काठमाडौं। झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टी सभापति रवि लामिछानेले छुट्टै भेट गरेका छन्।
सभापति लामिछानेले ७२ घण्टाभित्र ढाकारामलाई कारबाही गर्न नसके गढीमाईमा ‘वली’ दिए हुन्छ भनेर दिएको वचन आफैंले पूरा गर्न सकेका छैनन्। साथै, कारबाहीको निर्णय लिन बैठक बस्नुअघि आरोपीसँगै भेट गरेर उनले थप शंका पैदा गरिदिएका छन्।
वैशाख १० को उपनिर्वाचनमा उम्मेदवारसमेत रहेका सभापति लामिछाने चुनावी अभियान छाडेर आजै वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालय आइपुगेका हुन्। पार्टी अनुशासन समितिको प्रतिवेदन र पार्टीको निर्णय सुन्न सांसद श्रेष्ठ पनि धुम्बाराही पुगेका बेला लामिछानेले ‘गोप्य’ भेट गरेको स्रोतको भनाइ छ।
सांसद श्रेष्ठले आफूमाथिको आरोपबारे लिखित स्पष्टीकरण र मौखिक बयान दिइसकेका छन्। तर,सांसद श्रेष्ठलाई के कारबाही गर्ने वा नगर्ने निर्णय लिन रास्वपा बैठक पनि आजै बस्दै छ।
बैठक बस्नुअघि नै रास्वपा सभापति लामिछाने र सांसद श्रेष्ठबीचको भेटलाई भने अर्थपूर्ण रूपमा हेरिएको छ। सभापति लामिछाने चितवनबाट आउनु अगाडि नै सांसद श्रेष्ठ पार्टी केन्द्रीय कार्यालय पुगेका हुन्।
सांसद श्रेष्ठसँग निकट रहेका एक सदस्यले पार्टी केन्द्रीय कमिटी बैठकअगाडि श्रेष्ठले कसैसँग कुरा नगर्ने र पत्रकारका जवाफसमेत दिने गरेका छैनन्। दुर्गा प्रसाईसँगको संवादको अडियो आफ्नो नभएको जिकिर गर्दै आएका श्रेष्ठको आरोप पुष्टि भएमा उनी सांसद रहने छैनन्।
स्रोतका अनुसार रास्वपा बैठकले आजै सांसद श्रेष्ठलाई कारबाही गर्ने सम्भावना छ। रविले पनि यो प्रकरणमा मुछिएका सांसदलाई ७२ घण्टाभित्र कारबाही गरिसक्ने घोषणा बाराको चुनावी सभाबाटै गरेका थिए। कारबाही गर्न नसके ‘गढीमाईमा बली दिनुस्’ समेत भनेका रविले छुट्टै भेट गर्नुलाई भने धेरैले आलोचना गरेका छन्।
प्रसाईंसँगको आर्थिक प्रकरणमा जोडिएका श्रेष्ठले भन्ने गरेको ‘कोर टिम’का सदस्यहरूको बारेमा कुरा बाहिर आउने डरले रविले उनलाई छुट्टै भेटेको हुनसक्ने अड्कलबाजी गरिएको छ।
यद्यपि, रास्वपा बैठकअघि यसको चुरो कुरा बाहिर आउने छैन। तर, श्रेष्ठले भने आफूमाथि कारबाही गरिएमा धेरै कुरा पोल खोलिदिने चेतावनी दिएको स्रोतको दाबी छ।
Facebook Comment
Comment