श्रमिकहरुलाई शिक्षा र स्वास्थ्यको निःशुल्क सेवा दिनुपर्छः अध्यक्ष लिङदेन

नेपालभ्युज

श्रमिकहरुलाई शिक्षा र स्वास्थ्यको निःशुल्क सेवा दिनुपर्छः अध्यक्ष लिङदेन

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्यले श्रमिकहरुलाई शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क दिनुपर्ने बताएका छन् । सोमवार १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पार्टी संवद्ध ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले श्रमिकहरुलाई निःशुल्क रुपमा शिक्षा र स्वास्थ्यको सेवा दिनुपर्ने बताएका हुन् ।

उनले श्रमिकको जीवन मर्यादित र सुरक्षित हुन नसकेको भन्दै श्रमिकहरुको मर्यादा, सुरक्षा र जिविकाको सुरक्षातर्फ राज्यले ध्यान दिनुपर्ने बताए । उनले सबै श्रमिकहरुलाई सरकारले स्वास्थ्य बीमाको दायरामा ल्याउनुपर्ने पनि बताए । अध्यक्ष लिङदेनले श्रमिकहरुलाई सूचिकृत गर्ने र परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताए।

‘आजको हाम्रो श्रम क्षेत्र के मर्यादित छ ? के सुरक्षित छ ? के आजको जीवन धान्नसक्ने अवस्था छ ? यस तर्फपनि यस्तो बेला समिक्षा हुनुपर्दछ । मलाई लाग्छ, अहिलेपनि श्रमिकहरुको जीवन पूर्ण रुपले मर्यादित हुन सकेको छैन । सुरक्षित त छैन नै । राज्यको निर्माणमा सबभन्दा ठूलो योगदान पुर्‍याउने श्रमिक क्षेत्र राज्यको क्षेत्रबाट सबभन्दा धेरै उपेक्षित छ’ उनले भने, ‘सबैको अस्पताल छन्  तर श्रमिकहरुको अस्पताल छैनन् । म यतिबेला ट्रेड युनियनहरुलाई भन्न चाहन्छु, अबको ट्रेड युनियन आन्दोलन भनेको श्रमिकहरुको मर्यादा, सुरक्षा र जीविकाको सुरक्षातर्फ हुनुपर्दछ ।’

राप्रपा मजदुरहरको बारेमा  स्पष्ट भएको बताउँदै उनले भने, ‘हामीले स्पष्टसँग भनेका छौँ  कि पूर्ण रुपले सामाजिक सुरक्षासँग श्रमिकहरु जोडिनुपर्दछ । श्रमिकहरुको स्वास्थ्य र उनका बालबालिकाको शिक्षाको सुनिश्चितताको व्यवस्था सरकारले गरिदिनुपर्छ ।’

अध्यक्ष लिङदेनले देश बाहिरबाट श्रम इजाजत बिना नेपाल आएर व्यक्तिहरुले काम गरिरहेका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले देशका श्रमिकहरुलाई प्राथमिकताका साथ देशभित्रै कामको अवसर दिनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved