मुस्ताङमा भएको तारा खेलको उपाधि बागलुङले जित्यो

नेपालभ्युज

मुस्ताङमा भएको तारा खेलको उपाधि बागलुङले जित्यो

काठमाडौं। दोश्रो गण्डकी प्रदेश स्तरिय परम्परागत तारा खेलको उपाधि बागलुङले जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा मुस्ताङ थासाङ–३ लेतेमा सम्पन्न प्रतियोगितामा बागलुङले म्याग्दीलाई २ अंकले पछि पार्दै उपाधि जितेको हो । उपाधिसँगै बागलुङले नगद ७५ हजार र शिल्ड प्राप्त गरेको छ।

निकै प्रतिस्पर्धात्मक बनेको प्रतियोगितामा बागलुङले कुल ८३ अंक प्राप्त गर्दै उपाधि जित्दा म्याग्दी जिल्ला २ अंकले पछि पर्दै ८१ अंकका साथ उपविजेता बनेको छ । उपविजेता भएको म्याग्दीले नगद ५० हजार हात पार्न सफल भयो ।

त्यस्तै, प्रतियोगितामा मुस्ताङको ‘ए’ टिम भने तेश्रो भएको छ । मुस्ताङले कुल ७८ अंक प्राप्त गर्न सफल भयो । कास्की ७७ अंकका साथ चौथो भएको छ । तेश्रो भएको मुस्ताङले ३० हजार नगदका साथमा कप मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा म्याग्दीको टिका बहादुर शेरपुञ्जा मगर सर्वश्रेष्ठ ‘धनुधारी’ भएका छन् । उनले व्यक्तिगत २० अंक प्राप्त गरेका थिए । त्यसैगरी प्रतियोगितामा विशिष्ट धर्नुधरको उपाधि बागलुङका सुनिल बुढा मगरले प्राप्त गर्न सफल भए । उनले २ खोल हानेका थिए । सर्वश्रेष्ठ भएका प्रतियोगितामा कुल ५ जना खेलाडीले ‘खोल’ हानेका थिए ।

सर्वश्रेष्ठ धर्नुधर भएका टिकाले नगद रु ५ हजार र विशिष्ट धर्नुधर घोषित सुनिलले नगद रु ३ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त हात पारे । प्रतियोगितामा कास्की, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका दुई टिम गरी ६ टिमका ३६ जना खेलाडीहरूको सहभागिता रहेको थियो

प्रदेख खेलकुद परिषद गण्डकीले गत वर्षबाट गण्डकी प्रदेशमा खेलिने विशेष परम्परागत खेलको संरक्षण र सम्वर्द्धनका लागि प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । गण्डकी प्रदेशका हिमाली जिल्लामा खेलिदैं आएको तारा खेल विशेष पर्वहरुमा आयोजना हुने गर्दछ ।

बाँसको विशेष प्रकारको धनुष काँण (आर्चरी) सहित परम्परागत भेष–भुषा र संस्कृतिमा आधारित तारा खेलको आफ्नै विशेष महत्व रहेको प्रदेश खेलकुदका सदस्य योगेन्द्र शेरचन बताउँछन्। यसैगरी, परिषदकै आयोजनामा भोलि शनिबार म्याग्दीको बेनीमा परम्परागत ठेलो खेल हुने भएको छ । प्रतियोगितामा लमजुङ, पर्वत, बागलुङ र म्याग्दी जिल्लाको सहभागिता हुने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved