनि सहकार्य गर्ने योजनमा नै छौँ।

भारतमा नेपाली खेलाडीप्रतिको दृष्टिकोण

नेपाली बक्सरको तुलनामा भारतीय बक्सरहरूलाई हेर्दा प्राविधिक रूपमा निकै सबल हुन्छन्। साथै, पन्च पनि निकै खप्न सक्ने हुन्छन्। नेपाली फाइटरहरूलाई पनि भारतमा सम्मान छ। त्यो छविचाँहि मैले होइन, हामीभन्दा अघिल्लो पुस्ताले बनाएको हो। ए लेभल बी लेभलमा खेल्ने धेरै अनुभवी बक्सरहरू भारतमा छन्।

बक्सरको आँटको प्रशंसामा हुन्छ। खेल्छ है भन्ने हुन्छ। अवसर पनि पर्याप्त हुन्छ। राम्रो प्रस्तुति गर्छ भन्ने छवि बन्यो भने त्यहि अनुसारको अवसरहरू आइरहन्छन्। भारतमा नेपाली बक्सरप्रति भएको राम्रो छविको सदुपयोग गर्नुपर्छ। भारतसँग सहकार्य गरेर प्रायोजन ल्याउन सक्यौँ भने पक्कै पनि नेपाली बक्सिङको तीव्र विकास गर्न सकिन्छ।

नेपाली बक्सिङमा भारतीय लगानीकर्ता आकर्षित गर्ने सम्भावना

अलिक कठिन छ। अहिलेको अवस्था हेर्ने हो भने। हामी पर्ख र हेरको अवस्थामा छौँ। आर्थिक मन्दीको अवस्थामा सुधार आएपछि हाम्रो बक्सरलाई एक्सपोजर दिन सक्यौँ भने पक्कै पनि लगानीकर्ताहरूलाई आकर्षित गर्नसक्ने सम्भावना छ।

प्रायोजनको सङ्घर्ष

बक्सिङमा प्रायोजन ल्याउन सङ्घर्ष नै हुन्छ। मैले प्रायोजनको लागि पछिल्लो केही दिनमा धेरैलाई प्रस्ताव पनि राखिरहेकै छु। एकजना अछामको रोहित भाइ छन्। राम्रो बक्सर छन्। उसको लागि आफ्नो बचत प्रयोग गरे। साथीभाईसँग प्रायोजनको लागि कुरा पनि गरे। तर, आफ्नो लागि स्पोनसरको खोजी गर्न भने अफ्ठ्यारो लाग्दो रहेछ।

क्रिकेट र फुटबलजस्तै एकदमै हाइलाइटमा आएको खेल भएको भए बक्सिङमा पनि प्रायोजनको समस्या हुँदैन थियो होला। तर, प्रायोजकभन्दा पनि पहिले बक्सिङ खेललाई नै बुझाउन सक्नु आवश्यक पनि देख्छु। मैले अछामको भाइलाई बक्सिङमा भविष्य भएको देखाउन सकेँ तर सातदोबाटोको भाइबहिनीलाई अझै बुझाउन नसकेको महशुस गर्छु। विस्तारै परिवर्तन आउनेमा आशावादी छु। अहिलेको स्थितिमा भने व्यक्तिगत प्रायोजकमा नै निर्भर छु।

व्यावसायिक बक्सिङको चुनौती र सम्भावना
नेपालमा ‘भर्जिन मार्केट’ चलाउन निकै गाह्रो कुरा हो। नेपालमा काम गर्नु भनेको फलामको चिउरा चपाए जस्तो पनि महशुस हुन्छ। अहिलेको अवस्था हेर्ने हो भने बच्चाहरू शारीरिक व्यायाम कम हुँदैछ। उनीहरूको शारीरिक विकासको लागि बक्सिङ उपाय बन्न सक्छ। यू–१६ का बक्सरहरूलाई प्रोत्साहन गर्ने एउटा प्रवृत्तिको पनि विकास भएको छ।

अभिभावक गएर बच्चाहरूलाई जिते पनि हारे पनि हौसला प्रदान गर्दा उसले जीवनको अर्थ बुझ्छ। हार र जीत भनेको जीवनको अभिन्न अङ्ग भएको बुझ्छ। यसकारण पनि यो युवा बक्सरहरूको लागि राम्रो समय हो। व्यावसायिक बक्सिङमा आफ्नो क्षमता देखाउन सके पक्कै पनि पर्याप्त अवसरहरू पाउने छन्। नेपालमा कम्तिमा एकजना बक्सिङ च्याम्पियनको सफलता देखाउनुसके पक्कै पनि बक्सिङ बुझाउन सहज हुनेछ। अन्डर एज र व्यावसायिक बक्सिङको चुनौतीसँगै प्रचुर सम्भावना छ।

वास्तविक जीवनको च्याम्पियन

बक्सिङ भनेको रिङमा मात्र च्याम्पियन बन्नु होइन। वास्तिविक जीवनमा पनि असल नागरिक बन्नु हो। रिङमा एउटा खेल जित्दैमा च्याम्यिन हुँदैन। हार्दैमा सबै सकिने पनि होइन। हारजीत भए पनि मानवताको भावनाले जीवन बाँच्नु सक्नु नै असल च्याम्पियनको पहिचान हो। जो आफ्नो सफलता र सङ्घर्षमा भद्र हुन्छ, उसले नै बक्सिङको विकासमा योगदान पुर्‍याउन सक्छ। समय लाग्छ, तर त्यस्तो च्याम्यिन नेपालले एकदिन पक्कै पाउनेछ।

युवा बक्सरका लागि अवसर

मसँग अब धेरै समय नहोला तर जो अहिले १७–१८ वर्षको उमेरका बक्सर छन्, उहाँहरूको लागि लामो समय बाँकी छ। यसको सदुपयोग गर्नुस्। मेरो समय गइसक्यो। तर, तपाईंहरूको बाँकी छ। नेपालमा गुणस्तरीय प्रशिक्षकहरू धेरै छन्। जति सकिन्छ सिक्नुस्।

नयाँ शैली, नयाँ प्रशिक्षक खोज्नुस्। आफ्नो क्षमता बढाउनुस। सानो सानो टेक्निकमा ध्यान दिनुस। त्यसले नै तपाईंलाई च्याम्पियन बनाउँछ। सिक्नको लागि भोक जीवित राख्नुस। यस्तै, सिक्न चाहनेलाई आफूले सिकेको ज्ञान दिन पनि म पनि सधैँ तयार नै हुनेछु।

(भ्युज टकको कुराकानीमा आधारित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved