काठमाडौं । बुटवलदेखि पाल्पाको बसन्तपुर जोड्ने गरी निर्माण भइरहेको लुम्बिनी केबुलकार जेठ १५ गतेदेखि सञ्चालन हुने भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. ३ बमघाटमा आधार स्टेसन रहेको लुम्बिनी केबुलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र बसन्तपुरमा रहेको छ।
आईएमई ग्रुपको नेतृत्वमा लुम्बिनी केबुलकार प्रालिमार्फत निर्माण गरिएको तीन किलोमिटर दूरीको केबुलकारको बेस स्टेसन, टावर, टप बटम स्टेसनलगायत सबै निर्माणका कामहरू पूरा भई अहिले प्राविधिक परीक्षण सुरू गरिएको छ।
बसन्तपुरमा क्यासिनोसहितको एक सय ५० कोठाको पाँचतारे होटल, रेष्टुरेण्ट, मन्दिरलगायत संरचना निर्माण गरी आकर्षक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित यो परियोजनामा ५ अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको छ ।
प्रालिका अनुसार पहिलो चरणमा निर्माण भइरहेको केबुलकारमा डेढ अर्ब लगानी भएको छ ।

केबुलकार प्रालिका व्यवस्थापक गोकुल साउदका अनुसार यही जेठ १५ गतेदेखि नियमित सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।
२५ वटा गोण्डुला रहने केबुलकारमा एउटा गोण्डुलामा एकैपटक आठ जनाले यात्रा गर्न सक्नेछन् भने प्रतिघण्टा अधिकतम ६ सय यात्रु आवतजावत गर्न सक्ने उनले बताए ।
२०७७ साल फागुन १ गते शिलान्यास गरिएको केबुलकार पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक पाँच हजार यात्रुले आवतजावत गर्न सक्ने कम्पनीले जनाएको छ ।
कोरोना महामारी लगायत कारणले एक वर्षपछि मात्रै सञ्चालनमा आउन लागेको केबुलकारको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।
यसैबीच केबुलकारको टप स्टेसन बसन्तपुर डाँडामा निर्माण गरिएको कामाख्या देवीको मन्दिरमा सप्ताहव्यापी पूजाआराधना सुरू भएको छ।
केबुलकार सञ्चालन हुनुपूर्व मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पूजाआराधना सुरू भएको हो।
भारतको गुहावटीमा रहको कामाख्या मन्दिरकै शैली र कलामा बसन्तपुरमा पनि कामाख्या मन्दिर निर्माण गरिएको छ।
मन्दिरमा सुरू भएको एकहप्ते पूजामा गुहावटीबाट आएका र नेपालका समेत ११ जना धार्मिक पण्डितहरूले पूजा सुरू गरेको प्रालिले जनाएको छ।
मन्दिरमा जेठ १२ गतेदेखि सुरू भएको पूजा आराधना १८ गतेसम्म चल्ने छ।
सरकारले २५ वर्षका लागि त्यहाँको वन क्षेत्र उपयोग गर्न पाउने गरी केबुलकार प्रालिलाई स्वीकृति दिएको छ।
Facebook Comment
Comment