प्रधानमन्त्रीले भारत भ्रमणमा कर्णाली वा कोशीमा सम्झौता गर्ने शंका छ : सूर्यनाथ उपाध्याय

नेपालभ्युज

प्रधानमन्त्रीले भारत भ्रमणमा कर्णाली वा कोशीमा सम्झौता गर्ने शंका छ : सूर्यनाथ उपाध्याय
फाइल फोटो

काठमाडौं ।  नेपाल-भारत प्रवुद्ध समूहका सदस्य सूर्यनाथ उपाध्यायले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा कर्णाली वा कोशी नदीमा सम्झौता गर्नसक्ने आशंका व्यक्त गरेका छन् ।

बिहीवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपाध्यायले  यस्तो शंका व्यक्त गरेका  हुन् । उनले प्रधानमन्त्रीले यो पटकको भारत भ्रमणमा नयाँ सम्झौता हुने बताउँदै आएको भन्दै कोशी र कर्णाली जलाशय आयोजना भारतलाई दिने सम्झौता गर्न सक्नेप्रति चनाखो रहन आग्रह गरे ।

उनले नेपाल र भारतको १९५० को सन्धीमा भएको सम्झौता अनुसार भारतले नेपाललाई पानी कहाँ पुर्‍याउने, कति दिने भन्ने विषयमा स्पष्ट उल्लेख गरेको बताए । उनले नेपाल—भारतबीचमा भएका सन्धी सम्झौताहरु पालना नभएको बताए।  उनले गण्डकको नहरमा नेपाललाई पानी दिने भनिए पनि नहरमा अहिले पानी नभएको बताए । उनले सम्झौता उल्लङ्घन गर्ने भारतसँग जलविद्युत र पानीका सम्बन्धमा सरकार नयाँ–नयाँ सम्झौता गर्दै जानु राम्रो नभएको बताए । उनले आफ्नो स्रोतलाई सरकारले पानी नभएर विद्युत दिएको भन्दै सबै भारतलाई बुझाई सकिएको बताए।

उनले १५० मेगावाटको कर्णाली आयोजना भारतलाई नदिन बारम्बार प्रधानमन्त्रीलाई भन्दा पनि नमानिकन भारतको जिएसआरलाई दिँदा १० वर्षसम्म पनि बन्न नसकेको बताए । उनले कर्णाली आयोजना श्रीपेजको हिरा भनेको भएपनि भारतीय कम्पनीले अलपत्र बनाएको बताए। उपाध्यायले नेपाल सरकारको अब पानीमा स्पष्ट नीति बनाउन आवश्यक रहेको बताए।

उनले भारतसँग पानीका सम्बन्धमा सम्झौता गर्दा नेपाल चनाखो हुन आवश्यक रहेको बताए। उनले विश्वको पानीको धनी मुलुकमध्ये एक नेपाल भएको भन्दै सरकारले पानीको हिसाव गर्न आवश्यक रहेको बताए । उनले प्रधानमन्त्रीले भारत भ्रमणमा विद्युतको कुरा गर्दा पानीको हिसाव गरेर कुरा गर्नुपर्ने बताए। उनले विगतको जस्तो भिजन पेपरमा हस्ताक्षर गर्नु नहुने बताए।

‘नेपाल र भारतको १९५०को सन्धी भएको सम्झौता अनुसार भारतले नेपाललाई पानी कहाँ पुर्‍याउने कति दिने भनेर लेखिएको छ । गण्डकको नहरमा नेपाललाई पानी दिने भनिए पनि नहर सुख्खा छ । नहरमा पानी नभएर कमिला हिँड्छ । नेपाल भारतको सम्झौतामा पानी दिने लेखेको छ तर अहिलेसम्म पानी नै छैन’ उनले भने, ‘सम्झौता भएको विषय पनि उलङ्घन छ । तर हामी त्यस्तो पक्षसँग पानीको बिना हिसाव नयाँ–नयाँ सम्झौता गर्दै गइरहेका छौं । आफ्नो स्रोतलाई हामीले पानी होइन विद्युत हो भनेर भारतलाई दिइसक्यौं अझै दिँदै छौं ।’

‘सम्भवतः यसपाली भारत भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ चिजको सम्झौता हुन्छ भन्नुभएको छ । कता कर्णाली वा कोशीमा हस्ताक्षर गरेर आउनुहुन्छ की ? हामी त्यसमा काम गरिरहने मान्छे शंकामा छौं’ उनले भने, कर्णाली आयोजना जिएमआरले पाएको छ त्यसको बारेमा प्रधानमन्त्रीलाई हामीले ५० औं पटक भनौं होला यो नगरौं भनेर तर १० वर्ष भन्दा बढी भयो बन्ने भनेको छ त्यसको पत्यो छैन ।’

उपाध्यायले १९५० को सन्धीमा नेपालको सीमा खुला राख्नुपर्ने व्यवस्था नगरेको खुलासा गरे । उनले अहिलेसम्म सरकारले नेपालको सीमा खुला राखिरहेको भन्दै किन खुला राखेको भन्ने बुझ्न नसकेको बताए। उनले नेपालको सीमाना भारतका लागि खुला हुने तर भारतको नेपालीको लागि खुला नहुने अवस्था रहेको बताए। उनले आर्थिक रुपले सीमाना खुला राख्नुपर्छ भन्ने नभएको भन्दै आर्थिक रुपमा सीमाना खुला राख्दा झनै खतरा रहेको बताए ।

उनले प्रधानमन्त्रीहरु भारत भ्रमणमा जाँदा समेत गौरवका साथ संयुक्त विज्ञप्तिमा भारतसँग परम्परागत पुरानो सम्बन्धका साथ खुला सीमाना भन्ने गरेको भन्दै त्यस्तो गर्नु आवश्यक नभएको बताए। उनले अहिलेसम्म कुनैपनि सरकारले नेपाली सीमा खुला राख्न नहुने भनेर भन्न नसकेको बताए । उनले भारतसँगका सन्धीहरुमा सीमा खुला राख्नुपर्छ भनेर नलेखेको भन्दै नेपालले चाहे सीमानामा पर्खाल लगाउन सकिने बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved