मन्त्री बनाउन पार्टी नेतृत्वले पैसा लिएको भए प्रमाणित गरेर देखाउनुस् : मनिष झा

नेपालभ्युज

मन्त्री बनाउन पार्टी नेतृत्वले पैसा लिएको भए प्रमाणित गरेर देखाउनुस् : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मन्त्री बनाउनका लागि पार्टी नेतृत्वले रकम लिने गरेको भन्ने भनाईप्रति विश्वास गर्न नसकिने बताएका छन् ।

पार्टीका सभापति रवि लामिछानेले करोडौं रुपैयाँ लिएर मन्त्री बनाउने गरेको चर्चा भईरहेका बेला सांसद झाले सो भनाईलाई आफूले विश्वास गर्न नसक्ने बताएका हुन् ।

सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पार्टी सभापति लामिछानेले मन्त्री बनाउनका लागि रकम असुली गरेको पुष्टि गरेर देखाउन पनि चेतावनी दिए । नेपाली का‌ंग्रेसमा आवद्धहरुले ट्वीटरमा पार्टी नेतृत्वले शिक्षामन्त्री बनाउनका लागि ८ करोड लिएको भनेर लेखेको आफूले  देखेको उल्लेख गर्दै सांसद झाले पुष्टि गरेर देखाउनुपर्ने बताए ।

उनले पार्टी नेतृत्वले पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठसँग मन्त्री बनाउनका लागि साँढे २ करोड मागेको भन्ने कुरा पनि सत्य नभएको जिकीर गरे । मन्त्री बनाउनका लागि पार्टी नेतृत्वलाई २ करोड दिनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईसँग पैसा मागेको अडियो आईतबार  सार्वजनिक भएपछि पार्टीका सांसद श्रेष्ठ निलम्बित भएका छन ।

सांसद झाले भने पार्टी नेतृत्वबाट त्यस्तो काम नभएको, बरु आरोप लगाउने काँग्रेस पार्टी भित्र भने त्यस्तो हुने गरेको प्रमाण आफूहरुसँग रहेको दावी गर्दै दोषीलाई कारबाही गरेर देखाउन पनि काँग्रेस नेतृत्वलाई चुनौति दिए ।

‘मैले त्यो साँढे २ करोड रुपैयाँ नेतृत्वले मागेको थियो भन्ने कुरामा विश्वास गर्दिन । मैले  ट्वीटरमा केही कांग्रेसीजनले लेखेको देखें ८ करोड रुपैयाँ शिक्षामन्त्री बन्नलाई माग्यो भन्ने त्यसमा म विश्वास गर्दिन । त्यो स्टयाटस लेखेर चुनावका बेलामा स्टन्ट गर्ने हो भने कति दाई भाउजुले के–के लिए भन्ने कुरा त हामीलाई पनि थाहा छ नि ‘, उनले भने, ‘ हामीले प्रमाण पेश गरेपछि कारबाही गर्छ त्यो दलले ? म चुनौति गर्न चाहन्छु । कति पटक हामीले सुनेका छौ नि । कहिल्यै यस्तो अभिव्यक्ति र निलम्बन गरेको छ त्यो दलले । त्यो पार्टीहरुले । सुनेर पनि ढाकछोप गर्न खोजेको होइन र ।’

सांसद झाले विवादमा परेपछि निलम्वनमा परेका सांसद श्रेष्ठसँग पार्टीले सम्बन्ध विच्छेद गरेको पनि स्पष्ट पारे । छानवीनका लागि पार्टीका सदस्यहरुलाई प्रभाव पार्न सक्ने भन्दै आफूहरुले निलम्बित सांसद श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेर छानवीनको प्रक्रियालाई अघि बढाउनु परेको पनि उनले स्पष्ट पारे । उनले आरोप पुष्टि भए निलम्बित सांसद श्रेष्ठमाथि कारबाही हुने पनि स्पष्ट पारे ।

‘हिजो देखि नै हाम्रो पार्टीको सञ्चार माध्यामहरुमा, सामाजिक सञ्जालहरुमा रहेको हरेक समूहबाट उहाँलाई आउट गरिसक्यौं । कि उहाँले हामीहरु कसैसँग पनि संवाद नगरोस् । र, त्यहाँ आफ्नो स्पष्टिकरण दिने प्रयास गरेर उहाँले हामीलाई प्रभावमा पार्न नसकोस् भनेर’, सांसद झाले भने, ‘सञ्चार माध्यममा त्यो बारेमा समाचार आउनु भन्दा अगाडि नै हामीले निलम्बन गरिसकेका थियौं । कि यो आशंका छ । निलम्बन गरिएको मतलव नै हामीले तपाईहरुको वा हाम्रा मतदाताहरुको विश्वासको सम्मान गरेको हो नि । हामीले ढाकछोप गर्न कसैले पनि खोजेका छैनौं । अहिले पनि मेरो अभिमत ढाका श्रेष्ठप्रतिको समर्थन होइन । यो एउटा प्रक्रियाप्रतिको विश्वास हो ।’

सांसद झाले निलम्बित सांसद श्रेष्ठलाई जोगाएर आफूहरुले मतदाताको मतमाथि विश्वासघात नगर्ने पनि पटकपटक दोहोर्‍याए । व्यवसायी प्रसाईसँगको अडियो प्रकरण सार्वजनिक भएलगत्तै आईतबार (हिजो) सांसद श्रेष्ठलाई निलम्बन गरी ७२ घण्टा भित्र छानवीन गरी आरोप पुष्टि भए कारबाही गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved