काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानको लागि कुवेत र ओमानबीचको खेल वर्षाको कारण रद्द हुँदा ओमान इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको ओमान र कुवेतबीचको खेल वर्षाको कारण रद्द भएसँगै एकदिवसीय वरियताको आधारमा ओमानले इमर्जिङ टिम्स एसिया कपमा स्थान पक्का गरेको हो।
कुवेतले दिएको १३१ रनको लक्ष्य पछ्याउँदै गर्ने क्रममा ६ ओभरमा ४१ रन जोड्दा पानी परेसँगै वर्षाको कारण खेल रोकियो। यसपछि खेल हुन सकेन।यससँगै फाइनलमा पुगिसकेका नेपाल र यूएईपश्चात् इमर्जिङ कपको लागि प्रिमियर कपबाट छनोट हुने ओमान तेस्रो राष्ट्र बनेको छ।
पहिले ब्याटिङ गरेको कुवेतले ३१.३ ओभरमा १३० रनमा अलआउट भयो । कुवेतको लागि अदनान इद्रिसले ३८ र सैयद मोनिबले २८ रन जोडे। विष्फोटक ब्याटिङ गरेका मोनिबले १० बलमा ५ चौका र १ छक्का प्रहार गरे।
मिट भावसार, सिराज खान र बिलाल ताहिरगरी कुल ३ खेलाडी डगआउट भए भने ३ खेलाडीले दोहोरो अंक बढाउन सकेनन्।
कुवेतलाई प्याक गर्न ओमानको लागि भने जय ओडेद्राले ५, बिलाल खानले २ तथा अयान खान, जिशान मकसूद र जतिन्दर सिंहले १–१ विकेट लिए।
२५.२, २५.३, २७.५, २९.२ र ३१.३ ओभरमा विकेट लिएर जयले फाइफर पूरा गरे।
Facebook Comment
Comment