पोल खुल्ने डरले बालकृष्णले एउटा पत्र च्याते, अर्को चपाए !

नेपालभ्युज

पोल खुल्ने डरले बालकृष्णले एउटा पत्र च्याते, अर्को चपाए !

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उच्च नेतामध्येका एक पूर्वगृहमन्त्री बालकृष्ण खाणले प्रहरीले पक्राउ गर्दा आफूसँग भएको एउटा कागज च्यातेर फालेको र अर्को पत्र चपाएको खुलेको छ। प्रहरीले खाँणलाई वैशाख २७ मा काठमाडौं महानगरपालिका–७ मैंजुबहालस्थित घरबाट पक्राउ गरेको थियो। उनी पक्राउ पर्नुअघि २० वैशाखमै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए।

पूर्व गृहमन्त्री खाण र पाण्डेको बीचमा केही ‘कनेक्सन’ छ भन्ने कुरा प्रहरीले अनुसन्धानको क्रममा पत्ता लगाइसकेको थियो। पाण्डेको मोबाइलबाटसमेत पूर्वगृहमन्त्री खाण र सचिव पाण्डेका बीचमा नक्कली भुटानी शरणार्थी प्रकरणमा कनेक्सन रहेको ‘क्लू’ प्रहरीले भेटाएको थियो।

सचिव पाण्डेले आफ्नै नामको मोबाइल नम्बरबाट चलाइएको ‘वाट्सएप’ मार्फत भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका गिरोह र बिचौलियासँग कुराकानी गर्दा मन्त्री खाणको नामसमेत लिएको तथ्य प्रहरीले भेटाइसकेको थियो। त्यसैले, खाणलाई पक्राउ गर्दा प्रहरीले २ वटा चिठीसमेत फेला पारेको स्रोतको भनाइ छ।

तर, प्रहरीले खाण पक्राउ गर्दा उनीसँगै बरामत गरेको चिठीलाई खाणले खोसेका थिए। उनले एउटा च्यातेको र अर्को चपाएको प्रहरी स्रोत बताउँछ। उक्त चिठी सचिव पाण्डेले हिरासतबाटै लेखी पठाएको बुझिएको छ। खाणले चपाएको चिठीमा के लेखिएको थियो भन्ने नखुले पनि उनले च्यातेको चिठीलाई भने प्रहरीले टुक्रा–टुक्रा जोडेर पढ्नसक्ने अवस्थामा ल्याएको थियो। पछि उक्त चिठी फरेन्सिक जाँचबाट पनि सचिव पाण्डेले नै लेखेको खुलेको प्रहरी स्रोत बताउँछ।

प्रहरी हिरासतबाटै खाणका स्वकीय सचिव नरेन्द्र केसीमार्फत उक्त चिठी बालकृष्णकोमा पुगेको र चिठीमा पक्राउ परिसकेका आरोपीलाई ‘बयान फेर्न लगाउनुपर्ने नत्र बर्बाद हुनसक्छ’ भन्ने आशय स्पष्ट रहेको थियो। ‘बिचौलियाको बयान फेराउन पर्‍यो सानु दुलालको पुनः बयान गराएर पुरानो भनेको कुरा सच्याउनुपर्छ, नभए मन्त्रीज्यू समेतको मुद्दा जान सक्छ’ उक्त पत्रमा लेखिएको व्यहोरामा भनिएको छ–‘अदालतमा गएर इन्कारी बयान दिएर पनि हुँदैन । मन्त्रीज्यु सचिव र अन्य कसैसँग लेनदेन नभएको विषय बयानमा लेखाउनुहोला।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved