राष्ट्रिय सङ्कल्प अभियानमा बहस : व्यक्ति होइन समूह निर्वाचित, पार्टी सहर होइन गाउँकेन्द्रित !

राष्ट्रिय सङ्कल्प अभियानमा बहस : व्यक्ति होइन समूह निर्वाचित, पार्टी सहर होइन गाउँकेन्द्रित !

काठामडौं । २०७९ सालको राष्ट्रिय निर्वाचनयता राष्ट्रिय सङ्कल्प अभियान नाम दिएर केही नेताहरू जुर्मुराइरहेका छन् । केहीबाहेक वर्तमान व्यवस्था र नेता/नेतृत्वहरूबाट नेपालसुहाउँदो काम नहुने ठहर गर्दै उनीहरू नयाँरूपमा कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे बहस गरिरहेका छन् ।

यही पङ्क्तिमा उभिएका पूर्वसभासदसमेत रहेका माओवादी केन्द्रका पूर्वनेता हेमराज भण्डारी अहिले बहस गर्ने र दस्तावेज बनाउने काम भइरहेको बताउँछन् । “अहिले हामीले आन्तरिक बहसलाई जारी राखेका छौँ र दस्तावेज बनाउँदैछौँ,” भण्डारी भन्छन् ।

त्यसो त अभियानले सातै प्रदेशसँगै केही जिल्लाहरूमा ‘सेलेक्टिभ’ व्यक्तिहरूको सहभागितामा एक चरणको छलफल गरिसकेको छ । ती छलफलका क्रममा वर्तमान व्यवस्था र नेता/नेतृत्वको विकल्पका रूपमा प्रस्तुत हुनुपर्ने आवाज उठेको भण्डारी बताउँछन् । “गर्ने क्रममा छौँ, हेरौँ कति सकिन्छ । प्रयासचाहिँ गरिरहन्छौँ,” उनले भनेका छन् ।

अभियानले पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई, झलनाथ खनाललगायतका नेताहरूसँग पनि संवाद गर्‍यो यसबीचमा । उनीहरूले पनि नयाँरूपले अगाडि बढ्न आवश्यक रहेको औंल्याएका थिए । भण्डारी सम्झन्छन्, “उहाँहरूले पनि नयाँरूपले अगाडि बढ्ने कुराको त समर्थन गर्नुभयो, थप बहसचाहिँ गर्दै गरौँला भन्नुभएको छ ।”

नयाँरूपले अगाडि बढ्ने भनेको के हो ? भनेर नेपालभ्यूजले भण्डारीलाई सोध्यो । उनको जवाफ थियो, “अहिल्यै यही हो भन्नेमा त पुगेका छैनौँ । तर, अहिलेको प्रयोगहरूभन्दा बिल्कुल नयाँ हुन्छ भन्नेमा चाहिँ हामी ढुक्क छौँ ।” उनको थप दाबी छ, ‘संसारकै नयाँ प्रयोग नै पनि हुनसक्छ ।’

बहस भइरहेकाहरूमध्ये २ वटा विषयबारे भने भण्डारी थप बोले । पहिलो— व्यक्ति नभएर समूह निर्वाचित, दोस्रो-गाउँकेन्द्रित सङ्गठन ।

व्यक्तिलाई ‘सुप्रीमेसी’ प्रदान गर्ने अहिलेसम्म भएका प्रयोगकै कारण अहिले अधिकांश राजनीतिक समस्या आउने गरेको ठान्छन् भण्डारी । व्यक्तिको ठाउँमा समूह आउनेबित्तिकै धेरै हदसम्म राजनीतिक समस्याहरू हटेर जाने दाबी उनको छ । भन्छन्, “व्यक्तिलाई ठूलो मान्ने प्रवृत्तिले नेपालका अधिकांश पार्टीलाई बिगारेको छ । अबचाहिँ नयाँ प्रयोग गरेर जानुपर्छ भन्ने लागेको हो ।”

उदाहरण दिँदै भण्डारी भन्छन्, “जस्तो कि कुनै नाममा ११ जनाको समूह निर्वाचित हुन्छ र प्रधानमन्त्री बन्नुपर्ने जनादेश आएको खण्डमा त्यही ११ जनामध्येको १ जना प्रधानमन्त्री बन्छ र प्रधानमन्त्रीको सचिवालय, सल्लाहकार, सहयोगी तिनै बाँकी १० जनामध्येबाट हुन्छन् । फेरि ११ जनामध्येको १ जनामात्रै प्रधानमन्त्री भइरहने होइन, पालैपालो हुन्छन् । यसबारे हामी थप छलफल गर्दैछौँ । यो मोडेल नयाँ हो भन्ने हाम्रो बुझाइ छ ।”

अहिलेसम्म बनेका सबै राजनीतिक दलहरू सहरकेन्द्रित मात्रै भएको भण्डारी बताउँछन् । आफूहरूको बहस भने सहरभन्दा बढी गाउँकेन्द्रित भएको उनी बताउँछन् । “अहिले राष्ट्रिय राजनीतिमा रहेका हरेक दलहरू सहरकेन्द्रित हुन् । हाम्रो बहसचाहिँ बढी गाउँकेन्द्रित हो,” भण्डारी भन्छन् ।

सहरमा बनेका दलहरू गाउँको समस्याबारे बे-खबर रहने बुझाइ छ भण्डारीको । “हाम्रो अभियानचाहिँ नितान्त गाउँबाट सुरू हुनुपर्छ भनेका छौँ । कमसेकम पालिकाबाट सुरू होस् भन्ने हाम्रो चाहना छ,” उनी भन्छन् । छलफल तथा बहसका क्रममा अधिकांश सहभागीले अझ वडा तहसम्म झर्नुपर्ने प्रस्ताव रहेको उनको भनाइ छ ।

०००

गणतन्त्र र सङ्घीयताका बारेमा ‘नो डिबेट’

अभियानले गणतन्त्र र सङ्घीयताबारे भने बहस नै नगर्ने नीति लिएको छ । “लामो समयको नेपाली जनताको सङ्घर्षपछि प्राप्त यो व्यवस्था आफैँमा खराब छैन । चलाउनेहरू खराब हुँदा यो बदनामी भएको मात्रै हो । यसका बारेमा अनावश्यक बहस गरिरहनुपर्ने छैन,” उनले भनेका छन् ।

आफूहरूको अभियान नितान्त संवैधानिक रहेको उनी बताउँछन् । “होलान् संविधानमा कतिपय विषयहरूले सबैलाई समेट्न सकेको छैन होला । तर फेरि पनि मूलरूपमा यसलाई मानेरै अगाडि जानुपर्छ । यसको विकल्प छैन । संविधान र त्यसले प्रत्याभूत गरेको प्रावधानलाई चनौती दिने हाम्रो मनसाय होइन,” उनले भनेका छन् ।

वर्तमान संविधानलाई नमानेर जाने उद्देश्य आफूहरूको नभएको उनको जिकिर छ ।

आगामी निर्वाचनमा निर्णायक शक्ति बन्ने चाहना 

अभियानले आउँदो निर्वाचनसम्ममा निर्णायक शक्तिका रूपमा आफूलाई उभ्याउने चाहना राखेको छ । २ देखि ३ वर्षसम्म अभियानकै रूपमा अगाडि बढ्ने र त्यसपछि पार्टीका रूपमा बदलिनसक्ने अभियन्ताहरू बताउँछन् ।

“आगामी निर्वाचनसम्ममा निर्णायक रूपमा उभिनेगरी अगाडि बढ्छौँ,” भण्डारीले भनेका छन्, “त्यसको तयारी पालिका तहबाट सुरू गरिनेछ ।” वैज्ञानिक मानवतावाद, लोककल्याणकारी प्रकृतिवाद र नेपाली समाजवादको आधार बनाएर अगाडि बढ्ने अभियन्ताहरू बताउँछन् ।

यसमा कुनै वाद वा विचारको कुरामात्रै भन्दापनि उन्नत लोकतन्त्र र समावेशीताको कुरामा जोड दिने उनीहरूको योजना छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०७३ जेठ १ मा घोषाणा गरेको नयाँ शक्ति पार्टी र रवि लामिछानेले २०७९ असारमा घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको भन्दा यो अभियानका सदस्यहरूको सोच अझै फरक दखिन्छ । ‘डा. बाबुराम भट्टराईले वैकल्पिक शक्ति निर्माणको जुन कुरा गर्नुभयो, त्यो सही थियो । तर, कार्यान्वयन पक्षमा असफल हुनुभयो,’ उनले भने, ‘तर रविजीको पार्टी परीक्षणमै रहेकोले नयाँ भएपनि वैकल्पिक मान्न सकिन्न ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved