सिन्धुपाल्चोक। गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा आन्तरिक पर्यटकको चाप बढ्न सुरु भएको छ।
विशेषगरी, पछिल्लो समय उपत्यकाबासीबीच राफ्टिङ चर्चित छ । उपत्यकाका बासिन्दाका लागि त्रिशूली र भोटेकोसी राफ्टिङको मुख्य गन्तव्य हो । राफ्टिङकै लागि भनेर खोलिएका रिसोर्ट भोटेकोसीमा करिब दुई दर्जनको हाराहारीमा छन् ।

ती रिसोर्टहरूमा उपत्यकाबाट हरेक शुक्रबार ३ देखि ४ हजारको हाराहारीमा मानिस राफ्टिङको लागि आउने गरेको राफ्टिङ स्टारका सञ्चालक दीपककुमार राई बताउँछन् ।
उनीहरूले सरदर ४ देखि ५ हजार प्रतिव्यक्ति खर्च गर्छन् । यस हिसाबमा हरेक सप्ताह सुकुटे क्षेत्रमा सरदर १ करोडको आन्तरिक व्यापार हुने गर्दछ। नेपालमा अधिकांश कलेज तथा कार्यालय शनिबार बिदा हुने कारण शुक्रबार राफ्टिङका लागि मानिसको भीड लाग्ने गरेको हो।

पछिल्लो समय सुकुटे क्षेत्रमा आन्तरिक पर्यटकको चाप अत्यधिक बढेको सञ्चालक राई बताउँछन् । उनी भन्छन्, ‘अहिले ‘पहिलाको तुलनामा आन्तरिक पर्यटकको चाप बढ्दो छ, तर बाह्य पर्यटक कम हुँदै गएका छन् ।’ आन्तरिक पर्यटक बढ्नुमा सामाजिक सञ्जालको हात रहेको उनले बताए।
उनका अनुसार राफ्टिङ गरेर फर्केकाले सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्ने गरेका कारण स्वतः प्रचार-प्रसार हुने गरेको छ ।

त्यस्तै, विदेशी पर्यटकको संख्या घट्नुको कारणचाहिँ भीडभाड र कोलाहल रहेको उनको बुझाइ छ । उनले भने, ‘विदेशीहरू शहरिया जीवनबाट वाक्क भएर शान्त ठाउँमा रमाउन भनेर यहाँ आउने हो, अहिले त्यो वातावरण छैन ।
यस्तै, कारणले बर्सेनि उनीहरूको संख्या कम हुँदै गइरहेको छ ।’ यस्तो समस्या बुझेर अहिले राफ्टिङ स्टारलगायत केही ट्राभल एजेन्सीले शुक्रबार, शनिबार र आइतबारबाहेकका दिन विदेशी पर्यटकलाई लैजान थालेका छन्।

यसैगरी, अच्युत गौतम विगत ३५ वर्षदेखि राफ्टिङ गाइड गर्दै आइरहेका छन् । साढे तीन दशकको अवधिमा एड्भेन्चर्स क्षेत्रमा आन्तरिक पर्यटक चार गुणाले बढेको उनको अनुभव छ । यद्यपि, मानिसको संख्या बढ्नुलाई ठूलो कुरा मान्दैनन्, उनी ।
उनी भन्छन् ‘आएकामध्ये अधिकांशले एड्भेन्चर र आउडोर बुझेका हुँदैनन्, कतिपय लहैलहैमा आएका हुन्छन् । त्यसैले, यसलाई म धेरै सकारात्मक मान्दिनँ ।’ उनले थपे, ‘विदेशी पर्यटकको संख्या घट्दो छ । यो भने ‘चिन्ताको विषय हो।

विदेशी पर्यटक घट्नुको प्रमुख कारण अत्यधिक कोलाहल र स्थानीय मौलिकपना हराउँदै जानु रहेको गौतमको बुझाइ छ । उनी भन्छन्, ‘विदेशीहरू शान्त र नेपाली मौलिकपना खोज्छन्, तर रमाइलो गर्ने नाममा रातभर हल्ला गर्ने तथा चर्को आवाजमा विदेशी गाना बजाउने गर्दा झर्को लागेर उनीहरू आउन छोडेका छन्।

विदेशी मुद्रा भित्र्याउन र रोजगारी निर्माणका लागि राफ्टिङ गतिलो माध्यम रहेको यस क्षेत्रमा कार्यरतहरूको भनाइ छ । तर, मौलिकता नासिँदै गएर पछिल्लो समय विदेशी पर्यटक कम हुनु चिन्ताको विषय रहेको उनीहरूले बताए ।

Facebook Comment
Comment