समस्यामा एमाले : ‘मिसन ग्रासरुट’पछि घट्यो भोट, ‘मिसन युथ’ले के गर्ला ?

पार्टी निर्णय र नेताका क्रियाकलाप चित्त नबुझे पनि मातृपार्टी भावनाका कारणले एमाले मतदाताले हतपत्ती भोट फेर्दैनन्, तसर्थ एमाले अरु दलभन्दा बढी सुरक्षित छ भन्ने बुझाई थियो । तर, उपनिर्वाचन परिणामले यो बुझाईलाई भताभुङ्ग बनाइ दिएको छ । तनहुँ र चितवनको मत परिणामले पार्टी छोड्ने र मत फेर्ने प्रवृति एमालेमा झन् छिटो हुन सक्ने देखाएको छ।

समस्यामा एमाले : ‘मिसन ग्रासरुट’पछि घट्यो भोट, ‘मिसन युथ’ले के गर्ला ?

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकले ‘देशैभरि छोराछोरी’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यसलाई ‘मिसन युथ’ भनिएको छ ।

मंसिर ४ गतेको आम निर्वाचनपश्चात् एमालेले ‘संगठन सुदृढीकरण अभियान’ चलाएको थियो । त्यसलाई ‘मिसन ग्रासरुट’ भनिएको थियो । पाँचौं बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा मिसन ग्रासरुट ‘प्रभावकारी र सफल’ भएको निष्कर्ष निकालियो ।

प्रतिवेदनमा भनिएको छ–‘अभियानले लामो समयदेखि कमजोर अवस्थाबाट गुज्रेको पार्टी संगठनलाई चलायमान बनाएको छ । ५० प्रतिशतभन्दा बढी पार्टी सदस्यको नवीकरण भौतिक उपस्थितिमै सम्पन्न भएको छ। सदस्यता अभिलेखलाई अद्यावधिक, व्यवस्थित र यथार्थ बनाउन सहज भएको छ । पार्टीभित्रका समस्याको पहिचान र समाधानका उपाय पहिल्याइएका छन् । जनपरिचालनका लागि आधार तयार भएको छ । समग्रमा अभियान प्रभावकारी र सफल भएको छ।’

प्रतिवेदनमा भनिएजस्तो वैशाख १० गतेको उपनिर्वाचनमा भने एमाले सफल देखिएन । उपनिर्वाचन भएका ३ वटै निर्वाचन क्षेत्रमा एमाले उम्मेद्वार पराजित मात्र भएनन्, लज्जाजनक तेस्रो स्थानमा सीमित भए । अझ तनहुँ–१ र चितवन–२ मा एमालेको मत उल्लेखनीय मात्रामा घट्यो । त्यसमा पनि तनहुँ–१ मा झनै धेरै घट्यो । तनहुँमा मंसिरको चुनावमा करिब २० हजार भोट एमालेले पाएको थियो । वैशाख १० गतेको उपनिर्वाचनमा आधाभन्दा पनि कम करिब साढे ८ हजार मतमा सीमित भयो ।

एकातिर पार्टी प्रतिवेदनमा ‘मिसन ग्रासरुट’ प्रभावकारी र सफल भएको मूल्यांकन तथा समीक्षा भएको छ अर्कोतिर जनाधार झनझन कमजोर हुँदै गएको निर्वाचन परिणामले देखाएको छ । अर्थात् एमालेको बहिखातामा हिसाबकिताब मिलिरहेको छ तर वासलातमा ‘उज्राति खाता’ देखिएको छ ।

भनिन्छ– पार्टीको जनाधार संकुचन र खस्किँदो प्रतिष्ठाबाट एमाले पंक्ति निकै चिन्तित छ । पाँचौं बैठकमा यस्तो चिन्ता र निरासा व्यापकरूपमा प्रकट भएको थियो । जनता र मतदाताले छोड्न थालेको भन्दै पार्टीको भविष्य र कार्यकर्ताको राजनीतिक करिअरबारे चिन्ता व्यक्त भएका थिए ।

एक एमाले केन्द्रीय सदस्य भन्छन्–‘प्रतिवेदनमा उल्लेखित अभियानको मूल्यांकन आम र औपचारिक हो । उपनिर्वाचन भएका क्षेत्रको स्थिति विशिष्ठ हो । ३ वटा निर्वाचन क्षेत्रमा उपचुनाव हारियो भन्दैमा सिंगो अभियान असफल भयो भन्न त मिल्दैन । तर, यस्ता प्रभावकारी र सफल अभियानको के अर्थ हुन्छ– जब पार्टीलाई जनता र मतदाताले छोड्दै जान्छन ? प्रतिवेदनमा अभियान सफल हुँदैछ तर फिल्डमा जनताले पार्टीलाई मन पराउन छोडेका छन् ।’

उनी भन्छन् कि, उपनिर्वाचन परिणामपछि एमाले पंक्ति स्तब्धजस्तो बनेको छ । एमालेले आफूलाई ‘निर्विवाद वैकल्पिक शक्ति र सरकार’ मान्दै आएको थियो। तर, उपनिर्वाचन परिणामले प्रष्ट संकेत गर्‍यो कि, अब मतदाताको मनोविज्ञानमा भिन्नता आउन थालेको छ र देशको राजनीतिक शक्ति सन्तुलन ‘सिफ्ट’ हुन सक्दछ । देशमा देखापरेको नयाँ राजनीतिक प्रवृत्तिले एमालेको भविष्यलाई कहाँ पुर्‍याउने हो, यसै भन्न सकिने स्थिति छैन ।

त्यसो त, यो चुनौती एमालेका लागि मात्र आएको हैन, नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत सबै पुराना दललाई छ । तर, एमालेका लागि भने यो अझ विशिष्ठ प्रकृतिको छ । किनकि, एमाले समर्थक र मतदाताको पंक्ति तुलनात्मकरूपमा स्थीर मानिन्थ्यो । पार्टी निर्णय र नेताका क्रियाकलाप चित्त नबुझे पनि मातृपार्टी भावनाका कारणले एमाले मतदाताले हतपत्ति भोट फेर्दैनन्, तसर्थ एमाले अरु दलभन्दा बढी सुरक्षित छ भन्ने बुझाइ थियो । तर, उपनिर्वाचन परिणामले यो बुझाइलाई भताभुङ्ग बनाइदिएको छ । तनहुँ र चितवनको मत परिणामले पार्टी छोड्ने र मत फेर्ने प्रवृत्ति एमालेमा झन् छिटो हुनसक्ने देखाएको छ।

ती केन्द्रीय सदस्य भन्छन्–‘पछिल्लो राजनीतिक ट्रेन्ड बुझ्न हामीलाई समेत गाह्रो भइरहेको छ । यो स्वीकार गर्न अब कुनै लाज मान्नु पर्दैन कि पार्टीको बुझाइ र मतदाताको मनोविज्ञानबीच प्रष्ट दूरी छ । तर, मतदाताले नयाँ भनेर रोजिरहेको विकल्पप्रति विश्वस्त हुन सकिने आधार पनि हामी देख्दैनौं । आफ्नै पार्टीका समर्थक, सदस्य र मतदाताले किन यति ठूलो परिणाममा अविश्वास गर्न थाले ? बुझ्न अझै गहिराइमा गएर मेहनत गर्नुपर्ने अवस्था छ । देश कुनै नयाँ परिवर्तनको संघारतिर गएको निष्कर्षमा पुग्ने बेला भइसकेको जस्तो पनि लाग्दैन । राजनीति अनिश्चिता, अझ बढी अस्थीरता र दुर्घटनातिर जाने हो कि भन्ने चिन्ता बढेको छ ।’

एमाले प्रतिवेदनले पार्टीको भोट घट्दै जानु र उपनिर्वाचनमा पार्टीका लागि निराशाजनक परिणाम आउनुमा मुख्य कारण ‘प्रियतावादको उदय’ र ‘युवा, शहरिया र प्रवासी नेपाली’ लाई मानेको छ । अघिल्ला निर्वाचनसम्म शहरिया मतदाता एमालेको अनुकूल मानिन्थे । पूर्वका काकरभिट्टा, बिर्तामोड, दमक, इटहरी, धरान, मध्यतिरका हेटौंडा, काठमाडौं, पोखरा, पश्चिमका बुटवल सबैजसो ठूलो शहरमा एमालेको पकड बलियो मानिन्थ्यो ।

तीमध्ये अधिकांश शहरको मतदान प्रवृत्तिमा भिन्नता आउन थालेको छ । एमाले पाँचौं पूर्ण बैठकको ठहरमा यसो हुनुको मुख्य कारण नयाँ पुस्ताका मतदाता हुन् । एमालेलाई आफ्नै नेता, कार्यकर्ता र पार्टी सदस्यका छोराछोरीले समेत छोड्न थाले । नयाँ पुस्तामा पुरानो पुस्ताको राजनीतिक रुझान, संलग्नता र गौरवप्रति अनाकर्षण पैदा किन भयो, यो एमालेका लागि सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ ।

यही कुरा बुझेर एमालेले ‘मिसन युथ’ सञ्चालन गर्न लागेको हो । त्यसो त, एमाले अझै युवा विद्यार्थीबाट पूरै टुटिसकेको छ भन्ने मिल्दैन । झण्डै १४ वर्षको अन्तरालमा हालै सम्पन्न स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियूले सबैभन्दा धेरै क्याम्पसमा जित हासिल गर्‍यो।

तर, अर्को पाटोबाट हेर्दा यसपटकको स्ववियु निर्वाचनमा विद्यार्थीको खासै आकर्षण थिएन र मतदान पनि निकै कम भएका थिए । कतिपय क्याम्पसमा त ५० प्रतिशतभन्दा पनि कम मतदान भएको थियो । विश्वविद्यालयमा बढ्दो दलीयकरण, अराजकता र बिग्रँदो शैक्षिक स्थितिका कारणले स्ववियु र विद्यार्थी संगठनप्रति नै अविश्वास र वितृष्णा बढ्दै गएको छ। जनसंगठन र स्ववियु नै खारेज हुनुपर्ने मागसमेत उठ्न थालेका छन् ।

स्ववियू निर्वाचनबारे एमाले प्रतिवेदनमा भनिएको छ–‘अनेरास्ववियूको सफलता ऐतिहासिक महत्त्वको छ । यसले सचेत, शिक्षित र जागरुक विद्यार्थीको बीचमा पार्टीको लोकप्रियतालाई प्रतिविम्बित गरेको छ ।’ तर, स्ववियुमा हासिल भएको जितले आम निर्वाचनलाई कुनै पार्टीको पक्षमा सुरक्षित राख्न सक्ने देखिएन ।

चितवनका अधिकांश क्याम्पसमा एमाले निकट अनेरास्ववियु विजयी भएको थियो । चितवन–२ को उपनिर्वाचन परिणाम भने उल्टो आयो । यो खाडललाई एमालेले ‘मिसन युथ’ मार्फत् पुर्ताल गर्न खोजेको छ । देशैभरि, युवा पुस्ताका मतदातासँग छलफल र अन्तर्क्रिया गर्ने एमालेको योजना छ । एमालेको यो नयाँ अभियान ‘मिसन युथ’ कति उपलब्धिमूलक होला कि ‘मिसन ग्रासरुट’ पछि जस्तै पार्टी झनै कमजोर होला, त्यो त पर्खेर नै हेर्नुपर्ने हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved