नागरिकता विधेयक प्रमाणीकरणले संसदको विशेषाधिकारको हनन भयो : एमाले

नेपालभ्युज

नागरिकता विधेयक प्रमाणीकरणले संसदको विशेषाधिकारको हनन भयो : एमाले

काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले जेठ १७ गते राष्ट्रपतिबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको विषयमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । बैठकले नागरिकता विधेयक मन्त्रीपरिषद्बाट लगेर पास गर्नु नेपालको संविधान, प्रचलित कानून एवं स्थापित संसदीय मान्यताको विपरित भएको ठहर गरेको छ ।

उपमहासचिव प्रदिप ज्ञवालीले अघिल्लो संसदले पारित गरी प्रमाणीकरण गर्नका लागि पठाएको सवैधानिक समयसीमाभित्र प्रमाणीकरण नभएपछि निस्क्रिय अवस्थामा रहेको विधेयकलाई ताजा निर्वाचन भएर नयाँ प्रतिनिधि सभा गठन भइसकेको समयमा अहिले प्रतिनिधि सभाले पहिलो अधिवेशन सम्पन्न गरी दोस्रो अधिवेशन चालु रहेको अवस्थामा मन्त्रीपरिषद्ले विधेयक प्रमाणीकरणको सिफारिस गर्ने, र राष्ट्रपतिबाट प्रमाणीकरण हुनु संसदको अपमान भएको बताए ।

उनले सरकारको यस कदमले संसदको विशेषाधिकारको हनन भएको र पार्टीले असंवैधानिक कदमको देशभर विरोध गर्ने बताए । उनले प्रधानमन्त्रीको विदेश भ्रमणको केही घण्टाअघि मात्रै संविधानको विधि, प्रक्रिया विपरित गरिएको प्रमाणीकरणले सरकार र राष्ट्रपति कार्यालयले नागरिकताको विषय नेपालको आन्तरिक मामिला नभइ वाह्य चासोको विषय हो भन्ने नजिर स्थापित गरेको बताए ।

‘२०८० जेठ १७ गते राष्ट्रपतिबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको विषयमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । कानून निर्माण गर्ने हाम्र आफ्नै संवैधानिक र कानूनी प्रक्रियाहरु छन्’ उनले भने, ‘संघीय संसदको निर्णय र विधेयक उत्पत्ति भएको सभाको सभामुख वा अध्यक्षको सिफारिसमा मात्रै कानून बन्न र प्रमाणीकरण हुनसक्ने हाम्रो संवैधानिक व्यवस्था छ । यो शक्ति पृथकीकरण सम्बन्धी लोकतन्त्रको विश्वव्यापी मान्यता छ ।’

‘विभिन्न अवस्था र स्थिति समेतलाई उल्लेख गरी सोही विधेयक प्रमाणीकरणका लागि भनि मन्त्रीमण्डलबाट लेखि आएकोमा नेपालको संविधानको धारा ६१ को उपधारा २,३,४ र ६ धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिवादित सिद्धान्तबमोजिम विधेयक प्रमाणीकरण गरेको भन्ने राष्ट्रपति कार्यालयबाट वक्तव्य नेपालको संविधान, प्रचलित कानून एवं स्थापित संसदीय मान्यताको विपरित छ’, उनले भने ।

‘अघिल्लो संसदले पारित गरी प्रमाणीकरण गर्नका लागि पठाएको सवैधानिक समयसीमाभित्र प्रमाणीकरण नभएपछि निस्क्रिय अवस्थामा रहेको विधेयकलाई ताजा निर्वाचन भएर नयाँ प्रतिनिधि सभा गठन भइसकेको समयमा यस प्रतिनिधि सभाले पहिलो अधिवेशन सम्पन्न गरी दोस्रो अधिवेशन चालु रहेको अवस्थामा मन्त्रीपरिषद्ले विधेयक प्रमाणीकरणको सिफारिस गर्ने, र राष्ट्रपतिबाट प्रमाणीकरण हुनु संसदको अपमान हो,’ उनले अगाडी भने,’हाम्रो पार्टी विधेयक प्रमाणीकरणका क्रममा गरिएको संविधानको ठाडो उल्लंघन र संसदको विशेषाधिकारको हननको देशभर सशक्त विरोध गर्दछ ।’

कुनैपनि नेपाली नागरिक नागरिकता पाउनबाट वञ्चित नहुन्, कुनैपनि गैरनागरिकले नागरिकता प्राप्त गर्ने स्थिति नबनोस् भन्ने कुरामा एमाले स्पष्ट रहेको उनले बताए । उनले विगतमा नागरिकता समस्याको दिगो र दीर्घकालीन समाधानका लागि एमालेले चालेका कदम सबैका सामु स्पष्ट भएको बताए । ‘प्रधानमन्त्रीको विदेश भ्रमणको केही घण्टाअघि संविधानको विधि,प्रक्रिया विपरित गरिएको यस प्रमाणीकरणले सरकार र राष्ट्रपति कार्यालय नागकिरताको विषय नेपालको आन्तरिक मामिला होइन,वाह्य चासोको विषय हो भन्ने गलत नजिर स्थापित गर्न चालेको कदम हो भन्नेमा कुनै आशंका छैन’, उनले भने ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved