क्यानडाका ५२ प्रतिशत जनता राजतन्त्रको विपक्षमा

नेपालभ्युज

क्यानडाका ५२ प्रतिशत जनता राजतन्त्रको विपक्षमा

टोरन्टो । यही वैशाख २३ गते लण्डनको वेस्टमिनिष्टर गिर्जाघरमा राजा चाल्र्स तृतीयको राज्याभिषेक हुँदैछ तर क्यानडाका अधिकांश जनताले अब देशलाई संवैधानिक राजतन्त्रबाट मुक्त गर्नुपर्ने बेला आएको अभिमत जाहेर गरेका छन् ।

गैरनाफामूलक संस्था एङ्गस रिड इन्स्टिच्युट (एआरआई)ले गरेको एक सर्वेक्षणमा सहभागी ५२ प्रतिशत जनताले देशलाई अब संवैधानिक राजतन्त्र आवश्यक नभएको जवाफ दिएका छन् । बेलायतका राजा क्यानडाका राज्य प्रमुख हुन् भने गभर्नर जनरलले देशमा उनको प्रतिनिधित्व गर्दै आएका छन् ।

विपक्षी समूह ब्लक क्युबेकोइसले यस सम्बन्धमा गत वर्ष अक्टोबरमा हाउस अफ कमन्समा प्रस्तुत गरेको प्रस्तावमा भने २७ प्रतिशतले आगामी पुस्ताका लागि संवैधानिक राजतन्त्र रहनुपर्ने मत जाहेर गरेका थिए । क्यारेबियन मुलुक बार्बाडोसले संवैधानिक राजतन्त्रात्मक देशबाट आफूलाई मुक्त गरिसकेको छ भने बेलिज, बहमास, जमैका, ग्रेनाडा, एन्टिगुवा र बाबुडा, सेन्ट किट्स र नेभिसलगायत राष्ट्रमा पनि राजतन्त्र नचाहिने जनमत रहेको छ ।

एआरआईको सर्वेक्षणअनुसार ४८ प्रतिशतले नयाँ राजा चाल्र्सप्रति सकारात्मक दृष्टिकोण राखेर उनलाई राष्ट्रप्रमुखका रुपमा स्वीकार गरेका छ भए पनि क्यानडाको मुद्रामा उनको तस्बिर नभए पनि हुने अभिमत जाहेर गरेका छन् । महारानी एलिजाबेथप्रति उनीहरूले स्नेह दर्शाएका छन् ।

सर्वेक्षणमा सामेल भएका ६३ प्रतिशतले उहाँप्रति सकारात्मक धारण व्यक्त गरे पनि उहाँका उत्तराधिकारी राजा चाल्र्सप्रति त्यस्तै धारणा देखाएका छैनन् । पैतालीस प्रतिशत उत्तरदाताले भने देशले अब संविधान संशोधन गरेर संवैधानिक राजतन्त्रलाई विश्राम दिनुपर्ने बताएका छन् । यद्यपि त्यसो गर्ने प्रक्रिया जटिल एवम् कष्टकर छ । एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved