उपनिर्वाचन प्रक्षेपण : चितवन-२ बाट पुन: निर्वाचित हुनसक्छन् रवि लामिछाने

चितवनका विभिन्न बुथमा पुगेर मतदाताहरूसँग कुरा गरेको भन्दै सर्वेक्षण सार्वजनिक भएका छन्। जसमा पनि रविले धेरै मतान्तरसहित जित्ने नतिजा सार्वजनिक गरेका छन्।

नेपालभ्युज

उपनिर्वाचन प्रक्षेपण : चितवन-२ बाट पुन: निर्वाचित हुनसक्छन् रवि लामिछाने

काठमाडौं। ‘‘यसपालि रविको भोट घट्ला कि बढ्ला ?’’— चितवनको कालिका नगरपालिका १ पुगेको नेपालभ्युजको टिमले एक महिलालाई प्रश्न गर्‍यो, उनले उल्टै प्रतिप्रश्न गरिन् ।

नेपालभ्युजको टिम चितवनको निर्वाचन क्षेत्र नं. २ मा ‘ग्राउन्ड जिरो रिर्पाेटिङ’ मा खटिँदा अधिकांशको मनमा एउटा कौतूहल थियो — ‘यसपालि रविले कति मतान्तरले जित्लान् ?’

तामझामपूर्ण चुनावी प्रचार नियालेका अधिकांश चितवनवासीलाई रविले चुनाव जित्छन् भन्नेमा खासै शङ्का थिएन। सामाजिक सञ्जालदेखि सडकसम्म प्रत्येक दिन रविको पक्षमा जबर्जस्त माहोल देखेका उनीहरू भन्थे, “चुनाव त जित्छन्, तर कति मतान्तरले भन्ने कुरा हो । ”

चितवन-२ मा पर्ने भरतपुर महानगरपालिका, कालिका नगरपालिका, इच्छाकामना गाउँपालिकालगायतका केही वडामा मतदातासँग कुराकानी गर्दा रविप्रति थोरै मात्रै मतदाताको विश्वास र भरोसा बदलिएको देखियो । अधिकांशको विश्वास र भरोसा भने कायमै थियो ।

सांसद पद खारेजदेखि उनको पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घुस मागेको प्रकरणलाई रविको गल्ती नभएको मतदाताहरू बताउँथे । रविलाई सबैतिरबाट एक्लाउने प्रयास भइरहेको गुनासो कतिपयको थियो, उनीहरू भन्थे, “यसमा अरू ठूला दलले रविलाई फसाउन खोजेका छन् । एकजना व्यक्तिकाविरुद्ध सबै मिलेर लागेका छन् । यो देखिन्छ । ”

‘अहिले अलि कम मत ल्याउलान् । तर, जित्छन्,’ हामीले सोधेको प्रश्न ‘चितवनको चुनावी माहोल र तपाईंको मत कसलाई ?’ भन्ने प्रश्नका जवाफमा प्राय:को यस्तै जवाफ हुन्थ्यो । ‘चुनावी माहोल र तपाईंको मत’ भन्ने प्रश्नको जवाफ खोज्न हामीले भरतपुर महानगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका केही वडाका झन्डै पाँच सय मतदातालाई भेट्यौँ । त्यतिबेला ३७ डिग्री सेल्सियसको चर्को घाम र हप्प गर्मीको धुप थियो । हामीसँग प्रत्यक्ष कुरा गर्दा मतदाताहरू भन्थे, “उत्साहित छौँ, भोट त हाल्न जानैपर्‍यो नि ।”

हामीले प्रत्यक्ष कुरा गरेका ५४ प्रतिशतले रविलाई नै भोट दिने बताए । १९ प्रतिशतले कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठलाई र २३ प्रतिशतले एमाले उम्मेदवार रामप्रसाद न्यौपानेलाई मत दिने बताए । २ प्रतिशतले अन्य दललाई मत दिने बताए । २ प्रतिशतले भोट नहाल्ने बताए ।

“रविप्रति आकर्षण घटेको वा बढेको के छ ? के मतदानका दिनसम्म त्यो आकर्षण कायम रह्यो वा रहेन ? मतदाताले उनलाई मत दिए वा दिएनन् ?” यिनै प्रश्नको उत्तर खोज्न विभिन्न सर्वेक्षणकर्ताहरूले आइतबारको मतदानमासमेत भोट हालेकाहरूलाई सोधेका थिए ।

चितवनका विभिन्न बुथमा पुगेर मतदाताहरूसँग कुरा गरेको भन्दै सर्वेक्षण सार्वजनिक भएका छन् । जसमा पनि रविले धेरै मतान्तरसहित जित्ने नतिजा सार्वजनिक गरेका छन् ।

पद गएको ३ महिनामै पुन: संसद्

राजनीतिको कठिन अनि अनिवार्य परीक्षा हो चुनाव । नयाँ पार्टी खोलेको ५ महिनामै चुनावमा जानु रविको राजनीतिक जीवनको अझ कठोर परीक्षा थियो । सम्भावनाको एउटा त्यान्द्रो बोकेर अघिल्लो चुनाव (४ मंसिर) चुनौतीको सामना गर्न उत्रिए उनी । सफल भए, फहराए फराकिलो विजयको झण्डा ।

फेरि दुई सारथिहरू लिएर उनी संसदीय यात्राको एउटा पुन: परीक्षामा उत्रिए । त्यो पनि निकै राम्रो अंक पाउने विभिन्न प्रक्षेपणले देखाएको छ । रवि भदौ २०७६ मा सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चितवन प्रहरीको हिरासत पुगेका थिए ।

उनी आत्महत्या दुरुत्साहन मुद्दामा हिरासतमा रहँदा उनको पक्षमा प्रदर्शन गर्नेको चितवनमा भीड लाग्यो । त्यसपछि आफूलाई चितवनकै ‘ब्रान्ड’ ठानेका रविले आत्मविश्वास टिकाइराखे । ४ मंसिरको चुनावमा उठे त्यहीँबाट। कांग्रेस एमालेले जित्दै आएको सो क्षेत्रमा रविले उनीको विरासतलाई ढालिदिए । भारी मतान्तरले चुनाव जितेर जबर्जस्त राजनीतिमा उदाए ।

१३ माघमा संसद् पद खारेज भएका रवि ३ महिनामै संसद् छिर्न पाउने देखिएका छन् । सत्ता गठबन्धनको चुनावी ‘तालमेल’, अर्काेतर्फ एमालेका बलिया उम्मेदवारलाई पछि पार्दै उनले ५० प्रतिशत बढी मत ल्याएर चुनाव जित्ने आकलन छ।

दोहोरिँदै चुनावी अंकगणित, जितको मतान्तर घट्नसक्ने

४ मंसिरमा भएको आम निर्वचनमा चितवन २ को चुनाव निकै रोचक रह्यो । चितवन २ मा अघिल्लोपटक (२०७४मा) एमालेका कृष्णभक्त पोखरेलले जितेका थिए । लगातार उनको दोस्रो जित थियो । पछिल्लोपटक उनले २०७४ मा ४४ हजार ६७० मत ल्याएका थिए । सोभन्दा करिब ५ हजार मत बढी ल्याएर ४ मंसिरको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भए ।

रविले ४९ हजार २६१ मत ल्याएर जित्दा उनका निकटतम् प्रतिस्पर्धी पोखरेलले एक तिहाइभन्दा पनि कम मतमा चित्त बुझाउनुपर्‍यो । पोखरेलले अघिल्लो वर्षको तुलनामा करिब ३० हजार मत गुमाएका थिए । अर्थात् एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६६७ मत पाए ।

अघिल्लोपटक (२०७४ मा) पोखरेलसँग चुनाव हारेका कांग्रेस उम्मेदवार शेषनाथ अधिकारीले २७ हजार मत पाएका थिए । ४ मंसिरको चुनावमा कांग्रेसका उमेश श्रेष्ठले करिब १२ हजार कम मत पाए । उनले १४ हजार ९८३ मत प्राप्त गरेका थिए ।

एमाले र कांग्रेसले अघिल्लोपटक पाएको ४२ हजार मत ती दलको विश्वासबाट बाहिरिएको थियो । त्यो मत रविले पाएको अनुमान गर्ने हो भने उनले थप ७ हजार मत अरू मतदाताहरूबाट आकर्षित गर्न सफल भएका थिए । दुई निकटतम् प्रतिस्पर्धीको मत जोड्दा समेत लामिछानेले ल्याएको मतभन्दा कम थियो ।

अहिले आइतबारको चुनावमा भने ४ मंसिरको चुनावमा रविले पाएको मत ४९ हजार २६१ मतबाट केही घट्ने प्रक्षेपण छ । सो प्रक्षेपण पहिल्यै गरेका रविले आफैँ जनमत यथावत् राख्न अनेक उपाय लगाए ।

सहानुभूति बटुल्ने शैलीको प्रचार, चुनाव जित्ने हतियार

चुनावी प्रचारमा ‘घण्टी’ को पक्षमा लहर विस्तारै कम भएपछि रविले चुनाव प्रचार अवधिभर राष्ट्रिय स्वतन्त्र पार्टी र आफूलाई घेराबन्दी गरिएको भन्दै रविले मतदाताको सहानुभूति बटुल्ने प्रयास गरिरहे।

यही बीचमा समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भयो । उनले नागरिकता पुन:प्राप्ति गर्दा प्रक्रिया नअपनाएपछि उनको सांसद पद खारेज भएको थियो ।

उनलाई कानुन मान्न छुट नभएको भन्दै कतिपय मतदाता रुष्ट थिए । नेपालभ्युजले स्थलगत रिपोर्टिङमा चितवनमा मतदाताले व्यक्त गरेको भावनाले यसको प्रस्ट संकेत गरेको थियो । भ्रष्टाचारमुक्त समाज बनाउने र सुशासन कायम गर्ने नारा लिएर रवि आफैँ मन्त्री भएपछि बिनाप्रतिस्पर्धा एक सातामै विदेशै कम्पनीलाई संवेदनशील विषयको ठेक्का दिएको खबर बारिहरिएपछि समेत मतदाता बिच्किएका थिए ।

स्थापित दलहरूप्रति वितृष्णा भएर ४ मंसिरमा रविलाई भोट हालेकाहरूले फेरि रवि र रास्वपाले पुरानै दलको चरित्र देखाएको भन्दै असन्तुष्ट थिए । उपप्रधान एवम् गृहमन्त्री नपाइ सरकार नजाने अडान लिने र आफूले पद गुमाएपछि सरकार छाड्ने उनको शैलीले समेत यसपालि उनको जितको मतान्तर घट्ने अनुमान छ । रविसँग यसपटक कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपानेबीच तीव्र प्रतिस्पर्धा छ ।

राजनीतिक जीवनको अर्को कठिन परीक्षा

परम्परागत राजनीतिमा विद्रोहको बिगुल फुकिरहेका रविले सम्भवतः तनहुँ १ बाट पनि अर्का सदस्यलाई संसद लैजानेछन् । तनहुँ १ मा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेको पनि सम्भावना बलियो रहेको बताइन्छ । यद्यपि, उनको बारेमा सर्वेक्षण भएको छैन ।

रविका लागि यो अवसर उनको राजनीतिक जीवनको एउटा कठिन परीक्षा पनि हो । राजनीतिक विश्लेषकहरू भन्छन्, “मतदाताको आशा पूरा गर्न क्षमता र योग्यताले भ्याएसम्म लागिपर्नुपर्ने छ। यदि, मतदाताको अपेक्षा पूरा गर्न सकेनन् भने उनी फेरि अर्काेपटक फेल हुने खतरा छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved