पानीको मुहान सफा गरेर सिथी नख: पर्व मनाइँदै (तस्वीरहरु)

परापूर्वकालदेखि चलिआएको परम्पराले अहिले पनि निरन्तरता पाएको हो। वर्षात्‌को बेला बगेर आउने भेल र फोहोरपानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो।

पानीको मुहान सफा गरेर सिथी नख: पर्व मनाइँदै (तस्वीरहरु)

काठमाडौं। नेवार समुदायले आज सिथी नख: पर्व मनाउँदैछन्। जेठ शुक्ल पक्षको षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाइने यस पर्व नेवार समुदायको महत्वपूर्ण पर्व मध्य एक हो। नेवारी संस्कृति अनुसार यस पर्वलाई वर्षको अन्तिम पर्व पनि मानिन्छ।

भगवान् कुमार कार्तिकेयको जन्म दिन समेत भएकाले यस दिन नेवार समुदायले भगवान् कुमारको पूजा गरी मास, मुगी, केराउ लगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान वः अर्थात् बारा खाने प्रचलन समेत रहिआएको छ।

नेवार समुदायमा आज घरमा भर्खर भित्राइएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी) समेत खाने प्रचलन छ। सिथी नखःको दिनले नेवार समुदायले पानी को मुहानहरू सफा गर्ने गर्दछन्।

आजको दिन इनार, कुवा, ढुङ्गेधारालगायत पानीका स्रोतहरूको सरसफाइ गर्ने धार्मिक परम्परा रहिआएको छ। परापूर्वकालदेखि चलिआएको परम्पराले अहिले पनि निरन्तरता पाएको हो ।

वर्षात्‌को बेला बगेर आउने भेल र फोहोरपानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो । साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षात्‌को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरेको हो ।

सिथी नखःको दिनमा शुद्ध भई नवदुर्गा भवानी र शक्तिपीठहरूको पूजा गरी नयाँ गहुँबाट तयार गरिएको ‘म्हुछ्यामढी’ चढाउनाले अन्न उत्पादनमा वृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने विश्वास रहिआएको छ।

यस दिन बारालगायतका पकवान खानाले शरीरमा तागत उत्पन्न हुने र वर्षायाममा खेती गर्न बल पुग्ने जनविश्वास समेत छ।

तस्वीरहरूमा पाटन दरबार क्षेत्रमा रहेको मँग हिती सफा गर्दै नेपाल प्रहरी र स्थानीय :–

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved