के सोच्दैछन् शेरबहादुर देउवा ?

सार्वजनिक रूपमा नबोले पनि व्यक्तिगत भेटघाट गर्ने नेता कार्यकर्ताबीच दिने अभिव्यक्तिले देउवाको पछिल्लो मनोविज्ञान अनुमान गर्न सकिन्छ । उनी कतिपय कुरामा ढुक्क छन भने कतिपयमा अनिश्चिताको शिकार । तर, देउवाको अनुहारमा अतिरिक्त चिन्ता भने देखिन्न । उनले मनमनै ‘जे पर्ला त्यही टर्ला भन्ने मन बनाएको जस्तो देखिन्छ । देउवाको वर्तमान मनोदशाबारे हाम्रो टिप्पणी ।

के सोच्दैछन् शेरबहादुर देउवा ?

काठमाडौं । देश एकातिर आर्थिक संकटमा छ, अर्कोतिर नक्कली भुटानी शरणार्थी प्रकरणले राज्यको वैधता र विश्वसनीयतालाई खोक्रो पार्दिएको छ । जनतामा व्यापक निराशा, आक्रोश र असन्तुष्टि देखिन्छ । तर, संसदभित्रको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने ‘मौन’ छन् ।

उनले पछिल्ला घटनाक्रमबारे कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन्, न त नेपाली कांग्रेस पार्टीले बैठक बसेर कुनै संस्थागत तथा आधिकारिक धारणा नै सार्वजनिक गरेको छ । बुढानीलकण्ठ निवासमा मर्मत-सम्भारका काम हुँदै गरेकाले यतिखेर उनी धुम्बाराही चोकमा भाडाको घरमा बस्दछन् । देउवा निवास वरपर साँझ बिहान हुने कांग्रेस कार्यकर्ताको आवतजावत र भीडभाडले धुम्बाराही चोकको ट्राफिक व्यवस्थापनलाई नै प्रभावित गरिरहेको हुन्छ ।

सार्वजनिक रूपमा नबोले पनि व्यक्तिगत भेटघाट गर्ने नेता कार्यकर्ताबीच दिने अभिव्यक्तिले देउवाको पछिल्लो मनोविज्ञान अनुमान गर्न सकिन्छ । त्यसो त बाहिर मात्रै हैन, व्यक्तिगत तथा सामूहिक भेटघाटमा पनि उनी सकेसम्म कम नै बोल्ने गरेका छन्। एक कांग्रेस कार्यकर्ता भन्छन्–‘शेरबहादुर दाइ कहिल्यै पनि धेर बोल्ने मान्छे हैन, त्यसमाथि अहिलेको स्थितिमा के बोलून्, बोलिसक्नु छैन ।’

कांग्रेसजनको भेटघाटमा उनको अनुहार औसत मलिन हुन्छ । कुनै जोश जाँगर देखिन्न । उनी चुपचाप भेट्न जाने मान्छेका कुरा सुन्छन् । अन्त्यमा थोरै उत्तर फर्काउँछन् । खासमा उनले कुरा सुनिरहेका हुन्छन् कि हुँदैनन् त्यो पनि टुंगो हुँदैन । चुपचाप कुरा सुनिरहँदा पनि उनको मन भने अन्तै उडिरहेको जस्तो लाग्दछ । चिन्तित कांग्रेस कार्यकर्तालाई उनी भन्छन्–‘केही बिग्रेको छैन, सबै ठीक हुन्छ । चिन्ता मलाई पनि छ नि, त्यसै बसेको हौला ।’

पन्छिए खाण 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाण सभापति देउवाका निकटस्थ मानिन्थे । खाणलाई विश्वास गरेर उनले गृहमन्त्रीसम्म बनाए। त्यसो त पार्टी पंक्तिभित्र खाणको चर्चा भावी सभापतिको रूपमा समेत हुन थालेको थियो ।पक्राउ परेपछिको पदाधिकारी बैठकमा खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने माग उठ्यो तर, देउवाले त्यसलाई सजिलै पन्छाइदिए । एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गर्दा कांग्रेसले खाणलाई कुनै कारबाही गरेन ।

यसबारेमा देउवाले कांग्रेस कार्यकर्तालाई यसरी भन्ने गरेका छन्–‘न आत्तिनुस सबै ठीक हुन्छ, प्रहरीले मुद्दा लगाएर मात्रै कहाँ हुन्छ ? अदालत छ नि ? अदालतले जे गर्छ, त्यही हुन्छ।’

खासमा देउवा खाण पक्राउ परेकामा त्यति चिन्तित छैनन्। बरु उनी पन्छिए भन्ने भाव छ । स्वाभाविकरूपमा पन्छिएको र किनारा पर्दै गएको मान्छेलाई निलम्बन वा अन्य कारबाही गरेर किन चिढ्याउनु भन्ने उनलाई लागेको हुनुपर्दछ।

गगन थापालाई झनै पेल्ने मुड 

वैशाख १० गते सम्पन्न उपनिर्वाचनको हार र शरणार्थी प्रकरणमा देउवा निकटको संलग्नता देखिएपछि पार्टी महामन्त्री गगनकुमार थापा आक्रामक देखिएका छन् । थापाले ‘अब त हदै भयो’ भन्न भ्याइसके । विशेष महाधिवेशन गरी देउवालाई सभापतिबाट हटाउनुपर्ने धारणा सार्वजनिक गरिसके । तर, देउवाले भने त्यसलाई ‘बाल मतलब’ दिएका छैनन् ।

महामन्त्रीद्वय गगनकुमार थापा– विश्वप्रकाश शर्माको बढ्दो दबाब र गुरुराज घिमिरेलगायतको समानान्तर गतिविधि ‘कांग्रेस रुपान्तरण अभियान’ देउवालाई मनपरेको छैन । यी गतिविधिबाट देउवा झुक्ने, लचिलो हुने र सम्झौता गर्ने हैन, मौका परे उनीहरूलाई झनै बढी पेल्ने मनस्थितिमा छन् । थापा र शर्मालाई कुनै हालतमा परिस्थितिको फाइदा उठाउन नदिने मुडमा देउवा छन् ।

खड्काको बाटो खुल्ला 

देउवा खेमामा गुटको उत्तराधिकारीको विषयमा विवाद थियो । खाणलाई पनि देउवाको सम्भावित उत्तराधिकारीका रूपमा हेर्ने गरिएको थियो । गृहजस्तो महत्त्वपूर्ण र प्रभावशाली मन्त्रालय जिम्मा दिएर देउवाले कांग्रेसको भावी सभापतिका रूपमा ‘प्रोजेक्सन’ गर्न खोजेका पनि थिए । तर, देउवाको त्यो प्रयास गुटभित्रै निर्विवाद भने थिएन ।

कांग्रेस विधानअनुसार देउवाले दुई कार्यकालको प्रावधान आगामी पार्टी महाधिवेशनमा पालन गर्नुपर्ने हुन्छ । उमेरको कारणले पनि उनी त्यतिन्जेल निवृत्त हुने अवस्थामा पुग्नेछन्। खाणको ठगी तथा भ्रष्टाचारजस्तो संगीन अपराधमा गिरफ्तारी र मुद्दाले भावी सभापतिका लागि उपसभापति पूर्णबहादुर खड्काको बाटो खुला भएको छ ।

खाण र खड्कापछि देउवा गुटमा उत्तराधिकारको दाबेदार डा.प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्की हुन् । तर, महत र कार्कीले खड्काको बाटो रोक्न सक्ने सम्भावना कम छ । देउवा निकटका नेताहरूका अनुसार आगामी महाधिवेशनमा सम्भवत: गगन थापा र पूर्णबहादुर खड्काबीच पार्टी नेतृत्वका लागि टक्कर हुनेछ । हुनतः थापाले महाधिवेशनसम्म नपर्खिने बीचमै विशेष महाधिवेशन गर्नुपर्ने कुरा उठाइरहेका छन् । तर, त्यस्तो हुन सक्ने सम्भावना नरहेको देउवा निकट कार्यकर्ताको दाबी छ ।

एक कार्यकर्ता भन्छन्, ‘त्यो देउवामाथि दबाब बनाइरहने थापाको रणनीति मात्रै हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण फसेपछि देउवा खेमामा भावी नेतृत्वको बाटो राफसाफ भएको छ । आगामी महाधिवेशनमा देउवाले पूर्णबहादुर खड्कालाई अघि सार्नेछन् । खड्काको व्यक्तित्व तुलनात्मक रूपमा शालीन र रिजर्भ प्रकृतिको छ । उनी हत्तपत्ति कसैको मन दुखाउने, बिझाउने कुरा गर्दैनन् । कार्यकर्ताबीच पनि उनको पकड राम्रै छ । देउवाको आशीर्वाद, अहिलेदेखिको तयारी र शालीन व्यक्तित्वको कारणले खड्काले थापालाई अप्ठेरोमा पार्ने सम्भावना रहन्छ। अन्यथा कांग्रेसको नेतृत्व आगामी महाधिवेशनपछि गगन थापाको हातमा जान सक्दछ ।’

प्रचण्डको भर 

बाहिरबाहिर ‘सुशासनका लागि अर्को युद्ध सुरु भयो, जनयुद्धमा जस्तै तपाईंहरूको साथ चाहियो’ भनेर शरणार्थी प्रकरणको छानबिन र कारबाहीको जस लिने र राजनीतिक फाइदा उठाउने प्रयत्नमा रहे पनि भित्रभित्रै प्रचण्ड यही कारणले सरकार गिर्ने सम्मको स्थिति नआयोस् भन्नेमा होसियार छन् ।

भनिन्छ– ओली, देउवा र प्रचण्डबीच यस प्रकरणको थप छानबिन नगर्ने अहिलेसम्म पक्राउ परेकालाई ‘बलीको बोका’ बनाएर घटनालाई सामसुम पार्ने सहमति भइसकेको छ । सोही मुताविक छानबिन गर्नुपर्ने थप व्यक्तिहरू (जो प्रक्राउ परेकाको बयानमा समेत पोलिएका छन्) बारे केही अनुसन्धान नगरी अन्यविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ ।

अन्यथा देउवा पत्नी आरजू, खाण पत्नी मञ्जु, पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, एमाले अध्यक्ष ओलीका निजी सचिव राजेश बज्राचार्य र नातेदार अजयक्रान्ति शाक्य, अख्तियार प्रमुख तथा तत्कालीन गृहसचिव प्रेमकुमार राई लगायतमाथि छानबिन गर्न सकिने पर्याप्त प्रमाण प्रहरीले जुटाइसकेको थियो ।

थप अनुसन्धान र कारबाही गर्दा स्वयं ओली र देउवालाई अप्ठ्यारो पर्ने र त्यसो भए प्रचण्डको सरकार नै गिर्ने भएको हुँदा घटनालाई ‘सामसुम मोड’ तिर लगिएको हुन सक्दछ । स्रोतका अनुसार यो विन्दुमा ओली र देउवा दुवैले प्रचण्डको भर गरेका छन् । यही सहमतिअनुसार ओलीले प्रतिपक्षी नेताको हैसियतमा संवैधानिक परिषदको बैठकमा सकारात्मक भूमिका गर्न थालेका हुन्।

देउवाको मनोदशा : जे त पर्ला  

भनिन्छ, कांग्रेस सभापति देउवा कतिपय कुरामा ढुक्क छन भने कतिपयमा अनिश्चिताको शिकार । तर, उनको अनुहारमा अतिरिक्त चिन्ता भने देखिन्न । उनले मनमनै ‘जे पर्ला त्यही टर्ला भन्ने मन बनाएको जस्तो देखिन्छ । ‘जीवनमा पाउनु पाइसके, न केही पाउन बाँकी छ, न गुमाउन बाँकी छ’ भन्ने मुडमा उनी पुगेका छन् ।

देउवा न पार्टीको विशेष महाधिवेशन गराउने मुडमा छन् न नेतृत्व छोड्ने । आगामी १५ औं महाधिवेशनमा उनको गुटको तर्फबाट पार्टी सभापतिको उम्मेदवार पूर्णबहादुर खड्का हुने निश्चित छ । हार्ने जित्ने उनको भाग्य । जहाँसम्म कांग्रेसको भविष्यको कुरा छ– जेसुकै होस बाल मतलब !

विद्यमान सत्ता गठबन्धनभित्रको आलोपालो सम्झौता जसले संसदको उत्तरार्द्धतिर फेरिपटक देउवालाई प्रधानमन्त्री हुने अवसर दिन्छ, त्यो भने उनले बिर्सका छैनन् । त्यसैले उनी कम बोलेर सुरक्षित रहन चाहन्छन् । उनको प्रष्ट रणनीति छ–‘बोल्यो भने अनावश्यक विवादमा फसिन्छ, हुने कुरा हुँदै जान्छ, कति चिन्ता लिने ?’

यही हो– देउवाको वर्तमान मनोदशा ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved